पर्वत : पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको चिन्ने खोलानजिकै बस्दै आएका ३३ वर्षीय सुवास नेपालीले विदेशमा दुःख गरी कमाएको पैसा गाउँ फर्किएर लगानी गरे।
कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेलामा उनलाई पनि विदेशमा दुःखले बस्नुभन्दा गाउँमा नै केही गर्ने सोच आयो।
सन् २००८ मा मलेसिया पुगेका नेपाली लामो समयको मलेसिया बसाइपछि नेपाल फर्किए। मलेसियामा मासिक झन्डै ६० हजार रुपैयाँ तलब थाप्दै आएका उनले त्यहाँ कमाएको रकमबाट झन्डै १७ लाखको लगानीमा कटुवाचौपारीमा कुखुरा फार्म सुरु गरे।
नेपाल रहँदा रोजगारीको कुनै बाटो नपाएका उनले विदेश पुगेपछि नेपालमा गर्न सकिने कामको सम्भावनाको बारेमा सपना देखे। केही वर्ष विदेशमा कमाएको रुपैयाँलाई गाउँमै लगानी गरेर व्यावसायिक सफलता हात पार्ने सपना सुवासमा थियो।
कोरोना सङ्क्रमणको महामारीको कारण नेपाल पनि आक्रान्त बनेको थियो। रोजगारी गुमाएर फर्किएकाहरू पनि गाउँमा बेकामे भएर दिन बिताउनुको उपाय थिएन।
त्यही बेलामा नेपालीले तयारी अवस्थामा रहेको कुखुराको फर्म किनेर कुखुरा पालन व्यवसाय सुरु गरेका हुन्। उनको फर्ममा अहिले झन्डै डेढ सयको सङ्ख्यामा टर्की, झन्डै एक हजार ब्रोइलर, झन्डै ११ सय लोकल जातका कुखुरा छन्। विदेशमा बसेको भन्दा आफ्नै परिवारको साथमा रहेर गरेको कामले उनलाई सुख पनि मिलेको छ।
‘अरूको देशमा काम गरेर खानु पनि सजिलो कहाँ छ र? आफ्नो देशमा उपाय नदेखेको बेलामा त्यही भए पनि राहत हुन्छ भनेर गएको हुँ। तर आफ्नो मातृभूमिमा काम गरेको जस्तो त विदेशमा कहाँको हुनु?’ सुवास भन्छन्, ‘परिवारको साथमा बस्न पाएको छु। कसैको गाली खानु परेको छैन।
यहाँ थालेको व्यवसायमा उत्पादन पनि राम्रो नै भइरहेको छ।’ झन्डै सात महिनादेखि सञ्चालनमा रहेको ‘सुवित पशुपक्षी तथा कृषि फार्म’ का लागि उनले चल्ला उत्पादनका लागि प्रयोग हुने ह्याचरी मसिन र जेनरेटरसमेत जडान गरेर व्यवसाय चलाउँदै आएका छन्।
उनको फर्मबाट लोकल कुखुरा प्रतिगोटा १५ सय सम्म, टर्कीको प्रतिकिलो सात सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ। ब्रोइलर कुखुराको मूल्य भने पर्वतमा हप्ता दिनमै तलमाथि भइरहेको हुन्छ।
त्यसमा पनि चिसो मौसम सुरु भइसकेका कारण ब्रोइलरलाई बचाउन कठिन हुने भएकाले पनि ब्रोइलरको मूल्य गर्मी समयको भन्दा बढी हुन्छ।
महिनामा खर्चसहित करिब तीन लाख रुपैयाँ जतिको कारोबार हुने गरेको सुवास बताउँछन्। जसमा आधा खर्च कटाएर पनि कम्तीमा एक लाख रुपैयाँ त उनको बचत हुन आउँछ। एक दिनमा झन्डै दुई सयभन्दा बढी लोकल अण्डा उत्पादन हुने गरेको र अण्डाले राम्रै बजार पाइरहेको उनले सुनाए।
सोचेजस्तो बजार नपाउँदा चिन्तित
आफ्नो फर्ममा आवश्यकता अनुसारको कुखुराको रहेको भए पनि विदेशमा रहँदा कल्पना गरेको जस्तो बजारीकरणको व्यवस्थापन नहुँदा भने समस्या भइरहेको उनको गुनासो छ। सामान्यतः पर्वत सदरमुकाम कुश्मा बजारमा तथा गाउँमा पनि टर्की जातको कुखुराको मासुको कारोबार भएको यदाकदा मात्र देख्न पाइन्छ।
जबकि सुवासको खोरमा झन्डै डेढ सय टर्की छन्, त्यसमा पनि एउटैको तौल झन्डै आठ किलोग्रामसम्म छ। एउटै व्यक्तिले किन्ने अवस्था नरहने भएकाले टोलका केही व्यक्तिहरू मिलेर टर्की किन्न सक्ने भएका कारण गाउँमा टर्कीको व्यावसायिक उत्पादन चुनौतीपूर्ण छ।
आफूले सदरमुकाम कुश्मा सहित छिमेकी जिल्लाका बजारमा समेत टर्कीको मासुको बारेमा कुराकानी गरेको भए पनि बेच्ने बेला भएका टर्कीले बजार नपाएको सुवास बताउँछन्। जिल्लमा बजार नै नपाएपछि नजिकैको ठूलो सहर पोखरामा टर्की कुखुरा बिक्रीको लागि कुराकानी भइरहेको उनको भनाइ छ।
‘म विदेशमा रहँदा त सोचेको थिएँ राम्रोसँग पाल्न सक्ने हो उत्पादित कुखुरा र अण्डालाई बजारको समस्या हुँदैन होला। तर मैले पालेका टर्कीलाई नै बिक्री गर्न कठिन भइरहेको छ। दुःख गर्न खोज्यो के मिल्दैन, के मिल्दैन,’ उनी भन्छन्, ‘न त स्थानीय सरकारबाट कृषकका उत्पादनलाई बजारमा लैजान पहल भएको छ, न त हामी आफैले बजारको व्यवस्थापन गर्न सकिएको छ।’ बजारमा अस्वस्थ प्रतिस्पर्धा रहेका कारण ब्रोइलर कुखुरालाई होलसेलमा दिँदा लगानी मात्रै उठ्ने अवस्था रहेको सुवासले बताए।
बजारको चुनौतीका बाबजुद पनि यहीँ सङ्घर्ष गर्नुको विकल्प अब नरहेको नेपाली बताउँछन्। यतिका वर्ष विदेशमा बस्दा जम्मा गरेको रकम फर्ममा लगानी भएका कारण अब चुनौतीकै माझमा पनि व्यवसाय चलाउनै पर्ने बाध्यता रहेको उनको भनाई छ।
‘विदेश त छाडिहालियो, अब त यहीँ केही न केही त गर्नै पर्छ। बिचैमा छोड्ने त कुरा भएन। अब बरु अरूको भन्दा केही फरक दिन प्रयास गरेर पनि मार्केटमा छिर्नुपर्छ,’ नेपाली भन्छन्, ‘अण्डासहित सबै थोकको उत्पादनको तयारी थालेको छु। यहीँ नै ह्याचरीको सुविधा राखेका कारण अन्य फर्ममा जस्तो समस्या मलाई नहोला भन्ने लागेको छ।’’