संजय रेग्मी
असोज ३, २०७८
पर्वत : सातौँ संबिधान दिवसको अवसर पारेर पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको एक मात्र मदरसा गुल्सने बरकातमा अध्ययनरत विद्यार्थीहरुको लागि स्टेशनरी सहयोग गरिएको छ। कोभिडको मारमा परेका तथा मुस्लिम समुदाय गरिबीको चपेटामा समेत रहेका कारण बालबालिकाहरुको अध्ययनमा सघाउनको लागि स्टेशनरी र विद्यालयमा आकर्षण गर्नका लागि केही खाजा हस्तान्तरण गरिएको हो।
शिक्षा क्षेत्रको बहस तथा अन्तरक्रियामा सािक्रय रहँदै आएको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल, पर्वत र कुश्मा नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा शैक्षिक छलफल सहित विद्यार्थीको लागि खाजा र स्टेशनरी सहयोग गरिएको हो।
संबिधान दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ‘मदरसा विद्यालय सञ्चालनका अवसर र चुनौती’ विषयमा सम्वाद गरिएको थियो। त्यस क्रममा मदरसामा उपस्थित भएका मुस्लिम समुदायका अभिभावकरुले विद्यालय र मस्जिद सञ्चालनका क्रममा भइरहेको समस्याका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै मुस्लिम सेवा समिति तथा मदरसाका सचिव अस्गर अलि मियाले आफूहरुलाई राज्यले फरक नजरले हेरेका कारण धेरै आवश्यकताका बस्तुहरु पनि नपाएको बताए। बिद्यालयमा बोर्ड समेत नभएको र मदरसाका लागि छुट्टै जग्गा नभएका कारण मस्जिदमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।
समितिका अध्यक्ष जलालुदिन मियाले कार्यक्रममा सहभागी सरोकारवालाहरुलाई आफूहरुको समस्याका बारेमा गम्भीर भईदिन अनुरोध गरे। विद्यालयमा अध्ययनरत बालबालिकाहरुले पोसाक समेत लगाउन सक्ने अवस्था नभएको र स्थायी दरबन्दीको शिक्षक नभएका कारण आफूहरुको वर्षौँदेखिको समस्या ज्यू्ँकात्यूँ रहेको बताए।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख प्रशासिक अधिकृत कुमासिङ गुरुङले सरोकारवाला सबै पक्ष लागेमा विद्यामान चुनौतीहरुको समाधान गर्न सकिने बताए। जिल्लाका अन्य विद्यालयले पाए बराबरकै सुबिधा पाउनको लागि बिभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने भएकाले अन्य विद्यालयको शैलीमा जाने वा धार्मिक विद्यालयकै रुपमा रहने भन्ने कुराको निर्णय मुस्लिम समुदायबाट नै हुनुपर्ने उनको भनाई थियो। बालबालिकाहरुले सिक्न र पढ्ने अवसर संबैधानिक रुपमा पाउने भएकाले संबिधानले प्रदत्त गरेको अधिकारबाट कोही पनि बाहिर नरहने पनि प्रशासकीय अधिकृत गुरुङले बताएका छन्।
‘२०६८ सालमा कक्षा एकबाट सञ्चालनको अनुमति पाएको विद्यालय अहिले पनि उही अवस्थामा किन रह्यो? स्थानीय पाठ्यक्रमको सन्दर्भ छ, त्यस बाहेक सरकारले मदरसाका लागि पनि तोकेको पाठ्यक्रम छ त्यो अनुसारको पठनपाठनको व्यवस्था गरौँ’ उनले भने, ‘सरोकारवाला सबै जना लागेमा चुनौतीको समाधान गर्न सकिन्छ। अहिलेकै अवस्थामा रहने की अगाडि बढ्ने भन्ने तपाईँहरुकै निर्णयमा भर पर्छ।’
नगरपालिकाको तर्फबट बोल्दै शिक्षा अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चहाना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरु पूरा नभएका कारण सबै काम गर्न नसकिएको बताए। विद्यालय सञ्चालनका लागि कुश्मा नगरपालिकाको तर्फबाट वािर्षक एक लाख रुपैयाँ नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्षमा थप दुई लाख ४१ हजार रुपैयाँ दिइएको उनको भनाई छ।
यस्तै एन.सि.ई का केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले विद्यार्थी अभावको कारण धेरै विद्यालय बन्द हुने अवस्थामा रहेको बेलामा पनि मदरसामा ५८ जना विद्यार्थीहरु हुनु खुसीको कुरा भएको बताउँदै त्यहाँ रहेका समस्या समाधानको लागि सबै पक्षको समानान्तर बल आवश्यक रहेको बताए। संस्कृत भाषाको पढाई हुने गुरुकुललाई राज्यले जुन दृष्टिबाट हेरेको छ, उर्दु भाषाको पढाई हुने मदरसालाई पनि उही नजरबाट हेर्नुपर्ने उनको भनाई छ।
कार्यक्रममा मदरसा रहेको कुश्मा नगरपालिका–५ का वडाध्यक्ष चित्रकला भारती शर्माले विद्यालयलाई प्राथमिकतामा राखेर नै वडा र नगरपालिकाबाट आर्थिक सहयोग हुँदै आएको बताईन्। मदरसाका लागि छुट्टै जग्गा व्यवस्थापनको लागि भने समुदाय र सरकारी निकायको बराबर पहल हुनुपर्ने उनको भनाई थियो। कुश्मा नगरपालिका अन्तरगत सामाजिक शाखाका अधिकृत डिल कुमारी शर्मा पनि कोभिडका कारण देशका सबै विद्यालय प्रभावित भएको त्यसबाट शिक्षा क्षेत्रमा ठूलो क्षति भएको बताईन्।
मदरसाले भोगीरहेको समस्या समाधानको लागि नगरपालिका सकारात्मक रहेको उनको भनाई छ। विद्यालयका मौलाना मोहम्मद अलि अकबर, समितिका उपाध्यक्ष साव अलि मिया लगायतले आफ्ना धारणा राखेका थिए। मदरसाका अध्यक्ष जलालुदिन मियाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मुस्लिम सेवा समितिका सचिव अस्गर अलि मियाले गरेका थिए भने कार्यक्रमको सञ्चालन एन.सि.ई पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए।