मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

पुलबाट खोलो तर्ने आसमै सास जाने भो सिसाठाँटीवासीको

अशोज १, २०७८

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी र कुश्मा नगरपालिका–१० पिपलटारीको सिमानामा सिसाठाँटी बस्ती छ। त्यहाँ बर्खामा मल्याङ्दी खोला उर्लिएर आउँछ। सिसाठाँटीबाट दुई नगरपालिका होस् वा वारी र पारीको मेलापात, खेतीपाती र गोठालो गर्न होस् काठका मुढा तेर्स्याएर खोला तर्न वर्षौंदेखि बाध्य छन्।

साँघुरो कच्ची काठका फल्याक राखेको पुलेसोबाट दैनिक ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। पिपलटारी र सिसाठाँटीवासीको करेसाबारी नै खोला वारी र पारी छन् भने सिसाठाँटीका विद्यार्थी पठनपाठनका लागि उर्लिएको मल्याङ्दी तर्दै पिपलटारी जान्छन्।

पिपलटारी र शंकरपोखरीलाई जोड्ने खोलाको दुवै तर्फको किनारमा मोटर बाटो पुगेकाले पनि साँघुको साटो मोटरेबल पुलको आवश्यकता टड्कारो छ।

शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले सिसाठाँटीमा पुल निर्माणको लागि धेरै धाउँदा पनि अहिलेसम्म पनि कसैले नसुनेको बताए।

‘यो साँघु फालेर पुल नबनाई भएको छैन, अबको बेलामा झोलुंगे पुलले पनि हुँदैन। दुई नगरपालिका ओहोरदोहोर गर्ने गरी मोटरेबल पुल बनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘स्थानीय सरकारको बजेटबाट यो गर्न सम्भव हुन्न होला, जोडिएका दुवै नगरपालिकाले हामीले पहल गरेका छौँ भन्नुभएको छ। प्रदेश वा संघीय सरकारको बजेटले मात्रै सम्भव होला।’

त्यहाँ पुल माग गर्दै स्थानीय पटक–पटक मन्त्रालयसम्म पनि पुगेका छन्। पुल बन्ने आश्वासन लिएर फर्किएका उनीहरूले पुल बनेको भने हेर्न पाएका छैनन्। केही समय अगाडी पुल निर्माणको डिपिआर गरेपछि अब त बजेट आउला र पुल बन्ला भन्ने आसले ढुक्क भएका थिए उनीहरू।

‘हाम्रो देशमा कति तन्त्र आए तर यहाँका जनतालाई कुनै तन्त्रले छोएन। ५/६ महिना अगाडि डिपिआर पनि भएको हो, तर यो आर्थिक वर्षमा प्रदेश सरकारबाट विकास योजनाको रातो किताबमा बजेट विनियोजन नगरी अनुसूचीमा राखिनु दुःखदायी छ,’ स्थानीय शिव अधिकारी भन्छन्, ‘मेरो हजुरआमाको पालामा सुरु गरेको काठको मुढो तेर्स्याएर बनाएको जोखिमयुक्त पुल तीन पुस्तामा पनि बन्न सकेको छैन। खोलाले बारम्बार मान्छे बगाएको छ, हाम्रो यो दुर्दशा सरकारले देख्ने रहेनछ।’

खासगरी, बर्खामा सधैं जोखिमपूर्ण यात्रा। समस्या समाधान गर्न स्थानीय ३० वर्षदेखि पुल माग गर्दै धेरै ठाउँमा धाए। तर, उनीहरूको समस्या बुझिदिने कोही नहुँदा जीवन दाउमा राखेर खोला तर्नुको विकल्प छैन।

साँघुको दुवै छेउमा ढुंगाले चौका चिनेर काठ राख्ने ठाउँ बनाइएको भए पनि यस पटक भने एकातिरको चौका भत्किएर काठका मुढा नै खोलामा खस्ने लागेका छन्। चुनावमा भोट माग्न जाने नेताले पुल निर्माणका लागि आफूले पहल गर्ने बताउँछन् तर चुनावपछि जस्ताको तस्तै।

‘चुनावमा भोट माग्न जो आउँछन्, यस पटक त पुल जसरी पनि बनाउनपर्छ भनेर आफू त्यसमा लाग्ने बताउँछन्। चुनाव सकिएपछि न त नेता फर्केर आउँछन्, न त हाम्रा कुरा सुन्छन्। उनीहरूलाई भोट चाहिएको थियो, पाए,’ अर्का स्थानीय सालिकराम अधिकारीले भने, ‘ढुंगाले चिनेर बनाएको भाग नै भत्केको छ। हामीलाई त त्यही पुल नतरी सुख छैन।’

कहिले साँघु तर्ने क्रममा त कहिले काम गर्ने क्रममा पटक–पटक मल्याङ्दीले मान्छे बगाएको छ। ‘दुई वर्ष अगाडि असारमा हाम्री बुहारी लर्केर साँघुबाट खोलामा खसिन्, बगाउँदै तलसम्म लग्यो, यहीँका दाइले काट्न लाग्नुभएको रहेछ। उहाँले देखेर खोलाबाट निकाल्नुभएछ यस्तो त बेला बेलामा भइरहन्छ’ स्थानीय माया अधिकारी भन्छिन्, ‘अहिले त पुल बन्छ अरे भन्ने सुनेको फेरि बजेट नआउने भयो भन्छन्। हाम्रा दुःख कसले पो देख्छ र?’

खोलामा पुल चाहियो भन्दै स्थानीयले सार्वजनिक मञ्च, तत्कालीन जिविस, सम्बन्धित विभाग र मन्त्रालयसहित पुग्नुपर्ने ठाउँमा धेरै पटक पुगिसकेका छन्। तर, कसैले पनि सुनुवाई नगरेपछि उनीहरू अहिले धाउन छाडेका छन्। तैपनि भेटेका नेतासँग भने पुलको माग राख्न छाडेका भने छैनन्।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive