संजय रेग्मी
असोज २, २०७८
पर्वत : शैक्षिक क्षेत्रको सुधारका लागि बहस र छलफल चलाउँदै अभियान नै बनाएर शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एन.सि.ई) नेपाल, पर्वतको छैटौँ साधारण सभा छलफल कार्यक्रम सहित सम्पन्न भएको छ।
‘विपद्पछिको शिक्षाका अवसर र चुनौती’ विषयमा भएको छलफलमा सहभागी भएका वक्ताहरुले कोरोना महामारी र प्राकृतिक विप्दपछि आउने समस्यालाई अवसरको रुपमा लिएर आवश्यकता अनुसारको शैक्षिक कार्यनिति तयार पार्नुपर्ने बताएका छन्। देशका राजनीति शक्तिहरु शिक्षाप्रति चिन्तित नरहँदा शैक्षिक व्यवस्थापनमा चुनौती आएको बताउँदै उनीहरुले राजनीतिक दलहरुले साझा मुद्धाका रुपमा शिक्षा क्षेत्रलाई लिनुपर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाका प्रमुख प्रेम शर्मा पौडेलले राजनीतिक क्षमता र अभियानप्रति आफू असन्तुष्ट रहेको बताउँदै आलोचनात्मक चेतको विकास नहुँदा सही र गलत छुट्याउन नै समस्या भइरहेको बताए। राजनीतिक दलहरुले आफ्ना दलगत स्वार्थलाई मात्रै मुद्धाको रुपमा लिईनु गलत भएको बताउँदै उनले सबै दल एकै ठाउँमा बसेर तय गर्ने शिक्षा नितिको बारेमा साझा धारणा बनाउनुपर्ने उल्लेख गरे।
‘राजनीतिक क्षमता र अभियानप्रति म आफू पनि सन्तुष्ट छैन्। आलोचनात्मक चेतको विकास नहुँदा सही र गलत छुट्याउन नै समस्या भइरहेको छ। मान्छेहरुमा पढ्ने संस्कृति पनि छैन’ उनले भने, ‘शैक्षिक बहसहरुलाई राजनीतिमा पनि छिराउनुपर्छ। विकासको तरीका भनेको राजनीति मात्र भयो शैक्षिक विकासमा चिन्तन नै छैन्।’ बालबालिका भोलीका देश भएकाले आजका विद्यार्थी अनुशासित भएमा भोलीको देश अनुशासित हुने, आजका बिद्यार्थीले उद्यममा चासो राखे भोलीको देश नै उद्यमशील बन्ने पौडेलको भनाई छ।
कार्यक्रममा विषयको उठान गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले विपद्का कारण शिक्षामा विचलन आएको उल्लेख गर्दै परम्परागत शैक्षिक शैलीले नयाँ ढाँचामा प्रवेश गर्न नै समस्या भइरहेको बताए। विपद र विपद्पछिको शिक्षाको योजनाका लागि सरकारले नै नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको भन्दै पहाडीले नेपालको शिक्षाका उद्धेश्यहरु उत्कृष्ट रहेको भए पनि कार्यान्वयन, शिक्षण विधि र पाठ्यक्रमका कारण उपलिब्धमूलक नदेखिएको तर्क राखे।
कुश्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले जनप्रतिनिधिहरु शिक्षाका लागि जति सचेत बन्नुपर्ने थियो त्यती नबनेका कारण स्थानीय तहले पनि शिक्षामा खासै काम गर्न नसकेको देखिएको तर्क गरे। पहिलेको तुलनामा केही सुधार भएको भए पनि अहिलेको उपलब्धिमा सन्तुष्टी मानेर बस्न नहुने उनको भनाई छ। ‘जनप्रतिनिधिले जति गर्नुपर्ने हो त्यो भएको छैन, नभएको पनि होईन। अहिलेको प्रबिधिमा जान सबैभन्दा बढी समस्या प्राथमिक तहमा कार्यरत शिक्षकहरुलाई भएको छ’ उनले भने, ‘राजनीतिक अस्थिरता छ, नीजि विद्यालय मौलाएका छन्, जनप्रतिनिधिहरु ठेक्कामा नै ब्यस्त छन्। त्यसैले अबका निर्वाचनमा शिक्षामा केही गर्नेलाई मात्र नागरिकले निर्वाचित गर्नुपर्छ।’
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाको सामाजिक विकास शाखाका अधिकृत डिल कुमारी शर्माले विद्यालयमा इन्टरनेट र प्रबिधि नपुग्नु दुःखद भएको बताउँदै लगानी बढाउनु आवश्यक रहेको उल्लेख गरिन्। शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले स्वास्थ्य र प्राकृतिक विपद्ले धेरै चुनौती ल्याएको भए पनि हाम्रो बाध्यता तिनैलाई अवसर मानेर अगाडि बढ्नु रहेको बताए। अहिलेको अवस्थामा शिक्षामा मात्र नभई हरेक क्षेत्रमा प्रबिधिको प्रयोग बढेको भन्दै उनले बालबालिकाहरु प्रबिधिको दुरुपयोगको चंगुलमा फस्न सक्नेतर्फ सबै सचेत रहन अनुरोध गरे। फलेवास नगरपालिकाका शिक्षा अधिकृत टंकनाथ पौडेलले प्रबिधिमैत्री शैक्षिक व्यवस्थापनको लागि स्थानीय तह नै सक्रिय रहनुपर्ने उल्लेख गरे। ग्रामिण क्षेत्रमा सूचना प्रबिधिको विस्तार गर्नुपर्ने आवश्यतक रहेको भन्दै पौडेलले अहिलेको अवस्थामा अभिभावक शिक्षा पनि आनिवार्य रहेको तर्क राखे।
सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीले मानव विकास सूचकाङ्कमा पर्वत जिल्ला अगाडि रहनु खुसीको कुरा भएको बताउँदै प्रदेश सरकारले दिएका कार्यक्रमलाई उपलब्धिमूलक बनाएर कार्यान्वयन गर्नेमा आफू प्रतिबद्ध रहेको जानकारी गराए। विपद्संगै आएका चुनौतीले शिक्षाका लागि नयाँ सिकाई र अवसर दिएको तथा अब घर घरमै विद्यालय र शिक्षक भएको अवस्था आएको शिवालय माध्यमिक विद्यालय कुश्माका प्राधानाध्यापक भूपेन्द्र चापागाईँको भनाई थियो। तर एक्लोपन, कुलत, अपराध, हिनताबोध लगायतका समस्या अहिलेका विद्यार्थीमा रहन सक्ने चुनौती रहेको चापागाईँ बताउँछन्।
जिल्ला बाल संगठन पर्वतका सभापति अर्जुन पौडेल ‘निर्जन’ ले विकासका नाममा भौतिक निर्माणका लागि करोडौँ लगानी गर्न सक्ने स्थानीय तहले शिक्षकलाई ल्यापटप दिएर बालबालिकालाई राम्रोसँग पढाउ भन्न नसक्नु दुःखद भएको बताए। अब टोल शिक्षामा समेत लगानी गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले विपद् जोखिम न्यूनीकरण गर्न पहिले नै सोच्नुपर्ने उल्लेख गरे।
प्रबिधिमैत्री शिक्षक समाज पर्वतका अध्यक्ष आशिष पौडेलले विपद्को बेलामा सिकेको प्रबिधिलाई अबका भौतिक कक्षामा पनि प्रयोग नगर्ने हो भने विद्यार्थीको ध्यान विकेन्द्रित हुने जोखिम रहेको धारणा राखे। विद्यार्थीहरु शिक्षकसँग भन्दा गुगल जस्ता सर्च इन्जिनमा बढी ब्यस्त भएकाले हरेक शिक्षक पनि अब गुगल जस्तै बन्नुपर्ने अवस्था आएको उनको भनाई छ।
यस्तै नेपाल स्काउट, कुश्मा नगरपालिकाका संयोजक ईन्द्र प्रसाद पौडेलले परम्परागत शिक्षाको पाटोलाई त्यागेर आधुनिक प्रबिधिको प्रयोग गर्नु नै अहिलेको अवसर रहेको बताए। शिवालय माध्यामिक विद्यालयका शिक्षक हरिदत्त शर्माले अपाङ्गता भएका, गरिब, दलित, ग्रामिण क्षेत्रमा रहेका, पिछडिएको क्षेत्र लगायतका विद्यार्थीले प्रबिधिमैत्री शिक्षाको अवसर नपाएको बताउँदै अव्यहारिक र पुरानो शिक्षा ऐनका कारण पनि शिक्षा क्षेत्र पछाडि परेको उल्लेख गरे।
छलफल कार्यक्रममा गैह्र सरकारी संस्था महासंघ नेपाल, पर्वतका उपाध्यक्ष तथा अधिकारकर्मी जगन्नाथ शर्माले सबैका लागि शिक्षा सबै ठाउँमा हुनुपर्ने बताउँदै अपाङ्गता भएका बालबालिकाकाे शिक्षाको लागि सबै सराेकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने कुरामा जाेड दिए। अपाङ्गतामैत्री संरचना निर्माणमा पनि उनले सराेकारवालाहरुकाे ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै एासिई पर्वतका सदस्य भीम नेपालीले सबै बालबालिका अझै पनि शिक्षाको पहुँचमा नरहनु दुःखद रहेको बताए। गरिब, दलित, अपाङ्ता भएका लगायतका विबद्यार्थीहरुको लागि प्रबिधियुक्त शिक्षा पहुँचमा रहेको भन्दै उनले त्यसका लागि सरकारले नै तथ्याङ्क लिएर योजना कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा एन.सि.ई पर्वतका संयोजक यज्ञप्रसाद शर्माले संस्थाका तर्फबाट कोभिड महामारीको विषम अवस्थामा पनि आफूहरुले सञ्चालन गरेका अभियान तथा रेडियोबाट प्रसारित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए। सोही अवसरमा उनले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए। जुन बन्द सत्रबाट पारित समेत भएको छ। निवृत्त शिक्षक समाज पर्वतका कोषाध्यक्ष एकनारायण चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पनि संयोजक शर्माले नै गरेका थिए।
सोही अवसरमा एन.सि.ई पर्वतले शैक्षिक क्षेत्रको विकासको लागि जिल्लामा गर्न सकिने गरी विभिन्न १२ बुँदामा तयार पारेको अपिल पत्र मोदी गाउँपालिकाका प्रमुख पौडेललाई हस्तान्तरण पनि गरिएको थियो। पत्र बुझ्दै पौडेलले मोदी गाउँपालिकाले शिक्षा क्षेत्रलाई नै प्रमुख ठानेर बजेट बिनियोजनदेखि हरेक कार्यक्रमहरु लागू गरिरहेको बताएका थिए।