पर्वत : देशको १२ औँ तथा संघियता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना–२०७८ बिहीबारदेखि सुरु भएको छ। गणकहरू घर–घरमा पुग्नु पहिले नै सुपरिवेक्षकहरूले प्रत्येक घरको सूचीकरण गरेर मुख्यतः घरपरिवार, सदस्य, कृषि, बैङ्क खाता लगायतका २० वटा प्रश्नहरू सोधेर जवाफको फाईलिङ भइसकेको छ।
सूचीकरणको काम सकिएपछि बिहीबारदेखि सबै विवरणहरू सङ्कलन गर्ने गरी गणकहरू घर घरमा खटिएका छन्। गणनाको मुख्य भाग अन्तर्गत यस चरणमा ५५ वटा प्रश्नहरू सोधिँदै छन्।
जसमा परिवारका प्रत्येक व्यक्तिसँग सोधपुछ गरेर शिक्षा, प्रजनन, आर्थिक क्रियाकलाप, बसाइसराइ, अपाङ्गता, खाना पकाउने स्रोतदेखि आधारभूत आवश्यकताका सबै कुराहरू सोध्न लागिएको छ।
जिल्ला जनगणना अधिकृत ज्योति के.सी का अनुसार पहिलो चरणमा सूचीकरणमा गएका कर्मचारीहरूले नागरिकबाट खासै सास्ती भोग्नु परेन। नागरिकमा शिक्षा र सचेतनाको स्तर बढ्दै जाँदा विगतका गणनामा भन्दा यस गणनामा नागरिकहरूले धेरै कुरा बुझेको देखिएको छ।
गणकहरूलाई सबै सूचना दिँदा आफ्नो पारिवारिक र व्यक्तिगत गोपनीयता भङ्ग हुने भन्दै कतिपय सूचनाहरू नागरिकले लुकाउने गरेको पाइएको भए पनि यस पटक त्यस्तो समस्या भोग्ने अवस्था नरहने उनको भनाई छ।
‘विगतका जनगणनामा जस्तो समस्या बिस्तारै हराउँदै जान्छन्, नागरिकको शिक्षा र चेतना स्तरमा वृद्धि भएको छ। जनगणना हाम्रै लागि हो भन्ने उहाँहरूले बुझ्नुभएको छ,’ उनी भन्छिन्, ‘सूचीकरणमा जानुभएका सुपरीवेक्षकहरुसँग उहाँहरूले भोगेका समस्याका बारेमा हामीले छलफल गरेका छौँ। १-२ प्रतिशतमा त्यो समस्या देखियो तर हामीले सूचीकरणको बेलामा उहाँहरूलाई जनगणनाको आवश्यकता र महत्त्वको बारेमा कुरा बुझाएपछि कन्भीन्स हुनुभएको छ।’
आफ्नो घरमा पुगेका जनगणनाका कर्मचारीहरूलाई सही सूचना नदिने हो भने त्यसले गर्ने दीर्घकालीन असरको भागीदार नागरिक स्वयं हुनुपर्ने अधिकृत के.सी को भनाई छ। राज्यले तयार पार्ने योजना, नीति, कार्यक्रमहरू जनघनत्व, जनसङ्ख्याको बनोट र वितरण लगायतका आधारमा गर्ने भएका कारण गलत सूचना दिएमा योजना, नीति तथा कार्यक्रमहरू नै प्रभावित हुने र त्यसको असर नागरिकलाई नै पर्ने उनले बताइन्।
‘जनगणनापछि आएको तथ्याङ्कको आधारमा नै राज्यले के कुरामा ध्यान दिनुपर्ने छ भन्ने कुरा पनि खुल्न आउँछ। जनसङ्ख्याको चाप, भौगोलिक अवस्था, जनघनत्व, बनोट तथा वितरणको आधारमा नै राज्यका नीति तथा कार्यक्रमहरू निर्देशित हुन्छन्,’ अधिकृत के.सी ले भनिन्, ‘आफूले झूटो बोल्दा राज्यको नीति तथा कार्यक्रमबाट सोही ठाउँको भूगोल र नागरिकहरू सेवा सुविधा लगायतका व्यवस्थापनबाट बाहिर रहने जोखिम हुन्छ। हाम्रो गणना हाम्रै लागि हो भन्ने कुरा सबैले सम्झिनुपर्ने हुन्छ।’
यस पटकको जनगणनामा अक्सर बसोबास गरिरहेको स्थानबाटै नागरिक गणना गर्न लागिएका कारण कतिपय अवस्थामा घरबाट पनि उनीहरूको तथ्याङ्क टिपाइदिने अवस्थामा गणना दोहोरो पर्न सक्ने जोखिम देखिन्छ।
जनगणना अधिकृत के.सी. पनि कतिपय परिवार वा नागरिकले गणकहरूलाई अस्थायी रूपमा बसोबास गर्दै आइरहेकाहरूको विवरणहरू जन्मदर वा स्थायी ठाउँबाट लेखाइदिन सक्ने जोखिम रहेको बताउँछिन्।
तर सुपरिवेक्षक र गणकहरूलाई प्रशिक्षणको क्रममा त्यस बारेमा कुनै पनि अलमल नहुने गरी सिकाइएका कारण कर्मचारीहरू अलमलमा नपर्ने र नागरिकलाई पनि कुरा बुझाउने उनको विश्वास छ।
यस्तै, कतिपय अवस्थामा परिवारको एकै सदस्यले नै अन्य सदस्यहरूको विवरण टिपाउन खोज्दा वास्तविकता नआउन सक्ने भएकाले सकेसम्म परिवारका सदस्यहरूलाई भेटेर कुरा बुझाउँदै उनीहरूको जवाफ माग्न भनिएको छ।
जिल्ला जनगणना कार्यालय पर्वतको तथ्याङ्क सूचीकरणको चरणबाट जिल्लामा करिब ४० हजार घर, २८ हजार जनगणना गर्नुपर्ने घर र ३३ हजार जनगणना गर्नुपर्ने परिवारको सङ्ख्या रहेको देखिएको छ, जुन संस्थागत विवरण बाहेकको हो।
‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथमा हुन लागेको जनगणनाको लागि पर्वतमा दुई सय २५ गणक र ६१ सुपरिवेक्षक खटिएका छन्। गणकहरूले प्रत्येक घरमा पुगेर मूल प्रश्नहरू र सुपरिवेक्षकले वडामा रहेर सामुदायिक प्रश्नहरू गर्ने यस पटकको जनगणनाको तरीका छ।
कार्यालयका अनुसार मोदी गाउँपालिकामा ३१ जना, जलजला गाउँपालिकामा ३४ जना, कुश्मा नगरपालिकामा ७२ जना, फलेवास नगरपालिकामा ३५ जना, महाशिला गाउँपालिकामा १४ जना, बिहादी गाउँपालिकामा १७ जना र पैयुँ गाउँपालिकामा १८ जना गणकहरू खटिएका छन्।
कात्तिक १३ देखि १६ सम्म प्रशिक्षण दिएर तयार पारिएका गणकहरूले कात्तिक २५ मङ्सिर ९ गतेसम्म गणनाको काम गर्दै छन्। अपाङ्गता भएकाहरू जनगणनामा छुट्न सक्ने जोखिम भएकाले पोखराबाट अपाङ्गता नै भएका व्यक्तिहरू ल्याएर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गर्ने विषयमा समेत प्रशिक्षण दिइएकाले जनगणनाको बारेमा थाहै नभएकाहरू पनि यो कार्यक्रमबाट छुट्न नसक्ने के.सी को भनाई छ।
कोही पनि नछुटुन् र स्थानीय सरकारबाट समेत आवश्यक सहकार्य होस भनेर जिल्ला जनगणना कार्यालयबाट वडाध्यक्षहरूलाई पत्र पठाएर तथा वडाका पदाधिकारीसँग बैठक वा छलफल गरेपछि मात्रै जनगणनाको काम अगाडि बढाउन भनिएकाले पनि सुपरिवेक्षक तथा गणकहरूको साथमा वडाका जनप्रनिधिहरू पनि रहनेछन्।
यस पटकको जनगणनामा व्यक्तिको बारेमा सबै जानकारीहरू समेत समावेश गर्न लागिएकाले यो गणना निकै महत्त्वपूर्ण भएको र यसबाट कोही छुट्न नहुने अवस्था छ।
यस १२ औँ जनगणनाबाट घरको स्वामित्व, घरको संरचना र बनोट, पानीको स्रोत, खाना पकाउने इन्धनको स्रोत, उज्यालोको सुविधा, शौचालय, महिलाको नाममा रहेको घर तथा सम्पत्ति, घरेलु व्यवसाय, मातृ मृत्युको अवस्था लगायतको बारेमा गणकहरूले प्रश्न गर्दै छन्।