बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

मिलन पुस्तकालयले पाल्पाको सुरुमडाँडामा ल्याएको परिवर्तन

माघ ३, २०७८

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको मिलन फाउन्डेसनले सहयोग गरेका ठाउँ र सङ्ख्या त गणनामा छैनन्। गरिब, दुःखी, असाह्य, अपाङ्गता भएका, सामाजिक समस्या भोगेकादेखि विद्यालयमा अध्ययनरत विद्यार्थीसम्मले पनि फाउन्डेसनले आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ।

पर्वतको मोदी गाउँपालिका स्थित बाजुङ घर भएका दुर्गा गुरुङ ‘मिलन’ हाल हङकङमा बस्दै आएका छन्। उनैले स्थापना गरेको फाउन्डेसनमार्फत गृह जिल्ला पर्वत सहितका बाहिरी जिल्लाहरुमा पनि विभिन्न सहयोगका कार्यक्रमहरु चलिरहेका छन्। संस्थाको संरक्षकका रुपमा रहेका गुरुङले सबैभन्दा बढी सहयोग भने विद्यालय क्षेत्रमा गर्दै आएका छन्, त्यसमा पनि सामुदायिक विद्यालयहरु प्राथमिकतामा राखिएका छन्।

सहयोगमध्येको पनि फरक काम भने पाल्पाको रम्भा गाउँपालिका–२ सुरुमडाँडामा रहेको महेन्द्र आधारभूत विद्यालयमा गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर बृद्घि गर्नको लागि सक्रिय संस्थापक स्वर्गीय बल सि सिजालीका नातीनी देउकी सिंजाली (दिपिका) को पहलमा २०६९ सालमा पुस्तकालयको स्थापना गरिएको हो। पुस्तकालयमा मिलन फाउण्डेसन, देउकी सिंजाली (दिपिका), पत्रकार रुद्र शिरिष मगर, हेफर ईन्टरनेशनल नेपाल (संकल्प) सहित पछिल्लो पटक गत मङ्सिरमा फाउण्डेसनका संस्थापक गुरुङबाट समेत गरी करिब १२ सय पुस्तकहरु राखिएका छन्। पुस्तकालयमा बालगीत, चुट्किला, बालकथा, कविता, सामान्य ज्ञान, खेलकुद, विभिन्न मातृभाषाका पुस्तक, निवन्ध सहित पाठ्यपुस्तकलाई सघाउने नेपाली तथा अङ्ग्रेजी व्याकरण सम्बन्धि पुस्तक सहितका सामग्रीहरु राखिएका छन्।

पुस्तकालयको सुधारका लागि फाउण्डेसनका संस्थापक गुरुङले नै १० हजार रुपैयाँको मिलन पुस्तकालय अक्षयकोष स्थापना गरेका छन्। साथै विद्यालय सेवा क्षेत्रभित्रका वैदेशिक रोजगारीमा आवद्ध युवाहरुले आर्थिक सहयोगका साथै पुस्तकहरु समेत उपलब्ध गराई पुस्तकालयको व्यवस्थापन गर्ने गरिएको विद्यालयका प्राधानाध्यापक नारायण मश्राङ्गीले बताए। ‘पुस्तकालयलाई अझै ठूलो आकारमा विस्तार गर्नको लागि सेवा क्षेत्रभित्रका व्यक्तिहरुले पुस्तकालयको अक्षयकोषमा रकम थप गर्दै जाने योजना राखिएको छ। दुर्गा जी स्वयंले पनि केही समयपछि अक्षयकोषमा रकम थप गर्ने योजना रहेको सुनाउनुभएको छ,’ उनले भने, ‘यस विद्यालयमा फाउण्डेसनले पुस्तकालय मात्रै होईन त्यस बाहेक विद्यार्थी र शिक्षकका लागि सुईटर, टोपी, ट्राउजर, टिसर्ट, ट्रयाकसुट सहित विद्यालयका लागि कम्प्युटर, प्रिन्टर, यूरोगार्ड सहित फर्निचरहरु पनि सहयोग गर्नुभएको छ।’

प्राधानाध्यापक मश्राङ्गीले पुस्तकालयको स्थापना गरिएपछि त्यसयता विद्यार्थीहरुमा पठन सीपको विकास भएको, पाठ्यपुस्तक पढ्ने तथा पढाउने क्रममा आएका समस्याहरुको समाधानमा सजिलो भएको, विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उठाउन बल मिलेको, किताबी ज्ञान बाहेकका बाहिरी ज्ञानको सिको गर्नका लागि विद्यार्थीहरुलाई सजिलो भएको, विद्यालयप्रति अभिभावकहरुको विश्वास झनै बढेको लगायतका फाइदा भएको बताए। पुस्तकालयको आजिवन सदस्यता लिनेहरुको सङ्ख्या बढ्दै जानुका साथै फुर्सद भएको बेलामा अभिभावकहरु नै उपस्थित भएर पुस्तकालयमा अध्ययन गरेर बस्ने गरेकाले पुस्तकालयले विद्यार्थीलाई मात्र नभई समुदायलाई सहयोग पुगेको उनको भनाई छ।

फाउण्डेसनका संस्थापक गुरुङले सामाजिक कार्यमा गरेको लगानीले आफूलाई आत्मसन्तुष्टि मिल्ने गरेको बताउँदै जति ठाउँमा सहयोग गरिएका छन ती सबै आफ्नै कमाईको लगानी भएको जानकारी दिए। हरेक व्यक्तिले केही न केही हदमा सामाजिक सेवाको कार्यमा लगानी गरेमा सामाजिक परिवर्तन सम्भव हुने र सधैँ सरकारको मुख ताकेर बस्ने परम्पराले व्यक्ति र समाजलाई झनै कमजोर पार्ने उनको भनाई छ। आफूले विभिन्न जिल्लामा सहयोग गर्दै आएको बताउँदै उनले आफ्नो जीवनको उद्धेश्य पनि यही नै रहेको बताए। ‘मान्छे जन्मिएपछि सामाजिक क्षेत्रमा केही न केही योगदान दिएको हुनुपर्छ भन्ने मेरो मान्यता हो। मैले सहयोगको नाममा कसैबाट एक रुपैयाँ पनि लिएको छैन, जति पनि सहयोगहरु गर्न सकिरहेको छु त्यो मेरो आफ्नै कमाईबट गरिरहेको छु,’ उनले भने, ‘समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दा कति आनन्द लाग्छ। त्यो सन्तुष्टि खोजेर पाउने कुरा होईन। मैले बढी सहयोग विद्यालय क्षेत्रमा गर्दै आएको छु। शैक्षिक क्षेत्र बलियो बन्यो भने देशलाई समृद्ध बनाउन सकिन्छ।’

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive