संजय रेग्मी
भदौ २, २०७८
पर्वत : शिक्षाको बारेमा बहस, छलफल, अन्तरक्रिया, दबाव र सुझावको काम गर्दै आएको शिक्षा लागि राष्ट्रिय अभियान–नेपाल, पर्वतको आयोजनामा फलेवास नगरपालिका–४ मुडिकुवामा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
गुणस्तरीय र निशुल्क शिक्षा सम्भव छ!’ भन्ने नारा सहित शैक्षिक बहस तथा अभियानहरु सञ्चालन गरिरहेको एनसीईले ‘शिक्षामा लगानि बृद्धिका लागि स्थानीय स्रोतको पहिचान’ शीर्षकमा कार्यक्रम गरेको हो। कार्यक्रममा नेपाल सरकारले शिक्षाका लागि दिने बजेटको आकार हरेक वर्ष घट्दै गइरहेको सन्दर्भ तथा विद्यालयलाई स्थानीय रुपमा पनि बलियो बनाउन लागि पनि लगानी बृद्धिको उपाय स्थानीय स्तरमै खोज्नको लागि कार्यक्रमको आयोजना गरिएको हो।
स्थानीय मुडिकुवा युवा समाज र वडाको समेत संयुक्त आयोजना रहेको कार्यक्रममा जनप्रतिनिधिहरु सहित वडाभित्र रहेको बिभिन्न विद्यालयका प्राधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता थियो। अन्तर सम्वादमा भाग लिएका अधिकांश सरोकारवालाहरुले शिक्षामा गुणस्तर कायम गर्न तथा लगानी बृद्धि गर्न स्थानीय स्रोतका खोजी गर्न यससँग जोडिएका सबैमा दृढ इच्छाशक्ति हुनुपर्ने बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा मुडिकुवाका वडाध्यक्ष टीकाराम गौडेलले फलेवास नगरपालिका शिक्षा क्षेत्रका लागि गम्भीर रहेको बताउँदै विद्यालयको भौतिक विकास सहित गुणस्तरका लागि निरन्तर खटीरहेको बताए। स्थानीय सरकारले गर्न सक्ने सहयोगमा आफूहरु सकेसम्म पछि नपरेको बताउँदै उनले प्रदेश वा संघले सहयोग गर्नुपर्ने अवस्था रहेकाहरुलाई सहयोग उपलब्ध गराउन प्रदेश र संघसंग आवश्यक समन्वयको काम गरिरहेको बताए। स्रोतको पहिचानको प्रसंगमा बोल्दै उनले अभिभावकहरु सबैभन्दा पहिलो मानवीय स्रोत भएकाले अभिभावकको जागरुकता शैक्षिक सुधारको लागि पहिलो खुड्कीलो हुने उनको भनाई छ। ‘बालबालिकाको पहिलो विद्यालय भनेको उसको घर र पहिलो गुरु भनेको बुबाआमा नै हुन, घरमा उसले जे संस्कार सिक्छ बाहिर त्यही गर्छ’ गौडेलले भने, ‘संस्कार ठूलो कुरा हो, संस्कार सिकाउने म्यानपावर घरमै भएको अवस्थामा नसिकाउने? अर्को कुरा जो अभिभावक विद्यालयमा जाँदैन उसले गुणस्तर कसरी पाउँछ?’
फलेवास नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको प्रयासको अनुभव लिनका लागि कार्यक्रममा पुगेका जिल्लाकै कुश्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले आफू निर्वाचित भएपछि कामको सुरुवात नै शिक्षा क्षेत्रबाट गरेको बताए। अहिले पनि डिग्री लेभलको सर्टीफिकेट हातमा लिएर बसेका युवाहरु बेरोजगार रहेको बताउँदै उनले शिक्षाको उत्पादन एकातर्फ र माग भने अर्कैतर्फ भइरहेको बताए। ‘मैले उदाहरणै देखेको छु डिग्री पास गरेको बिद्यार्थीले रिसोर्ट चलाएको छ। उसले रिसोर्ट नै चलाउनु थियो भने यता औपचारिक शिक्षाको सर्टीफिकेट किन चाहिएको थियो?’ पौडेलले भने, ‘त्यत्रो वर्ष पढ्दाको समय र लगानी दुवै खेर गयो। देश र विदेशले एक थरी माग गरेको छ, हाम्रो उत्पादन अर्कै छ।’ त्यस अवसरमा उनले शैक्षिक सुधारका लागि आफूले आफ्ना वडामा गरेको प्रयासहरुको ४६ बुँदे फेहरिस्त पनि सुनाएका थिए।
