आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025

भौतिक रुपमै विद्यालय सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत : कोभिड–१९ को दोस्रो लहरका कारण शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको भन्दै पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

गाउँपालिकाको कार्यालयले विद्यालयहरूलाई निर्देशन दिँदै दोस्रो लहरसँगै विद्यालय बन्द हुँदा अवरुद्ध भएको पठनपाठनका कारण ठूलो शैक्षिक क्षति भएकोले कोभिड–१९ को संवेदनशीलतालाई ध्यानमा राख्दै गाउँपालिकाले तोकेका तीनवटा शर्तहरू पालना गरी विद्यालय सामुदायिक तथा निजी सबै विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्न भनिएको छ।

गाउँपालिकाले तोकेका शर्तहरूमा विद्यालय सञ्चालन गर्दा विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिसँग समेत पूर्ण रूपमा समन्वय गर्ने, विद्यालयहरूमा कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अवलम्बन गर्ने र कक्षा शिक्षकले विद्यार्थीको स्वास्थ्य परिस्थितिको बारेमा प्रत्येक दिन प्रधानाध्यापकलाई जानकारी गराउने र कुनै स्वास्थ्य समस्या आएमा प्रधानाध्यापक गाउँपालिकामा जानकारी गराउनुपर्ने भनिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले गाउँ कार्यपालिकाको बैठकमा मोदी गाउँपालिकामा संक्रमणको अवस्था त्यति जोखिमपूर्ण नदेखिएको र लामो समय विद्यालय बन्द रहँदा देशले नै शैक्षिक क्षति भोग्नुपरेकोले सावधानीसहित भौतिक रूपमा विद्यालय खुलाउने निर्णय भएबमोजिम विद्यालयहरूलाई खुलाउन निर्देशन दिइएको बताए।

‘मोदी गाउँपालिकामा सबैजसो ठाउँहरू ग्रामीण छन्। सबै ठाउँमा नेटको पहुँच छैन, सबै ठाउँमा वैकल्पिक सिकाई सहजीकरण विधिको पालना पनि भएन होला। सुरक्षा सतर्कतासहित विद्यालय खोल्ने र समस्या आएमा तत्कालै बन्द गर्न पनि सकिने गरी विद्यालय खुलाउन भनिएको छ’ उनले भने, ‘विद्यालयहरूले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेको हुनुपर्छ। अहिले सङ्क्रमितहरू खासै नभेटिएको अवस्थामा विद्यालय बन्द गरेर बस्दा पनि विद्यार्थीहरूको भविष्य बर्बाद भयो।’

गाउँपालिकाका शिक्षा अधिकृत झकप्रसाद गौतमका अनुसार मोदीमा रहेका कुल ५८ वटा विद्यालयमा झण्डा पाँच हजार विद्यार्थी अध्ययनरत छन्।

दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका अन्य स्थानीय तहहरूले भने विद्यालय खोल्ने बारेमा आधिकारिक निर्देशन दिएका छैनन्। तर सङ्क्रमणको अवस्था नियन्त्रित रहेको, विद्यार्थीको सङ्ख्या न्यून रहेको, जनसङ्ख्या पातलो रहेको, अनलाइन कक्षा सञ्चालन गर्न प्रविधिको पहुँच नरहेको लगायतका ठाउँका विद्यालयहरू भने बार र कक्षाको पालोअनुसार फाटफुट रूपमा चलिरहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive