बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

जलजलाका सरोकारवाला भन्छन, ‘शिक्षामा स्थानीय स्रोत पनि लगाऔँ’

असोज १८, २०७८
पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपाल, पर्वत र जलजला गाउँपालिकाको आयोजनामा सरोकारवालहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सोमबार जलजला गाउँपालिकाका प्राधानाध्यापक, जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण), प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्री, एनसिईका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी सामाजिक विकास समितिका संयोजक, गोविन्द खत्री लगायतको सहभागितामा शिक्षा क्षेत्रमा लगानी बढाउने बारेमा छलफल भएको हो।
‘शिक्षामा लगानी वृद्धिका लागि स्थानीय स्रोतको पहिचार र परिचालन’ शीर्षकमा भएको कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले स्थानीय स्तरमा सम्भावनाका अथाह सम्भावना रहेको भए पनि तिनीहरुको पहिचान र परिचालन नभएका कारण शिक्षा क्षेत्रमा लगानीको अभाव भइरहेको बताएका छन्।कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रमुख मल्लले आफ्नो गाउँको विद्यालयलाई गुणस्तरयुक्त बनाउन र त्यहाँ आवश्यक पर्ने स्रोत र साधन जुटाउन स्थानीय नागरिकको सक्रियता सबैभन्दा बढी महत्वपूर्ण हुने बताए। विकासका लागि आवश्यक पर्ने सबै रकम सरकारले नै दिनुपर्छ भन्ने मान्यतामा रहँदा अहिलेको प्रचलन आसा गरेर बस्ने तर आफूले केही पनि मिहिनेत नगर्ने रहेको उनको भनाई छ। ‘बर्षौँ पुराना विद्यालयका भवन कसरी बने? चौतारी पोखरी कसरी बने? जसले जे सक्छ उसले त्यो योगदान दियो। तर अहिले सबै कुरा सरकारले नै गरिदिनुपर्छ भन्ने मान्यता विकास भयो’ उनले भने, ‘स्थानीय स्तरमा रहेका स्रोतको पहिचान गरेर त्यसको प्रयोग गाउँलेले नै गर्ने हो भने केहीको पनि अभाव हुँदैन्। सहकार्य गर्न त हामी तयार नै छौँ।’
यस्तै गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले राज्यले शिक्षा क्षेत्रमा जति ध्यान दिनुपर्ने हो त्यती नदिएको भए पनि जलजला गाउँपालिकाको हकमा आफूहरुले सकेसम्मको प्रयास गरिरहेको बताए। शिक्षामा आज गरिने लगानी नै भोलीको देशको लागि गरिएको लगानी हुने भएकाले शिक्षामा आवश्यक बजेट विनियोजन गर्न कहीँ पनि चुक्ने नहुने उनको तर्क छ। स्थानीय स्रोतको पहिचानको बारेमा क्षेत्रीले देउसी भैलो खेल्नेदेखि भूतपूर्व विद्यार्थीहरुसँगको सहकार्य पनि महत्वपूर्ण पक्ष हुने उल्लेख गरे।
‘राज्य आवश्यक बजेट दिएन होला, अब दिएन के रे भन्दै बसेर पनि त भए नि। हामी स्थानीय रुपमा पनि जाग्नुपर्छ, कस्तुरीले सुगन्ध खोज्दै दौडेको जस्तै गरी हामीले हाम्रै अगाडि भएका सम्भावनालाई नदेखी स्रोत खोज्न धाएका छौँ’ उनले भने, ‘भैले खेलेर होस वा लाहुरे आउँदा गीत गाएर, भूतपूर्व बिद्यार्थीसँग सहकार्य गरेर होस वा गाउँमा भएका जनशक्तिको भौतिक सहयोग मागेर होस। केही न केही त गर्न सकिन्छ, तर त्यो गर्न मनबाट कति आउँछ भन्ने महत्वपूर्ण कुरा हो।’


कार्यक्रममा बोल्दै एनसिईका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले मर्ज हुने अवस्थामा पुगेका पर्वतका विद्यालयले अहिले गरिरहेको प्रगतिका बारेमा सुनाउँदै स्थानीयको सक्रियता बिना शिक्षक, समिति र सरकारले चाहेर विद्यालयमा परिवर्तन गर्न कठिन हुने बताए। विद्यालयको सेवा क्षेत्रमा त्यहीँका नागरिक पर्ने र त्यसको फाइदा स्थानीय समुदायमा नै जाने भएकाले भविष्यको आँखा खोलिदिने विद्यालयको विकास र गुणस्तरको लागि सबैको पहल आवश्यक रहेको उनको भनाई छ। ‘हाम्रो गाउँको विद्यालयले हाम्रो गाउँको समृद्धि गर्ने हो, जान्ने बुझ्ने बन्ने पनि हामी नै हो। स्थानीय रुपमा उपलब्ध भएका भौतिक तथा आर्थिक सहयोगको खाँचो हाम्रा विद्यालयमा परेका छन्’ उनले भने, ‘शिक्षा देशको मेरुदण्ड भएकाले शिक्षामा लगानी आवश्यक छ। सरकारले गरेन भन्दै नबसौँ आर्थिक, भौतिक, नैतिक जुन हिसावले सकिन्छ त्यही तरीकाले केही न केही त गरौँ।’


कार्यक्रम सहभागी भएका एक जना प्रधानाध्यापक भवानीशंकर पौडेल र खलराम पौडेलले लगानीका लागि आफूहरु तयार रहँदा समेत गाउँका विद्यालयहरुमा इन्टरनेट प्रदायक कम्पनीहरुले नेटको सुबिधा लैजान बेवास्ता गर्दा ग्रामिण क्षेत्रमा आई.सी.टी.का माध्यमबाट गुणस्तरको प्रयास गर्न समस्या भएको बताए। ‘चार दिनमा नेट जोडिदिउँला भनेर वल्र्ड लिंकले भनेको हो, अहिले चार महिना बित्दा पनि आएको छैन्। गाउँमा नेट ल्याउन किन नमान्ने?’ प्रअ खलराम भन्छन्, ‘बिद्युतको पोलबाट अरुका तार हटाउँदा रुनेहरु हाम्रो गाउँमा नेट जोड्न आउ। नेट जोड्न आनाकानी गर्ने हो भने प्रहरी र प्रशासनलाई अगाडि राखेर तार काटेर फाल्न हामी तयार छौँ।’ अर्का प्रअ भवानीशंकर पौडेलले अहिलेको आवश्यकता प्रबिधिको भएकाले गाउँघरमै पनि क्षमतावात र तालिमप्राप्त शिक्षकहरु रहेकाले उनीहरुको पहिचान गरी उनीहरुकै सहयोगको सबै शिक्षकहरुले प्राबिधिक सीपलाई बढवा दिन सक्ने बताए।


यस्तै गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक गोविन्द खत्रीले स्थानीय स्रोतको पहिचानपछि परिचलान गर्न सक्ने हो भने आर्थिक अभावका कारण समस्यामा रहेका विद्यालयहरुको समस्या समाधानको लागि धेरै सहयोग हुने विश्वास गरे। धेरै चन्दादाताहरु गाउँ गाउँमा रहेको भए पनि उनीहरुको पहिचान र सम्मान हुन नसक्दा पनि लगानी लुकीरहेको उनको भनाई छ।
खत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी दामोदर रेग्मीले स्वागत गरेका थिए। त्रिविक्रम आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive