सरिता पौडेल
माघ २१, २०७८
पर्वत : बिहीबार रातीदेखि भएको वर्षाका कारण अत्यधिक चिसो हुँदा पर्वतका उच्च स्थानहरूमा भारी हिमपात भएको छ । समुन्द्री सतहबाट झन्डै तीन हजार मिटरको उचाइमा रहेका लेकफाँट, जलजला, शालिजा, फलामे डाँडा, पञ्चासे, डहरे देउराली, चिसापानी, लोप्रे, हम्पाल, भूक, डहरे देउराली, लगायतका स्थानमा हिमपात भएको हो ।
यससँगै पर्वतमा तेस्रो पटक हिमपात भएको हो । सामान्य वर्षा र पातलो खालको हिमपातले लगाइएका अन्नबालीमा सिँचाई भएको भन्दै कृषकहरू हौसिएका छन् । धेरै बाक्लो परेको हिउँले खेतीलाई असर गर्ने भए पनि सामान्य खालको हिमपात पग्लिँदा बिरुवालाई चाहिने पानीको मात्रा पूरा हुने भएकोले अहिलेको सामान्य वर्षा र हिमपात कृषकहरूको लागि उपयुक्त रहेको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताइन् ।
‘हिमपात र वर्षाका कारण कृषकहरू लाभान्वित हुनुभएको छ । उच्च पहाडी क्षेत्रमा लगाइएको नगदे बाली तथा फलफूलहरूको लागि सिँचाई पुगेको छ । यो बेलामा लगाइएका मुख्य गरी गहुँ, जौ र आलुका लागि राम्रो भएको छ,’ उनले भनिन्, ‘लामो समयसम्म वर्षा नभएका कारण सिँचाईको अभावमा बिरुवाको फोटो सिन्थेसिस प्रक्रियामा समस्या भएको थियो । अब बिरुवाले खाना तयार गर्न सक्छ ।’ तर बाक्लो हिमपात भएर केही दिन हिमपात रहने ठाउँमा लगाइएको बालीनालीमा भने क्षति हुने कृषि विकास अधिकृत थापाको भनाई छ । हिउँले बिरुवालाई ढाकेर राख्दा बिरुवाले प्रकाश र अक्सिजन नपाउँदा खाना तयार नहुने भएकाले बिरुवा मर्ने वा ठिम्रिएर रहने अवस्था आउने उनको भनाई छ ।
तर यस वर्ष लामो समयसम्म मौसम नखुलेका कारण लगातार हुस्सु लागिरहँदा बढी चिसो भएकोले आलु खेतीमा भने डढुवा रोगको समस्या देखा परेको छ । बिरुवालाई आवश्यक पर्ने तापक्रमको अभावमा चिसोकै कारण डढुवा देखिएकोमा बिहीबार रातीको वर्षा र हिमपातले आलुमा झनै क्षति पुग्न सक्ने पनि कृषि विकास अधिकृत थापाको भनाई छ ।
पर्वतका उच्च स्थानमा हिमपात
माघ २१, २०७८
