मङ्सिर २, २०७८
पर्वत : पर्वतमा क्रियाशील आठ वटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मसिन जोड्ने प्रक्रिया सुरु भएको छ ।
सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएको अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको भए पनि जडानको काम कहिले सकिन्छ भन्ने यकिन भएको छैन ।
कम्प्रेसर मसिन सहितका उपकरणहरू जडान भए पनि त्यसको सञ्चालनको लागि दुई सय २० भोल्ट माथिको विद्युत आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरू आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन नभएसम्म अहिले जडान गर्न लागिएको कम्प्रेसरबाट अक्सिजन भर्न सकिने अवस्था रहँदैन । ‘पर्वतका आठ वटा लायन्स क्लबको सहयोगमा आएको कम्प्रेसर र नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त भएको प्लान्ट जडानको प्रक्रिया सुरु हुँदै छ । यो पूरा भएपछि अक्सिजन भर्नका लागि सिलिन्डर पोखरा पठाउनुपर्ने बाध्यता हट्ने छ,’ डा. पौडेल भन्छन्, ‘तर यो जडानको काम गर्न नै केही समय लाग्छ । अस्पतालमा आफै अक्सिजन भर्न सुरु भएको छ भन्ने भ्रम नहोस्। यो काम पूरा गर्नका लागि पनि धेरै आवश्यक कुराहरूको व्यवस्थापन आवश्यक छ ।’
एसोसिएसनको सहयोगमा प्लान्ट र लायन्सको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ । त्यसका लागि झन्डै १२ लाख भन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीहरूको लागि अक्सिजनको आवश्यकता परेमा अहिलेसम्म पोखराबाट भरेर ल्याइएका सिलिन्डर प्रयोग गर्ने गरिएको छ । त्यस बाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शय्यासम्म पाइप लाइनको जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो । डा. पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने भनिएको छ । तर कम्प्रेसरले एक दिनमा कति सिलिन्डर ग्याँस भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इन्जिनियरले गर्ने प्राविधिक जाँचपछि मात्रै यकिन हुने छ ।
अहिले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवनमा नजोडी अस्पतालका नयाँ भवनहरूमा जडान गर्न लागिएको छ । १५ शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनहरूबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।
झन्डै ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबहरूले ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।
अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको अवस्थामा रहेको छ । जसका कारण प्लान्टबाट शय्यामा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।
बिरामीलाई अक्सिजनको आवश्यकता भएको अवस्थामा सिलिन्डरमा भरेर ल्याएको अक्सिजन प्रयोग गर्नुपर्ने अवस्था छ । मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलका अनुसार अस्पतालमा जोडिएका प्लान्टमा प्राविधिक समस्या आएमा त्यसको समाधान गर्ने प्राविधिक जनशक्ति नपाउँदा समस्या हुने गरेको छ । प्रदेशको बजेटमा जडान गरेको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन नभएपछि त्यसको समाधानको लागि सप्लायर्स कम्पनीसँग कुराकानी भएको छ। तर सप्लायर्सले पनि त्यसको समाधान गर्ने जनशक्ति भारतबाट ल्याउनुपर्ने बताएका कारण मर्मतको अवस्था यत्तिकै रोकिएको छ ।
अहिले जडान गर्न लागिएको प्लान्ट र कम्प्रेसर जडानको काम पोखरा र काठमाण्डौँबाट आएका प्राविधिकहरूले गर्न लागिरहेका छन्। तर त्यसमा पनि समस्या आएमा मर्मतकै समस्या हुने डा. पौडेल बताउँछन् । ‘जडान गरिसकिएको प्लान्टले अक्सिजन उत्पादन गरिरहेको छैन। बनाउने प्राविधिकको अभावमा कहिले उत्पादन हुन्छ भन्ने ठेगान नै छैन। जडान भए पनि प्राविधिकको अभावले समस्या हुने रहेछ’ उनले भने, ‘अहिले जडान हुँदै गरेको प्लान्ट जोडेर काम सकिए पनि समस्या आएमा त्यसको मर्मतकै लागि समस्या छ ।’
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024