बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

शैक्षिक सुधारका लागि सरोकारवालाको भूमिका बारेमा अन्तरक्रिया सम्पन्न

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वत, फलेवास नगरपालिका ६ नं. वडा कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको संयुक्त आयोजनामा फलेवासको देवीस्थानमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा फलेवास नगरपालिका, वडा नं. ६ का अध्यक्ष भोलानाथ शर्माले शिक्षा सुधारको मुख्य कुँजी भनेकै शिक्षक भएकाले शिक्षक समुदायले आफ्नो पेशा र जिम्मेवारी प्रति इमान्दार भएर लाग्नुपर्ने कुरा बताए । मेहेनती र जवाफदेही शिक्षक भएका सामुदायिक विद्यालयले गरेको उन्नती, प्रगति र शैक्षिक गुणस्तर सुधारबाट बाँकी सार्वजनिक विद्यालयहरुले पनि सिको गर्नुपर्ने आवश्यकता भएको कुरामा जोड दिए । अन्तरक्रिया कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले ‘विद्यालय शिक्षा सुधारमा सरोकारवालाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थी, शिक्षक, अभिभावकसहित अन्य सरोकारवालाको लगन, चाँसो र योगदानबाट सामुदायिक शिक्षा प्रणालीलाई ब्यवस्थित गर्न सकिने बताए ।

पहाडीले स्थानीय सरकारले पनि शिक्षामा लगानी बृद्धि गर्नुका साथै नियमित अनुगमन मूल्यांकन गरेर उचित मार्गदर्शन गर्नुपर्ने खाँचो औंल्याए । समयानुकुल शिक्षक ब्यवस्थापन, दरबन्दी मिलान, शिक्षक तालिम, अभिभावक सचेतीकरण अभियान, विद्यालयलाई प्रविधिमैत्री तथा बालमैत्री बनाउनुपर्ने कुरामा पहाडीले जोड दिए ।

अन्तरक्रियामा सहभागी भएका सबैजसो बक्ताहरुले आजको आधुनिक युगअनुसारको टिकाउ र बिकाउ शिक्षा दिन सक्नुपर्ने तर्क प्रस्तुत गरे । बक्ताहरुले शिक्षक राजनैतिक दलका कार्यकर्ता हुन नहुने र आफ्नो पेशागत मर्यादामा खरो उत्रन सक्नुपर्ने सुझाव दिए । शैक्षिक अभियन्ता तथा सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख दिपेन्द्र शर्मा लम्सालले शिक्षकले पूर्ण तयारीका साथ कक्षा कोठामा जाने हो भने मात्र विद्यालयमा शैक्षिक सुधारको सम्भावना हुने तर्क गरे ।

उनले शिक्षामा सुशासन हुन सकेन भने शैक्षिक अराजकता निम्तिने र त्यसले सिंगो समाजलाई नकारात्मक असर गर्ने भएकाले शिक्षक र विद्यालय परिवारले असल उदाहरण बनेर देखाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा महिला वडा सदस्य निर्मला नेपालीले जति नै प्रयास गरे पनि सामुदायिक शिक्षाको गुणस्तरसहितका सबै पक्षमा सुधार गर्न नसक्दा आफूहरुलाई लाज लाग्ने गरेको बताइन् । उनले अहिले पनि धेरै सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्याका आधारमा शिक्षकको ब्यवस्था नहुनु दुखद पक्ष भएकोले सम्बन्धित निकायले शिक्षक कम भएका विद्यालयहरुमा तुरुन्त शिक्षकको ब्यवस्था गर्न माग गरिन् । माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयमा पर्याप्त स्रोत साधन नहुँदा सोचेजस्तो शैक्षिक प्रगति गर्न ब्यवधान खडा हुने गरेको दाबी गरे ।

उनले विद्यालयमा आवश्यक शिक्षक संख्या नहुँदा प्रधानाध्यापकले चाहेर मात्र सुधार हुन नसक्ने अनुभव सुनाए । सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तथा स्थानीय समाजसेवी डिल्ली प्रसाद भुसालले स्थानीयहरुको योगदानबाट चलिरहेका सामुदायिक विद्यालयहरुलाई अब स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको बताए ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेका स्थानीय युवा समाजसेवी तथा माझीगाउँ आधारभूत विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डोलनाथ भुसालले शिक्षालाई राजनैतिक हस्तक्षेप र आग्रह पूर्वाग्रहबाट टाढै राखेर ब्यवहार गर्नुपर्ने बताए । उनले सामुदायिक विद्यालयको वास्तविक सुधार चाहने हो भने स्थानीय सरकार, शिक्षा हेर्ने अधिकारी, समुदाय, अभिभावक र शिक्षक समुदाय पूर्ण इमान्दारिताका साथ हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक समुदाय र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive