बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

पर्वतको पर्यटनमा अर्को आयाम : हार्नेस जिपलाईनमा सहासिक खेलहरु

साउन २४, २०७७
पर्वत : सुपर म्यान शैलीको विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाईन आउँदो दसैँभित्रमा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।
सात जना युवाहरूको करिब १३ करोडको लगानीमा निर्माणाधीन हार्नेश जिपलाईन प्रा.लि.को ९० प्रतिशत निर्माण कार्य पूरा भइसकेको र बाँकी रहेको काम पनि धमाधम भइरहेकोले दसैँभित्रमा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले बताए । ‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ । तर त्यो भन्दा पहिले नै जिपलाईन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ’ उनले भने, ‘पर्वतमा एडभेन्चर टुरिजमको विकासको लागि यो जिपलाईन पनि महत्त्वपूर्ण हुने छ। जिपलाई सहित एडभेन्चर खालका अरू कामहरू पनि हामीले गर्ने तयारी गरिरहेका छौँ ।’
जिपलाईन र हाइड्रोलिक पिङको काम सकिने अवस्थामा रहेको र जिपलाईनको परीक्षण अबको १५ दिन जतिमा गर्ने तयारी भइरहेको पनि बस्नेतले बताए । यस्तै छ महिनाभित्रमा रिसोर्ट, ह्युमन सिलिङसट र स्विमिङ पुल निर्माणको काम सकेर जिपलाईनमा आउने पर्यटकहरूलाई मनोरञ्जनात्मक साहसिक खेलसँगै आरामदायी बसाइँको व्यवस्था पनि गर्न लागिएको उनको भनाई छ ।
जिपलाईनका एक जना लगानीकर्ता एवं संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै पर्यटन प्रबद्र्धनका माध्यमबाट पर्वतको समृद्धि सम्भव रहेको बताउँछन् । कास्कीको पोखरामा पर्यटकहरूको रमझम भइरहेको भए पनि छिमेकी जिल्ला पर्वत भने पर्यटकहरूको अभावमा सुनसान हुनुले यहाँ पर्यटकीय संरचनाहरूको निर्माण आवश्यक देखिएको उनको भनाई छ ।
‘छिमेकी जिल्ला कास्कीको पोखरामा जता हिँडे पनि पर्यटकहरु नै ठोकिन्छन् । पर्यटनका माध्यमबाटै पोखरा कति समृद्ध बनेको छ । यही कुश्माको बाटो हुँदै दैनिक सयौँ पर्यटकहरु मुस्ताङ पुग्छन्, तर यहाँ ओर्लिँदैनन’ नगरप्रमुख जोशी भन्छन्, ‘कालीगण्डकी र मोदी नदीमा अग्ला र लामा झोलुङ्गे पुलहरू बनेपछि बिस्तारै बढेको चहलपहललाई बन्जी जम्पले कायम गरेको छ । अहिले बन्जीले पर्यटकहरु तानिरहेको बेलामा अब जिपलाईनले नयाँ आकर्षण दिने छ ।’
हार्नेश जिपलाईनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थल मार्ग हुँदै धेरै पयर्टकहरु मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्त्ब्य स्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको बताए । पछिल्लो समय भने पर्वतका विभिन्न ठाउँमा साहसिक खेलहरूको निर्माण तथा विकास भएसँगै पर्यटकीय गतिविधिहरू बढिरहेको र त्यसमा विश्वकै दोस्रो लामो दाबी गरिएको सुपर म्यान शैलीको पर्वतको जिपलाईन पनि महत्त्वपूर्ण हुने उनको भनाई छ ।
समुन्द्रको पानीमा साहसिक खेल खेल्न रुचाउने पर्यटकहरूलाई बाह्य तथा आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर नै कालीगण्डकी नदीमा जेटस्की सञ्चालनमा ल्याउने तयारी गरिएको तर त्यो भन्दा पहिले केही दिनकै त्यसको परीक्षण गर्न लागिएको पौड्याल बताउँछन् । जेटस्कीको परीक्षण सफल भएमा कालीगण्डकी नदीको सतहमा मोटरसाइकल जस्तै गुडेजस्तै गरी गुड्ने साधनमा खेल्न पाइने उनको भनाई छ । अहिले वर्षा याम भएकाले नदीमा पानीको बहाव ठुलो भएका कारण पानीको मात्रा घट्दासाथ परीक्षण गर्ने तयारीमा लगानीकर्ता छन् ।
सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिप लाइन बनाउन थालिएको हो ।
निर्माणको जिम्मा लिएको भारतीय कम्पनी श्याम जिपलाईनका इन्जिनियर नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। क्लासिक जिपलाइनमा पोखराको जिलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीले जनाएको छ। पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ ।
जिप लाइन निर्माणमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका छन् ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive