संजय रेग्मी
साउन २८, २०७८
पर्वत : आज परेको अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र जिल्ला यूवा समिति पर्वतको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ मनाइएको दिवसको आवसरमा आयोजीत अन्तरक्रिया कार्यक्रमको विषयवस्तु ‘यूवाको सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार’ राखिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी. पौडेलले पाको पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्न नै शंका गर्ने बताए । रोजगारी नपाउँदा विचलित अवस्थामा रहेका युवाहरू गलत बाटोमा लाग्ने क्रम बढ्दै जानुले राज्यको बलियो शक्ति नै कुरुप अवस्थामा रहने देखिएको उनको भनाई छ । ‘शिक्षा पाएर मात्रै हुँदैन, परिवर्तन चेतनामा चाहिन्छ । हातमा प्रमाणपत्र मात्रै थाप्नको लागि जस्तो भयो यहाँको शिक्षा ।’ उनले भने, ‘यहाँको युवा यहीँ कवाडी उठाएर टन्न पैसा कमाउन लाज मान्छ, विदेशमा कसैले नदेख्ने भनेर शौचालय सफा गर्दा गौरव गर्छ ।’
मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले हरेक वर्ष नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाए पनि युवाको अवस्थामा खासै फरक नआएको बताउँदै उनले यसको कारण परम्परावादी शिक्षा भएको उल्लेख गरे । मागमा आधारित जनशक्ति उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता भए पनि वर्षौँ पहिलेको पुरातनवादी पाठ्यक्रमका कारण युवाहरू हातमा प्रमाणपत्र बोकेर भिख माग्नुपर्ने अवस्था आएको लामिछानेको तर्क छ ।
‘जब नेपाली एउटा ठिटा १८ वर्षको हुन्छ, उसले नेपाललाई अँध्यारो देख्छ । राहदानी बनाउन हानिन्छ । नेपालको शिक्षाको भविष्य उसले देख्दैन’ जिल्लाको मादी गाउँपालिका प्रवक्ता विमल लामिछाने भन्छन्, ‘युवाले श्रीमतीको गुन्यू किन्ने पैसा कमाउनकै लागि बिदेसिनुपर्ने यो कस्तो बाध्यता ? गुन्यू किन्ने पैसा त पठाउला तर त्यही मान्छे पछि काठको बाकसमा आएको पललाई कल्पना गर्नुहोस् त । छातीमा चसक्क दुख्दैन ?’
‘वर्षौँ अगाडिदेखिको पाठ्यक्रम पढेर अहिलेको प्रविधिको युगमा हाम्रा युवाले के गर्ने हो ? मागमा आधारित जनशक्ति तयार भए मात्रै युवाहरूले अवसर पाउँछन्, देश समृद्ध हुन्छ भनेर बुझेको खै ?’ उनी भन्छन्, ‘युवा दिवस मनाएर मात्रै हुँदैन, बेरोजागारहरु उत्पादन गर्ने शिक्षामा पहिलो परिवर्तन आवश्यक छ ।’ २०÷३० वर्ष अगाडि युवाहरूले जे मागहरू उठाउँथे अहिलेसम्म पनि तिनै माग उठाउनुपर्ने अवस्था रहनु दुःखद भएको उनको भनाई छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक राजेन्द्र पहाडीले तथ्याङ्क अनुसार बिदेसिएका युवामध्ये ७४ प्रतिशतमा कुनै सीप र दक्षता नभएको, २४ प्रतिशत अर्धदक्ष र दुई प्रतिशत मात्र दक्ष हुनु देखाउनुले नेपाली युवाहरूमा रहेको सीप र दक्षता प्रस्ट भएको बताए । अमेरिकाको डलरलाई ७० लाखमा किनेर रमाउने युवाहरूले देशमा कुनै पनि सपना नदेख्नु गलत भएको अर्का युवा अर्जुन पौडेल ‘निर्जन’ बताउँछन् । आफ्नै देशमा केही गर्न सक्छु भनेर आफ्नै पाखुरीमा विश्वास गर्न नसक्ने अवस्थाका कारण देश निर्माणमा आवश्यक पर्ने बलियो जनशक्तिको रगत र पसिना विदेशी भूमिले चुसेको उनको भनाई छ ।
जिल्ला यूवा समितिका संयोजक थम नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एनसीईका सदस्य भीम नेपाली, गैर सरकारी संस्था महासंघ नेपाल, पर्वतका अध्यक्ष रमेश प्रसाद रिजाल, गैर सरकारी संस्था टिम नेपो पर्वतका प्रमुख अन्जली पि.सी., लगायतले पनि विचार राखेका थिए । समन्वय समितिका प्रमुख मनोहर बी. पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन शिक्षा लागि राष्ट्रिय अभियान नेपाल, पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए ।
गैर सरकारी संस्था महासंघ नेपाल समेत अभियानको सदस्य भएका कारण पर्वतमा बनेको नयाँ समितिका पदाधिकारी र सदस्यहरुलाई सोही अवसरमा एनसीईको तर्फबाट बधाई सहित सफल कार्यकाालको शुभकामना दिएइको थिए । अध्यक्ष रमेश प्रसाद रिजाल, उपाध्यक्ष जगन्नाथ शर्मा, सचिव कृष्ण प्रसाद शर्मा, कोषाध्यक्ष फूलमाया सापकोटा तथा सदस्यहरु मनिषा ठकुरी र दुर्गा नेपालीलाई खादा ओढाएर सम्मान गरिएको हो ।
बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024