बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

शिक्षामा लगानी : जलजला गाउँपालिकाका सबै विद्यालयलाई ल्यापटप र प्रिन्टर

संजय रेग्मी
असोज १८, २०७८
पर्वत : पर्वतको जलजला गाउँपालिकाले विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनको लागि गाउँपालिकाभित्रका सबै विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर वितरण गरेको छ ।
कोभिड–१९, प्राकृतिक विपद् तथा आधुनिक समयका कारण हरेक कुरा प्रविधिमा आधारित बन्दै गएकाले विद्यालयहरूलाई पनि समायानुकुल सोही धारमा परिमार्जन गर्नका लागि गाउँपालिकाभित्र रहेका ४४ वटा विद्यालयहरूलाई ती सामग्रीहरू वितरण गरिएको हो । गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार प्रा.वि. तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको विद्यालयहरूको लागि आई.सी.टी उपकरणहरू सहयोग गरिएको हो ।
स्थानीय तहभित्र रहेका आठ वटा प्रत्येक माध्यमिक विद्यालयलाई थप १÷१ वटा ल्यापटप समेत दिइएकाले ७० हजार रुपैयाँका दरले ५२ वटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ वटा विद्यालयलाई ३१ हजार मूल्य परेका १३ लाख ६४ हजार रुपैयाँका फोटोकपी र स्क्यान सुविधा सहितका प्रिन्टरहरू प्रदान गरिएको हो । विद्यालयलाई सङ्घीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने भएका कारण हरेक विद्यालयले एकीकृत रूपमा विवरणहरू अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोग गर्नका लागि ठुलो लगानीमा ती सामग्री दिइएको हो ।
गकतिपय विद्यालयहरुले पहिलो चरणमा यस अगाडि नै ल्यापटप तथा प्रिन्टरहरु पाएको भए पनि अपुग भएका केहीलाई सोमबार आयोजना गरिएको यस वर्षको दोस्रो प्रधानाध्यापक भेलाका अवसरमा सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) ले विद्यालयका विवरणहरूलाई एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यस अगाडि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामहरूको बारेमा सिकाउन पुन पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । विद्यालयको माग अनुसार नै हरेक विद्यालयलाई ल्यापटप दिइएको र अनुगमनमा जाँदा छोपेर राखेको देख्न पर्ने स्थिति नआओस भन्ने उनको शुभेच्छा थियो । जलजला गाउँपालिका शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माणका कामहरू पनि गरिरहेको उनको भनाई छ ।
यस्तै गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले शिक्षाको विकास भए मात्र अन्य क्षेत्रको विकास हुने भएकाले शिक्षालाई गुणस्तर बनाउन आफूहरु प्रयासमा जुटीरहेको बताए । हरेक विलयले गुणस्तर कायम गर्न सकेमा मात्र सिंगो देशको शैक्षिक जगत गुणस्तर बन्न सक्ने भन्दै उनले त्यसैका लागि नै प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्न गाउँपालिकाले यो लगानी गरेको उल्लेख गरे । पहिलो चरणमा केही विद्यालयहरू छुटेकाले अहिले बाँकी रहेका विद्यालयहरूलाई पनि सामग्री दिएर पालिकाका सबै विद्यालयमा ल्यापटप र प्रिन्टर दिइएको उनको भनाई छ । वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमा नै कम्तीमा पनि तीन सय जना शिक्षकलाई एकमुष्ठ रुपमा एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको पनि क्षेत्रीले बताए । त्यस अवसरमा उनले जलजला गाउँपालिकामा दरबन्दी मिलानको अन्तिम तयारी भइरहेको समेत जानकारी दिएका छन् ।
गाउँपालिकाको वडा नं. ६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाईजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताईन् । यस अगाडिसम्म जान्ने साथीहरुको सहयोगमा इमिश अपडेटको काम जसोतसो गर्दै आएको भए पनि अब भने विद्यायका हरेक काम विद्युतीय माध्यमबाट गर्न पाइने भन्दै पाइजाले खुसी व्यक्त गरिन् ।
सोमबार भएको प्रधानाध्यापक भेलामा सामग्री बाँड्नुका साथै गाउँपालिकामा स्थानीय पाठ्क्रम लागू गर्ने बारेमा पनि छलफल भएको छ । स्थानीय स्रोत र साधनको उपयोगितामा ध्यान दिन सक्ने गरी स्थानीय पाठ्यक्रम निर्माणको लागि समिति निर्माणको काम थालिएको र त्यसको ड्राफ्ट गर्ने काम पनि केही समयमा नै सुरु हुने गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी दामोदर रेग्मीले बताए ।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष गोविन्द खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भवानीशंकर पौडेलले दुर्गम ठाउँमा इन्टरनेटको अभावका कारण हुने समस्याका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक खत्रीले कोभिड–१९ संक्रमण पूर्ण नियन्त्रणमा नरहेका कारण अहिले विद्यालयमा सञ्चालनमा रहेको भए पनि संक्रमणको अवस्थाका बारेमा ध्यान दिन अनुरोध गरे । शिक्षक वा विद्यार्थी जो कसैमा पनि समस्या आएमा र विद्यालयमा बन्द गर्नुपर्ने अवस्था आएमा सम्बन्धित वडाका वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराएर विद्यालय प्रशासनले आवश्यक निर्णय गर्न पाउने उनको भनाई छ । संक्रमण बढेको वा लक्षण देखिएको अवस्थामा विद्यालय बन्द नगरी स्थानीय सरकारले खुलाउन भनेको हो भनी अरुलाई दोषारोपणको काम गर्न नहुने खत्रीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive