बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

बाल अधिकार दिवसमा दृष्टिबिहीनलाई न्यानो कपडा वितरण

संजय रेग्मी
मङ्सिर ४, २०७८
पर्वत : सामाजिक विकास कार्यालय पर्वतले शिवालय माध्यमिक विद्यालय कुश्मामा अध्ययनरत दृष्टिबिहीन बालबालिकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ।
शनिवार मनाईँदै गरेको ३२ औँ अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर विद्यालयका १४ जना बालबालिकाहरुका लागि टोपी र स्वीटर वितरण गरिएको हो। दाताको दानको आधारमा धेरै खर्च व्यवस्थापन गर्दै आइरहेको बिद्यालयका विद्यार्थीहरुलाई जाडो याम सुरु भएसँगै समस्यामा हुने भएकाले न्यानो कपडा वितरण गरिएको कार्यालय प्रमुख मोहनचन्द्र सुवेदीले बताए।


कपडा हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका–६ का वडाध्यक्ष रुद्र गिरीले आफूले वडाको तर्फबाट गर्न मिल्ने सहयोगहरु विगतबाट नै गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए। विद्यार्थीहरुलाई मनोरञ्जनात्मक क्रियाकलापबाट शैक्षिक क्रियाकलापमा आकर्षित गर्न सकिने भन्दै उनले यस वर्षका लागि पनि उनीहरुको भ्रमण वा बनभोज कार्यक्रमको लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे।


न्यानो कपडा वितरण गर्दै सामाजिक विकास कार्यालयका प्रमुख मोहनचन्द्र सुवेदीले दृष्टिबिहनी सहित अन्य खालका अपाङ्गता भएका विद्यार्थीहरुलाई कार्यालयले गर्न मिल्ने सहयोग मन फुकाएर गर्ने प्रतिबद्धता व्यक्त गरे। शिवालयमा रहेको दृष्टिबिहीन स्रोत कक्षा जिल्लाकै लिडर स्रोत कक्षा भएका कारण पनि आवश्यक भवन निर्माणको लागि मन्त्रालयमा कुरा गरेर आफूले पहल गरिरहेको उनको भनाई थियो। फरक क्षमता भएकाहरुको अवस्थालाई उकास्नको लागि क्षमता अभिबृद्धि तालिमहरु आवश्यक हुने भएकाले चालु आर्थिक वर्षमा नै त्यसका लागि मन्त्रालयमा थप बजेट माग गरेर कार्यक्रम सञ्चालन गर्ने उनको भनाई छ।


यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले शालिजामा रहेको स्रोत कक्षा कुश्मा सारिएपछि तत्कालिन अवस्थामा विद्यार्थीहरुलाई भाडामा राखेर काम चलाएकोमा पछि प्लान नेपालले भवन निर्माण गरिदिएपछि अवस्था केही सहज भएको उल्लेख गरे। स्रोत कक्षामा रहेका विद्यार्थीहरु सधैँ आर्थिक तथा भौतिक समस्यामा रहेका कारण सरकारले नै यसमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ। अध्यक्ष गिरीले विद्यार्थीहरुलाई सहयोग गर्ने दाताहरुको खोजी भइरहेको बताउँदै विशेष अवस्थामा रहेका बालबालिकाहरुलाई राज्यले खासै ध्यान नदिनु दुःखद भएको पनि बताए।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयका प्राधानाध्यापक भूपेन्द्र चापागाईँले सरकारले १० महिनासम्म मासिक चार हजार रुपैयाँका दरले एक जना विद्यार्थीको लागि आर्थिक सहयोग गर्दै आएको भए पनि त्यो रकम अहिलेको महंगीको अवस्थामा पर्याप्त नभएको बताए। चार मध्ये पनि पाँच सय रुपैयाँ विद्यार्थीलाई व्यक्तिगत खर्चको लागि दिनुपर्ने भएकाले बाँकी रहेको ३५ सय रुपैयाँबाट होस्टल खर्च, औषधोपचार, पोशाक, स्टेशनरी लगायतका आवश्यकताहरु परिपूर्ति गर्न समस्या भएको बताए। राज्यको तर्फबाट आवश्यकता पूर्ति नगरिए पनि हालसम्मको अवस्थामा दाताकै भरमा काम चलिरहेको प्रधानाध्यापक चापागाईँको भनाई छ।


यस्तै स्रोत कक्षामा अध्यापनरत शिक्षक हरिदत्त शर्माले ब्रेल लिपी भन्दा विशेष खालका कम्प्युटरबाट अध्ययन अध्यापन सहज र प्रभावकारी हुने भएका कारण विद्यालयमा दृष्टिबिहीन लक्षित विशेष खालको कम्प्युटर ल्यावको आवश्यकता रहेको बताए। दृष्टिबिहीन सबै विद्यार्थीहरुको निशुल्क स्वास्थ्य बीमा राज्यले गरिदिनुपर्ने माग गर्दै उनले ब्रेलसँग सम्बन्धित सामग्रीहरु चर्को मूल्यका हुने भएका कारण पनि सामग्री व्यवस्थापनमा समस्या भइरहेको शिक्षक शर्माको भनाई छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक आनन्द पौडेलले गरेका थिए।


पर्वतकै शालिजामा रहेको स्रोत कक्षालाई सामाजिक अभियान्ता तथा शिक्षाप्रेमीहरुको सहयोगमा २०७२ सालमा सदरमुकाम सारिएको थियो। दुर्गम ग्रामिण क्षेत्रमा कक्षा सञ्चालन गर्दा दृष्टिबिहीन विद्यार्थीहरुलाई आउजाउ गर्न नै समस्या भएपछि सदरमुकाममा सारिएको थियो। स्रोत कक्षामा अहिले १४ जना विद्यार्थीहरु अध्ययनरत छन्। उनीहरु पर्वत सहित बागलुङ, म्याग्दी, पाल्पा लगायतका जिल्लाका रहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive