बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

शिक्षक दिवस : शिक्षकलाई मात्रै दोष दिएर हुँदैन, राज्य पनि जिम्मेवार बनोस

संजय रेग्मी
असोज १९, २०७८
पर्वत : २७ औँ विश्व शिक्षक दिवसको अवसर पारेर पर्वत शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सि.ई) नेपाल र शिक्षक चौतारीको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘शैक्षिक सुधारका लागि शिक्षकको भूमिका’ शीर्षकमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले शैक्षिक सुधारको लागि शिक्षकहरु जति नै कस्सिए पनि देशको राजनीतिक भद्रगोल अवस्था, शिक्षा क्षेत्रलाई राज्यले गर्ने वेवास्ता र माफियाको चक्करमा परेर शिक्षा ऐन नै जारी गर्न नसक्ने लाचार सरकारका कारण सुधार हुन नसकेको बताएका छन् । देशको राजनीति दुर्गन्धित रहेसम्म त्यसको असर हरेक क्षेत्रमा पर्ने भएकाले सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा हुनुपर्ने वक्ताहरुको जोड छ ।


कार्यक्रममा भानाई राख्दै शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले राज्यबाट एक थरी बोल्ने र अर्कै थरी गर्ने भइरहेकोले समस्या आएको बताउँदै देशको वितरण प्रणाली र जनशक्ति व्यवस्थापन नै कमजोर रहेको बताए । अहिले पनि शिक्षकहरुले न्यून वेतनमा काम गरिरहनुपरेका कारण उनीहरु भोको पेटमा विद्यालयमा चिच्याउनु परेको बाध्यताका बीचमा पनि कतिपय ठाउँमा उदाहरणीय काम भइरहेको बताए । अहिलेको युग नयाँ प्रबिधमा प्रवेश गरेकाले अबका शिक्षकले आफूलाई प्रबिधमैत्री बनाउन नसक्ने हो भने शिक्षामा गुणस्तर नआउने पौडेलको भनाई थियो । ‘न्यून वेतनमा काम गर्दा समस्या भइरहेको छ। स्थानीय सरकारहरुको ध्यान शिक्षामा पुग्न सकिरहेको छैन’ उनले भने, ‘सेवा र सुविधाका लागि पेसागत संगठनमा आवद्ध हुने शिक्षकले त्यही संगठनलाई विद्यालयको नतिजा राम्रो निकाल्न पनि झकझकाउनुपर्छ ।’


कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले शौक्षिक सुधारका लागि सबैभन्दा पहिले राज्य नै तयार हुनुपर्ने बताए । राज्य पक्षकै कारण शिक्षा सहितका अन्य क्षेत्रमा पनि गहिरो प्रभाव परेको भन्दै उनले कहीँ कतै विदालयहरु राम्रा बन्नुको कारण त्यहाँका शिक्षकहरुको अथक प्रयास भएको उनको भनाई छ । ‘मूल धमिलो छ भने धारामा पानी पनि धमिलो नै आउँछ, सफा पानी पिउन त पहिले मूल सफा हुनुपर्छ’ सुवेदीले भने, ‘म निजामतिमा हुनुर्पूव शिक्षक नै थिएँ। शिक्षक हुनुको जस्ता मज्जा निजामति क्षेत्रमा छैन् । अब सोच बदलेर समाजले शिक्षकलाई उच्च सम्मान दिनुपर्छ ।’
कुश्मा नगरपालिका–७ का वडा सदस्य निलराज पुरीले कोरोना महामारीका कारण शिक्षा क्षेत्र जबरजस्ती प्रबिधिको युगमा प्रवेश गरेको बताउँदै अब हरेक शिक्षक प्रबिधिमा दख्खल भएको हुनुपर्ने भनाई राखे । आफूले वडा सदस्यको हैसियतमा शैक्षिक सुधारको लागि सक्ने जति काममा लागिरहेको उनको भनाई छ ।


शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले सबै खालका मैत्री वातावरणको खोजी भइरहेको बेलामा शिक्षकमैत्री वातावरणको बारेमा भने कसैले पनि नसोचेको उल्लेख गरे । शिक्षकले सबैलाई वातावरण मिलाईदिनुपर्ने भए पनि शिक्षकको लागि वातावरण निर्माण गरिदिने कोही नभएका कारण शैक्षिक समस्याहरु बढ्दै गएको उनको भनाई छ । ‘कक्षाकोठा भित्र बालबालिकालाई सुहाउँदो खालको वातावरण त शिक्षकले निर्माण गर्न सक्लान तर विद्यालय बाहिरको अरु वातावरण शिक्षकले कसरी मिलाउन सक्छन्?’ पहाडीले भने, ‘अनि शिक्षकले सबैलाई मैत्री वातावरण बनाईदिनुपर्ने, तर शिक्षकलाई पनि अुनुकुल हुने शिक्षकमैत्री वातावरण निर्माण गर्नु नपर्ने?’


नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष तथा नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पोखरेलले शिक्षा क्षेत्रमा रहेका समग्र समस्या र शिक्षकहरुले गरिरहेको प्रयासका बारेमा जानकारी गराएका थिए । शिक्षक माली बनेर फूलबारीको व्यवस्थापन गनै सकेमा मात्रै फूलबारीका फूल जस्तै विद्यार्थीहरुले आफूलाई अब्बल बनाउन सक्ने तर्क राखे । वैयक्ति विभिन्नता विद्यार्थीमा हुन्छन भन्ने पढेरै आएका शिक्षकहरुले विद्यालयमा पनि त्यही बुझाई अनुसारको विद्यार्थीको क्षमता पहिचान गरेर व्यवहार गर्नुपर्ने पोखरेलको भनाई छ । शिक्षा क्षेत्रप्रति राज्य नै निरीह बनिरहेका कारण शिक्षकहरुले न्यून तलबमा काम गर्नुपर्ने र पेट भर्नकै लागि बेला बेलामा आन्दोलन गरिरहनुपर्ने अवस्था आएकोप्रति दुःख व्यक्त गरे । ‘अहिले पनि रोजीरोटीको लागि शिक्षकले आन्दोलन गरिरहनुपरेको छ। शिक्षक आफै पिडामा छ, उही मानसिक तनावमा छ त उसले अरुको मानसिकता कसरी जान्ने हो?’ पोखरेल भन्नछन्, ‘सबै पार्टीका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्ने भन्ने छ, अहिले सत्तामा जो पुगे पनि बोलेको कुराको ५० प्रतिशत भन्दा गरेका छैनन् ।’ सामुदायिक विद्यालयमा अझै पनि शौचालय र पिउने पानीको समस्या रहेको देख्दा देख्दै समेत स्थानीय र अन्य सरकारले समेत पानीको धारा दिन नसक्नुले शिक्षाप्रति राज्यको धारणा स्पष्ट भएको उनको भनाई छ ।


नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले शिक्षकले आफू कार्यरत विद्यालयलाई नै विश्वास गर्न नसक्दा आफ्ना सन्तानलाई आफू कार्यरत रहेको विद्यालयमा अध्यापन नगराएको बताए । परिवर्तित अवस्थामा आईपुग्दा समेत शिक्षणको शैली परम्परागत रहेको भन्दै उनले अब शिक्षणको शैली नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।


अन्तरक्रियामा विषय उठान गरेका शिक्षाप्रेमी तथा नारायण माध्यामिक विद्यालयका पूर्व प्राधानाध्यापक पृथ्वीनारायण शर्माले शिक्षकले बालकलाई शिक्षक जस्तो बन्न नभई बालक स्वयं जस्तो बन्न अभिप्रेरित गर्नुपर्ने बताए । शिक्षकको काम बालकको अपार शक्तिलाई उजारग र विज्ञान र अध्यत्मको माध्यमबाट प्रयोगात्मक व्यवहारमा उतार्ने बनाउन सक्नुपर्ने उनको भनाई छ । ‘म त पूर्व जन्ममा पनि विश्वास गर्छु, हामी हिजाको पाप कटनी गर्न आजको जन्ममा शिक्षक भएका हौँ । शिक्षकको दायित्व पूरा गरेर पाप कटाउने अवसरको सदुपयोग गरौँ’ उनले भने, ‘शिक्षकले पैसा र सुबिधाका कुरा छोडेर प्रसन्न भई बालबालिकाको ध्यान दिउँ । अध्यात्म र विज्ञान मिलेमा मात्र व्यक्ति सफल हुन्छ ।’


कार्यक्रममा बोल्दै एन.सि.ई. नेपाल, जिल्ला समन्वय समिति पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले शिक्षक एक्लैको प्रयासबाट शैक्षिक क्षेत्रको सुधार सम्भव नहुने भएकोले यसमा सबैको हातेमालो आवश्यक भएको बताए । अझैसम्म पनि शिक्षा ऐन आउन नसक्नु दुःखद भएको बताउँदै उनले शिक्षकको तलब बाहेक अन्य बजेट शिक्षा क्षेत्रका लागि नहुँदै शैक्षिक गुणस्तरका गतिबिधिहरु ठप्प भएको शर्माको भनाई छ ।


यस्तै प्रबिधिमैत्री शिक्षक समाज पर्वतका अध्यक्ष आशिष पौडेलले शिक्षकमा स्वसक्रियता र स्वआकर्षण नभएका कारण पढाइमा उर्जा नभएको उल्लेख गरे । आजभोली पठन संस्कृति लोप हुँदै गइरहेको बेलामा शिक्षक पनि अध्ययनशील नभएको र उनीहरुमा गहिरिएर कुनै कुराको खोजी गर्ने अवस्थामा पनि नरहेको पौडेलको भनाई छ ।


शिक्षक देव शर्माले शिक्षा क्षेत्रलाई जति बेला पनि बिग्रेकै मात्रै देख्ने समाजको दृष्टिकोण नै गलत भएको बताए । शिक्षकहरुले गरिरहेको प्रयास अथक रहेको बताउँदै उनले अरुका कारण शिक्षा क्षेत्रमा देखिएको समस्याको दोष पनि शिक्षकलाई नै दिनु नै सबैभन्दा ठूलो गल्ती भएको उल्लेख गरे । अबका शिक्षकहरु प्रबिधिमा आधारित स्मार्ट बन्न नसकेमा बिद्यार्थीले शिक्षकलाई इन्टेरनेटमा खेल्न सिकाएर उल्टै पढ्न सिकाउने अवस्था आउने शर्माको भनाई छ ।


एन.सि.ई. नेपाल, जिल्ला समन्वय समिति पर्वतका संयोजक यज्ञ प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक चौतारी पर्वतका अध्यक्ष आनन्द पौडेलले गरेका थिए ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive