शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

‘जागिर कुरेर होईन, आफैले लगानी गरेर सफल बन्न सकिन्छ’ : यूवा संघ पर्वत संयोजक बाँनिया

माघ १, २०७८
पर्वत : नेकपा एमाले को जनवर्गी संगठन यूवा संघ नेपालको केन्द्रिय सचिवालय बैठकबाट पर्वत जिल्लाको संयोजकमा सुनिल थापा बाँनिया चयन भएका छन्। नेकपा एमाले जिल्ला कमिटी पर्वतको सदस्य समेत रहेका बाँनिया बिशेषतः यूवा माझ लोकप्रिय नेता हुन्। सफल व्यवसायी समेत रहेको बाँनियासँग न्यूज दृष्टिले यूवा संघको जिल्ला संयोजक भएको सन्दर्भमा कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

एमालेको राजनीतिमा यूवा संघको भूमिकालाई थप बलियो कसरी बनाउनुहुन्छ?
यूवाहरुलाई राष्ट्रिय यूवा संघको बारेमा जानकारी गराएर सकेसम्म धेरैलाई संगठनमा आउन अभिप्रेरणा प्रदान गर्नु नै बलियो बनाउने पहिलो तरीका हो भन्ने लाग्छ। यूवा शक्ति नै सबैभन्दा बलियो शक्ति हो, यही कारण यूवाको माझमा जाने र यूवाहरुलाई एकीकृत गर्ने प्रयासमा म हुने छु। यूवाहरु यूवा संघमा आउनुपर्ने किन? भन्ने कुरा सबैको माझमा राखेर नै यूवाहरुको नेतृत्व गर्ने छु। देश निर्माणका लागि यूवाहरुलाई कसरी प्रयोग गर्न सकिन्छ? भन्ने बारेमा पनि बुझ्न र बुझाउन आवश्यक छ। उनीहरुको भूमिकाको बारेमा पनि थप चेतना फैलाउन आवश्यक देखेको छु। पर्वतमा यूवाहरुलाई पार्टीको काम सहित सामाजिक काममा लगाउने बारेमा पनि कामहरु गर्नुपर्ने छ। यूवा संघमा यूवा किन आवद्ध हुनुपर्छ? भन्ने कुरा बुझाउन धेरै आवश्यक छ।

तर यूवाहरु त नेताहरुले प्रयोग गर्ने औजार बनेका छन् नी त? उनीहरुलाई व्यवसायिक नबनाउने?
होईन होईन नेताहरुको प्रयोगमा पुगेर मात्रै यूवाहरुको प्रगति कहिल्यै पनि हुँदैन्। राजनीति नराम्रो कुरा होईन नी, हाम्रो देशको सन्दर्भमा नेताहरुको कारण यसको अर्थ नराम्रो बन्न पुगेको होला। मेरो विचारमा यूवाहरु सक्षम बन्न, स्वावलम्बी बन्न आफूलाई व्यवसायिक बनाउँदै राजनीतिमा पनि सक्रिय भएको हुनुपर्दछ। आन्दोलनको बेलामा ढुङ्गा प्रहार गरेर मात्रै मान्छे राजनीतिक व्यक्तित्व बन्दैन्। देशको हक र हितको लागि मर्न पनि तयार हुनुपर्छ तर कोही व्यक्तिको फाइदाको लागि समय खेर फाल्नुले राजनीतिक उचाई कहिल्यै पनि प्राप्त हुँदैन्। परेको बेलामा ढुङ्गा प्रहार गरेर मात्रै नेता भईँदैन्। त्यसो गरियो भने त तपाईँले भनेको जस्तै नेताका औजार बनिन्छ। सामाजिक रुपमा सक्रिय, सहयोगी, विचार गर्ने, चिन्तनशीलताले मात्रै यूवालाई बलियो बनाउँछ। त्यो गर्नका लागि यूवा संघले गर्न सक्ने काम के हुन सक्छन्, त्यसको पक्षमा म छँदै छु। राजनीतिमा लागेर मात्रै खान पुग्दैन, त्यसैले पनि यूवाहरु पेसागत रुपमा बलियो हुनुपर्छ।

बेरोजगारीको समस्याले दैनिक सयौँ जना बाहिरिएको बेलामा उनीहरुलाई यहीँ अवसर खोज्न यूवा संघले देशैभरीबाट अभियान थाल्न सक्दैन?
सरकारमा हामी भएर होस वा नभएर होस त्यसले खासै अर्थ राख्दैन्। किनकि यूवाहरुले के दिन्छ र खाउँला होईन की आफ्नै मिहिनेतले गर्न सकिने उत्पादनमा विश्वास राख्नुपर्छ भन्ने मान्यतामा यूवा संघ छ। तर त्यसमा देशको नीतिले भने असर गरेको हुन्छ। देशले बोकेको उद्धेश्यले यो कुरा छुने भएकाले मैले म भन्दा माथिल्लो कमिटी भनौँ वा निकाय त्यसमा तल्लो तहमा गर्न सकिने कुराहरुको बारेमा जानकारी गराउन सक्छु। ग्रास रुट लेवलमा हामीले प्रत्यक्ष रुपमा भोगीरहेका कुराहरु नीतिगत तहमा रहेकाहरुलाई थाहा नहुन सक्छ। यही कारण यूवाहरुको आवश्यकता र मागको विषयमा माथिल्लो तहमा खबरदारी गर्ने जिम्मेवारी मेरो पनि हो। रोजगारीको लागि सयौँ यूवाहरु बाहिरिएको बेलामा यो राज्यले उनीहरुलाई अड्याउन सक्ने गरी पूर्वाधार, उद्योग, लगायतका कुराको विकास गर्न सकिरहेको छैन्। अर्को कुरा हामी जागिर खाने मानसिकतामा मात्रै अड्किएका छौँ भन्दा पनि फरक नपर्ला। यूवाहरुले पनि अरुले जागिर देला भनेर पर्खेर बस्ने होईन की, सहासका साथ आफूले आँटेर अरुलाई जागिर दिन सक्ने बन्न सक्नुपर्छ। तब मात्रै यहाँको यूवा शक्ति पलायनको अवस्थामा कमी आउन सक्ला। मैले यूवा संघको तर्फबाट पार्टीमा के कुरा राख्नुपर्ने हो त्यो गर्नका लागि म तयार छु।

तर समाचारमा त नागरिकता लिने भन्दा राहदानी लिनेको सङ्ख्या बढी पनि हुने गरेको सुनिन्छ त?
यसमा एउटा पार्टीको जनवर्गीय सङ्गठनको चिन्ताले मात्रै समस्या समाधान हुनै सक्दैन्। मैले अघि पनि भने राज्यले त्यस्तो खालको नीति बनाउनुपर्छ जसले यूवाहरुलाई वैदेशिक रोजगारीबाट विकर्षण गर्न सकोस। श्रम र सीपयुक्त जनशक्ति उर्जावान समय बाहिर खर्च गरेर परनिर्भर हुने बेलामा देशमा आएर राज्यका लागि दिन सक्ने योगदान के नै पो हुन सक्ला र? यही कारण सरकारले यो बारेमा गम्भीरतापूर्वक सोच्नै पर्छ। त्यसका लागि सरकारलाई खबरदारी गर्नको लागि यूवा संघले आफ्नो तर्फबाट के गर्नुपर्छ, त्यो गर्न तयार छ। देशमा रोजगारीको अवसरका लागि निजी लगानी मात्रै सरकारले कुर्नु हुँदैन्। सम्भावनाका ठाउँमा सरकार नै लगानी गरेर व्यवसायिक प्रतिष्ठानहरु सञ्चालन गर्न सकिन्छ नि त। जलविद्युतदेखि उद्योगसम्म सरकारले खोल्नुपर्छ, त्यहाँ यूवाहरु परिचालन गरिनुपर्छ।

अन्त्यमा, तपाईँ एक सफल यूवा व्यवसायी भएका नाताले समग्र यूवाहरुलाई के सुझाव दिनुहुन्छ?
म केही न केही गर्छु भन्ने अठोट यूवाहरुमा हुनुपर्छ। हरेक कुरामा अरुको आस गरेर हुँदैन्। सकेसम्म पुँजीको परिचालन गरेर आफैले लगानी गरेर केही गर्ने प्रयास थालेमा त्यहीँबाट प्रगतिको पाइला सुरु हुन्छ। किनभने जहाँ आफ्नो लगानी रहेको हुन्छ, त्यहाँ माया बढी हुन्छ। तर अरुको लगानी रहेकोमा काम गर्दा आफूले लगानी गरेको ठाउँमा जस्तो उर्जा उत्पादन नहुन सक्छ। यस कारण पनि लगानीको महत्व रहेको छ भन्ने मलाई लाग्छ। यूवाले आफ्नो क्षमता के हो? भन्ने कुराको पहिचान गरेर त्यही क्ष्मतामा निखारता ल्याउनु पनि अर्को महत्वपूर्ण कुरा हो। क्षमता एकातिर काम अर्कोतिर भयो भने त्यसबाट सफलता प्राप्त हुन सक्दैन्। लगानी ठूलो चाहिन्छ भन्ने हुँदैन। आजको सानो लगानस्ी क्रमिक रुपमा बढ्दै गएर व्यवसाय ठूलो हुने हो। पर्वतकै यूवाहरुको सन्दर्भमा कुरा गर्ने हो भने त यहाँ पर्यटकीय सम्भावनाका क्षेत्रहरुको पहिचान गरेर त्यसमा पनि लगानी अवसर देखिन्छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive