माघ २३, २०७८
पर्वत : शल्यक्रियामार्फत पेटबाट बच्चा निकाल्नको लागि बेनी अस्पताल म्याग्दीको ‘अप्रेसन थिएटर’ मा लगिएकी एक महिलाको ‘थिएटर’ बाट निकालेर पर्वत अस्पतालमा ल्याई शल्यक्रिया गरिएको छ ।
पर्वतका अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट घर भएकी २१ वर्षिया तोरन पटेलको शुक्रवार राती आपतकालिन अवस्थामा सफल शल्यक्रिया गरिएको हो ।
तोरनका श्रीमान् ताराप्रसाद रसाइलीका अनुसार २४ घण्टादेखि सुत्केरी ब्याथाले च्यापेपछि तोरनलाई शुक्रवार साँझ नै बेनी अस्पतालमा शल्यक्रियाको तयारी थालिएको थियो । शल्यक्रियाका लागि सबै तयारी पूरा भएपछि उनलाई ‘अप्रेसन थिएटर’ मा लगियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरू शल्यक्रियाको अन्तिम तयारी गर्दै थिए । तर दुर्भाग्य ‘अप्रेसन थिएटर’ मा बिरामीको घाउमा ‘फोकस’ दिएर बल्ने विद्युत् परिपथमा समस्या आयो । बत्तीकै कारण तोरनको शल्यक्रिया गर्न सक्ने अवस्था रहेन ।
‘ अप्रेसन गर्ने भनेर उनलाई भित्र अप्रेसन कोठामा लैजानुभएको थियो । तर पावर सट भएर हो की के भएर हो बत्ती नै बलेनछ । धेरै प्रयास गर्दा पनि बत्ती बलेन,’ उनले भने, ‘त्यहाँका डक्टरहरुले बागलुङ र पर्वतका डक्टरहरुसँग कुरा गरेर तोरनलाई तुरुन्तै पर्वत लिएर गएर अप्रेशन गर्ने भनेपछि यहाँ ल्याएर राती नै अप्रेशन गरियो ।’
शल्यक्रियाको नेतृत्व गरेका पर्वतका अस्पतालका एमडिजिपी डा. डिबी क्षेत्रीका अनुसार म्याग्दीका चिकित्सक तथा अस्पताल प्रशासनले बागलुङ लगेर शल्यक्रिया गराउन चाँजोपाँजो मिलाउन खोजेको भए पनि धौलागिरी अस्पताल बागलुङमा शय्या भरिएका कारण पर्वतमा शल्यक्रिया गराउन सुझाव मिलेपछि बेनी अस्पतालले तोरनको शल्यक्रियाको लागि पर्वत अस्पताल पठाएको हो ।
‘बिद्युत् मर्मत गरेर शल्यक्रिया गर्ने भनेर म्याग्दीको प्राविधिक टिम एक घण्टासम्म लड्दा पनि नबनेपछि बागलुङमा सम्पर्क भएको रहेछ । त्यहाँ प्याक भएपछि हामीकहाँ पठाउनुभयो र हामीले राती नै सफल शल्यक्रिया गरेका छौँ,’ डा. क्षेत्रीले भने, ‘आमालाई पछिल्लो २४ घण्टादेखि व्यथाले च्यापेको रहेछ । बच्चाको मुटुको धड्कन तीव्र बन्दै बन्दै गएको अवस्था रहेका कारण जतिसक्दो चाँडो शल्यक्रिया गर्नुपर्ने अवस्था थियो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
पर्वतका अस्पतालका सूचना अधिकारी उपाध्यायले म्याग्दी र पर्वतमा कार्यरत चिकित्सकहरूको आपसी सञ्चार र मैत्रीपूर्ण वातावरणका कारण बिरामीले जटिल अवस्थाको सामना गर्नु नपरेको बताउँछन् । केही दिनदेखि परिरहेको लगातारको झरीका कारण पर्वत अस्पतालको ‘अपरेसन थिएटर’ मा प्रयोग गरिने कपडाहरू समेत निर्मलीकरण गर्न नपाएको अवस्थामा त्यस्ता ‘एप्रोन’ समेत बेनी अस्पतालले बिरामीसँगै पठाएर थप मानवीयता देखाएको उनको भनाई छ । ‘कस्तो संयोग म्याग्दीमा बत्ती बिग्रियो । लगातारको झरीका कारण घाम नलाग्दा यहाँ मसिनमा पकाएर निर्मलीकरण गरेका कपडाहरू सुकिसकेका थिएनन् । थिएटरमा हामीले लगाउने एप्रोन नै नभएको अवस्था थियो,’ उनले भने, ‘दुई जिल्लाबिचको उपयुक्त सञ्चारका कारण शल्यक्रिया गर्दा लगाउने एप्रोन समेत बेनी पठाइदियो, हामीले अप्रेसन सक्यौँ ।’
अस्पतालको सेवाको बारेमा चासो राख्दा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पताललाई केही वर्ष अगाडिसम्म ‘रिफर सेन्टर’ को रूपमा धेरैले हेर्ने गरेको भए पनि अहिले भने कर्मचारी, प्रशासन र व्यवस्थापन सबैको बलमा अस्पतालको सेवामा धेरै स्तरोन्नति भएको बताए । फरक जिल्ला र फरक चिकित्सकबिच हुने आपसी सहकार्यले बिरामीको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने पनि उनको भनाई छ ।
‘पर्वत अस्पताललाई धेरैले रिफर सेन्टरको रूपमा बुझेका थिए पहिले । तर अहिले यहाँको सेवा र सुविधामा धेरै फरक आएको छ । यो अस्पतालले बिरामी अन्यत्र पठाउने होइन की बाहिरका बिरामी समेत लिन्छ,’ उनले भने, ‘अहिले १५ शय्यामा रहेको अस्पताल करिब एक महिनापछि नयाँ भवनमा सर्दै छ । त्यसपछि ५० शय्यामा स्तोरन्नती भएपछि यहाँको स्वास्थ्य सेवा अझै प्रभावकारी हुने छ ।’
बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025