पर्वत बहुमुखी क्याम्पसका प्रमुख हेमराज रेग्मीले राज्यले निशुल्क शिक्षाका रुपमा १२ कक्षासम्म मात्रै हेर्दै आएको भए पनि त्यो भन्दा माथि खासै वास्ता नगरेको दावी गरे। स्थानीय तहमा क्याम्पसको रेकर्ड नै नहुन सक्ने अवस्था देशभर रहेको भन्दै उनले उच्च तहमा अध्ययनरत विद्यार्थी पनि समस्यामा रहेकोले सरकारले विस्तारै सबै शिक्षालाई निशुल्क गर्नुपर्ने माग गरे। मुडिकुवा युवा समाजका अध्यक्ष दिपेन्द्र लम्सालले विद्यार्थीको मनोविज्ञान अनुसार सिकाई हुन नसकेसम्म शिक्षामा गुणस्तर नआउने बताए। भौतिक रुपमा शिक्षक बिद्यार्थी नजिक हुँदैमा सिकाई नहुने भएकोले अहिलेको अवस्थामा जसरी भए पनि बालबालिकाको इच्छा र चहाना अनुसार अध्यापन गर्नुपर्ने उनको भनाई थियो।
कार्यक्रममा पूर्व शिक्षक धनेश्वर रेग्मी, शारदा आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकनाथ सापकोटा, गहते अम्बोट आधारभूत विद्यालयका अध्यक्ष चेतनाथ कुँवर, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम शर्मा र प्रधानाध्यापक ओमकार पौडेल, मुडिकुवा युवा समाजका उपाध्यक्ष गणेश शर्मा भुसाल, शिक्षक मोती प्रसाद च्वाईँ, माटेदेवल जनसहयोगी प्राबिधिक नमुना मा.वि.को विद्यालय व्यवस्थापन समितिका सदस्य दीपक भुसाल लगायतले पनि बोल्नुभएको थियो।
अन्तर सम्वादमा कार्यपत्र प्रस्तुत गर्दै अभियानका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले कोभिडले विकासशील देश नेपाललाई पनि जबरस्ती प्रबिधिमा जान लगाएकाले शिक्षकहरु पनि यही माग अनुसार परिवर्तन हुनुपर्ने बताए। तर प्रबिधिको प्रयोगका नाममा बालबालिकाहरु साईबर अपराध तथा मोबाईल एडीक्टमा पर्न सक्ने जोखिम समेत बढेकाले सम्बन्धित सबै पक्षले त्यसमा पनि देखिएर वा नदेखिएर अनुगमन गर्नुपर्ने उनको सुझाव छ। अहिले प्रबिधिको प्रयोग बढी भएको तर प्रबिधिका सामग्रीहरु महंगो पर्ने भएका कारण शिक्षामा लगानी बृद्धि गर्न स्थानीय स्रोतको पहिचान गर्नैपर्ने अवस्था आएको पहाडीले बताए। ‘देशभर रहेका २९ हजार ७ सय ७ बिद्यालयमध्ये १२ प्रतिशत अर्थात ८ हजार ३ सय ६६ विद्यालयमा मात्र आईसिटी टूल्सहरु उपलब्ध हुनेले कोरोना कहरमा शैक्षिक चुनौती झनै बढेको छ।’ उनले भने, ‘प्रबिधिको नाममा हाम्रा बच्चाहरु साइबर क्राइममा फस्नेवाला छन्। उनीहरु जानेर नजानेर गल्ती गरिरहेका छन्। डिजिटल गेमका कारण मोबाईल एडीक्ट भइसकेको अवस्था छ। यसमा सम्बन्धित सबैले आवश्यक नियमन गर्न आवश्यक छ।’
विचार राख्नेहरुले कतिपय विद्यालयमा सूचना प्रबिधिका सामग्रीहरु प्रयोगमा नआउनु दुःखद भएको, भोट नै शिक्षकको हातमा रहँदा राजनीतिक रुपमा बलियो भएको, सरकारले लगानी गरे पनि नतिजाको खोजी नगरेको, परिवर्तन गर्न सक्नेहरुमा दृढ इच्छाशक्ति नभएको, कोरोनाका कारण परीक्षामा मनपरी अंक प्रदान गर्दा देशले दक्ष जनशक्ति उत्पादन गर्न सक्ने अवस्था नरहेको, विद्यालयमा स्थानीय स्रोत प्राप्तीका लागि चन्दा र दान पेटीका राख्न सकिने, अरु देशमा बेरोजगारलाई राज्यले खोजेरै सीप र तालिम दिने गरेको भए पनि नेपालमा त्यसो हुन नसकेको, सत्तासिनहरुले शिक्षकलाई होच्याउनुका साथै कर्मचारीलाई मात्र माया गरेको, सरकारले नै दिएको दरबन्दीमा बसेका ई.सि.डी शिक्षक र कर्मचारीहरुको श्रम शोषण गरिरहेको लगायत कुराहरु उल्लेख गरेका थिए।
मुडिकुवा युवा समाजका अध्यक्ष दिपेन्द्र लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल, पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए।