बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

जनतामा अस्पतालकोे विश्वास बढाउन डा.क्षेत्रीको यस्तो प्रयास

माघ २७, २०७८
पर्वत : केही वर्ष अगाडिसम्म पर्वत अस्पताललाई रिफर सेन्टरको उपमा नागरिकले नै दिने गरेका थिए । सामान्य हात भाँचिएका देखि केही बढी प्रयोगशालाका काम गर्न पनि धौ धौ पर्ने गरेको थियो । त्यो अवस्थाको पर्वत अस्पताल समयसँगै परिवर्तन भयो । भाँचिएको हातलाई समेत बाहिर पठाउन पर्ने अवस्थामा रहेको अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुने गरेका छन् ।
सामान्य खर्चमै जिल्लाभित्रै शल्यक्रिया पाउँदै गएपछि पछिल्लो समयमा बाहिरी जिल्लाका बिरामीहरु समेत पर्वत अस्पतालमा आउन थालेका छन् । सामान्य तरीकाले सुत्केरी हुन नसकेमा तुरुन्तै शल्यक्रियामार्फत बच्चा निकाल्न सक्ने भएपछि जिल्लाबासीको आकर्षणको केन्द्रका रुपमा पर्वत अस्पताल रहेको छ । नागरिकले अस्पतालमा विश्वास राखेकै कारण अहिले दैनिक करिब डेढ सय भन्दा बढी बिरामीहरु त बहिरङ्ग सेवामै आउने गरेका छन् ।
यही विश्वासलाई जनताको माझमा लोकप्रिय राख्ने काम गरेका छन अस्पतालमा कार्यरत एमडिजिपी डा. डि.वी. क्षेत्रीले । उनी आफैले पर्वत अस्पतालमा शल्यक्रिया गरेर धेरै बच्चा निकालेका छन् । नागरिकले विश्वास गरेको ठाउँलाई नै प्राथमिकतामा राख्दै डा. क्षेत्रीले आफ्नै श्रीमतीको शल्यक्रिया आफैले पर्वत अस्पतालमा नै गरेर नागरिकले गरेको विश्वासलाई प्रमाणित गरेका छन् । सामान्यतयाः चिकित्सकहरुले विकसित शहरका र चलेका चिकित्सकहरुको साथमै पुगेर आफ्नो परिवारका सदस्यको उपचार गराउन सक्ने हैसियत राख्छन् । तर डा. क्षेत्रीले आफ्नै घरको केसमा पनि बाहिर नरोजी पर्वत अस्पतालमा नै श्रीमतीको शल्यक्रिया गरेर बच्चा निकालेका छन् ।
‘डा. साव आफैले म्याडमको शल्यक्रिया गर्नुभयो । यदि उहाँले बाहिर लगेर शल्यक्रिया गरेको आफूले राम्रो ठाउँको सुबिधा लिने तर नागरिकलाई पर्वत अस्पतालमा आउ भन्ने लगायतका कुराहरु हुन सक्थ्यो । आम नागरिकले जस्तो सेवा लिएका छन आफूले पनि त्यही सेवा रुचाउनुभयो,’ अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्याय भन्छन्, ‘यसले अस्पतालप्रति नागरिकको विश्वासको अवस्थालाई झनै बलियो पारेको छ । अब झनै ढुक्कका साथ बिरामीहरु आउनुहुन्छ भन्ने विश्वास हामीलाई लागेको छ ।’
आम नागरिकलाई अस्पतालले सकेसम्मको गुणस्तर सेवा दिइरहेको र चिकित्सक स्वयंले स्वयंलाई विश्वास नगरेसम्म सेवा प्रभावकारी भएको नदेखिने भएकाले पनि आफूले पर्वत अस्पतालमा नै श्रीमतीको शल्यक्रिया गरेको डा. क्षेत्री बताउँछन् । अरु बिरामीको शल्यक्रिया पर्वतमा नै गरेर आप्mनो केसलाई सुबिधाजनक ठाउँको खोजी गर्नु राम्रो नहुने उनको भनाई छ। ‘यदि अप्ठ्यारो वा बाहिर जानै पर्ने खालको अवस्था रहेको भए त जानै पर्ने थियो होला । तर बाहिर लैजान नपर्ने अवस्थामा त आफूलाई आफैले विश्वास गर्नुपर्छ,’ डा. क्षेत्रीले भने, ‘अस्पतालको विश्वास र सेवालाई जनताको माझमा लैजाने मेरो यो एउटा प्रयास हो । अस्पतालको कमजोरी देखिएमा सबैले सुझाव दिनुपर्छ । तर माया पनि यसैलाई गर्नुपर्छ ।’
डा. क्षेत्रीकी श्रीमती सीमा क्षेत्री पनि पर्वत अस्पतालमै कार्यरत नर्स हुन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive