बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

प्रहरीको सक्रियता र निषेधाज्ञाका कारण पर्वतमा दुर्घट्ना बढ्न पाएनन

संजय रेग्मी
पर्वत : कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रणमा गर्नका लागि गरिएको निषेधाज्ञाका कारण विगतका वर्षहरूमा हुने सवारी दुर्घटनाको सङ्ख्यामा समेत कमी आएको छ।
हरेक वर्ष सवारी साधनहरू थपिँदै गएको परिवेशमा दुर्घटना हुने क्रम बढ्दै गएको अवस्थामा कोरोना कहरका कारण सीमित सवारीहरूलाई सञ्चालनको अनुमति रहँदा दुर्घटना हुने दर नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको तथ्याङ्कमा छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर खड्काका अनुसार पर्वतमा आर्थिक वर्ष ०७५÷०७६ मा १८ वटा, ०७६÷०७७ मा २१ वटा र गत आर्थिक वर्ष ०७७÷०७८ मा १८ वटा दुर्घटना भएका छन्। ०७५÷०७६ मा ५ वटा बस, ४ वटा जिप, कार तथा भ्यान, ३ वटा ट्र्याक्टर र ६ वटा मोटरसाइकल, ०७६÷०७७ मा ६ वटा जिप, कार तथा भ्यान, ४ वटा ट्र्याक्टर र ८ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। गत आर्थिक वर्षमा एउटा बस, एउटा डोजर, ६ वटा जिप, कार तथा भ्यान, ३ वटा ट्र्याक्टर र ७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्।
गत आर्थिक वर्षमा पर्वतमा भएका सडक दुर्घटनामा परी ८ जनाको मृत्यु, ११ जना गम्भीर घाइते र ८ जना सामान्य घाइते भएका छन्। मृत्युमा ६ जना पुरुष, एक जना महिला र एक जना बालिका रहेका छन्। गम्भीर घाइते हुनेमा ५ जना पुरुष, ३ जना महिला र ३ जना बालक तथा सामान्य घाइते हुनेमा ६ जना पुरुष र २ जना बालक रहेका छन्। आर्थिक वर्ष ०७६÷०७७ मा ७ जनाको मृत्यु, १५ जना गम्भीर घाइते तथा एक बालक सामान्य घाइते भएका थिए। पछिल्ला दुई आर्थिक वर्षमा ०७५÷०७६ को मा निकै सुधार देखिएको छ। ०७५÷०७६ मा १० पुरुष र ५ महिला गरी १५ जनाको मृत्यु, १९ पुरुष, ११ महिला, एक बालक र ३ बालिका गरी ३४ जना गम्भीर घाइते तथा २५ जना पुरुष, १४ जना महिला र एक बालक गरी ४० जना सामान्य घाइते भएको कार्यालय प्रमुख खड्काले बताए।
‘कोभिडका कारण सवारी कम चल्नुले दुर्घटनाको सङ्ख्यामा कमी आउनु एउटा पक्ष त हो नै त्यस बाहेक ट्राफिक प्रहरी सदरमुकाममा मात्र सीमित नभएर विकेन्द्रित रूपमा हरेक ठाउँमा खट्नुले पनि यो अवस्था कायम भएको हो’ उनले भने, ‘हामी कम दरबन्दीमा रहेर पनि २४ सै घण्टा खटिरहेका छौँ। पछिल्ला दुई वर्षमा कोरोनाकै कारण सवारी कम चले पनि महामारीपछिको अवस्थालाई पनि नियन्त्रित राख्नु हाम्रो चुनौती हो।’ ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको तर्फबाट समुदाय र विद्यालयमा नै पुगेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक विभिन्न जानकारीहरू बाँडिरहेका कारण पनि पहिलेको तुलनामा ट्राफिक नियम मान्नेहरूको सङ्ख्या बढेको ट्राफिक प्रहरी बताउँछ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive