माघ २८, २०७८
पर्वत : म्याग्दी र पर्वतका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको लागि पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
संघीय सरकार अन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम पर्वतमा सम्पन्न भएको हो । अघिल्लो आर्थिक वर्षदेखि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा रहेको म्याग्दी र चालु आर्थिक वर्षबाट कार्यक्रम लागू हुँदै गरेको पर्वत जिल्लालाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी गण्डकी प्रदेश संयोजक पवित्रा सापकोटाले बताईन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको संघीय मामिला महाशाखाका प्रमुख सहसचिव बसन्त अधिकारी, मन्त्रालयका उपसचिव रेशम कँडेल र पोषण विज्ञ शेरसिँह दहितले सहजीकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै उनीहरुले बालबालिकाको सवै पक्षकको समानुपातिक विकास गर्नको लागि सुनौला हजार दिन निकै महत्वपूर्ण हुने र त्यसपछि पाँच वर्षको उमेरसम्मको अवस्था प्रभावकारी रहने भएकोले त्यो उमेरमा बालबालिकाहरुको स्वास्थ्यमा विशेष ध्यान दिन अनुरोध गरिएको थियो । गर्भाधान भएको दिनदेखि हजार दिनसम्ममा ८० प्रतिशत र पाँच वर्षसम्ममा ९० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यही समयमा उनीहरुलाई आवश्यक पोषणको मात्रा पूरा गरिएको हुनुपर्ने उनीहरुको सुझाव छ । यस्तै ९५ प्रतिशत क्रोनिक रोगहरु खानाका कारणबाट सुरु हुने भएकाले खाना नै व्यक्तिलाई रोगी बनाउने तत्व भएकाले खानपानको कुरामा विशेष ध्यान दिन र त्यसका लागि स्थानीय तहहरुले विशेष जोड गर्ने खालका कार्यक्रमहरु ल्याउनु आवश्यक भएको औँल्याइएको थियो ।
बालबालिकाको स्वास्थ्यमा समस्या आउन नदीन विद्यालयमा खाइने खाजा, अस्पतालमा प्रदान गरिने खाना, खाद्य सुरक्षा र सुरक्षित खानेपानीमा विशेष जोड दिनुपर्ने आवश्यकता रहेको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा शिक्षक दुर्गादत्त भुसाल, जलजला गाउँपालिकाका सामाजिक विकाश शाखाका कर्मचारी लिलाधर सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजु सुनार, म्याग्दीको मंगला गाउँपालिकाका अधिकृत राजेन्द्र आचार्य लगायतले सहजकर्ता सामु जिज्ञासा र सुझाव राखेका थिए ।
कार्यक्रम समापनमा म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल, पर्वतको पैयूँ गाउँपालिकाका प्रमुख खगेन्द्र प्रसाद तिवारी, जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र बहादुर के.सी र जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी. पौडेलले भनाई राखेका थिए
पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङका अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रममा अन्तर्गत पर्वतका कुश्मा नगरपालिका र फलेवास नगरपालिकाले समान छ लाख ७० हजार रुपैयाँ तथा जलजला गाउँपालिका, पैयूँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र बिहादी गाउँपालिकाले समान छ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्याग्दीको बेनी नगरपालिकाले आठ लाख रुपैयाँ र बाँकी रहेका मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका र मालिका गाउँपालिकाले समान सात लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी मन्त्रालयले दिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।
बहुक्षेत्रीय पोषण कार्यक्रम देशका ७७ जिल्लामध्ये ७४ ओटा जिल्लाका सात सय २० ओटा स्थानीय तहमा कार्यान्वयन गरिएको छ । कास्की, चितवन, काठमाडौँ, भक्तपुर र ललितपुरमा भने यो कार्यक्रम लागू गरिएको छैन् । लागू गरिएका जिल्लाहरुलाई पनि पूर्ण र आंशिक गरी दुई भागमा बाँडिएको छ । जसमा पूर्ण कार्यक्रम ३७ जिल्लामा लागू भएको छ भने आंशिक कार्यक्रम ३५ जिल्लामा रहेका छन् ।
मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024