शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024

पर्वतको मोदीका सुत्केरीलाई गाउँपालिकाको थप भत्ता

माघ २९, २०७८
पर्वत : अझै पनि बाल विवाहका कारण २० वर्ष भन्दा सानो उमेरमै आमा बन्नेहरूको कमी छैन । पहिलेको तुलनामा बाल विवाह र बाल मातृ दरमा धेरै न्यूनीकरण भएको भए पनि यदाकदा २० वर्षभन्दा सानो उमेरमा नै आमा बनेकाहरू भेटिने गरेका छन् ।
२० वर्षभन्दा सानो उमेरमा हुने विवाह र आमा बन्ने क्रमलाई शून्यमा झार्नको लागि पर्वतको मोदी गाउँपालिकाले भने ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रममा २० वर्ष उमेर पूरा भएपछि बच्चा जन्माएका आमा र उनीहरूका बच्चाको पोषणको अवस्थामा सुधार ल्याउनको लागि गाउँपालिकाले प्रति आमा २५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।
भत्ता पाउनको लागि उमेरको मापदण्ड सहित कुनै पनि सरकारी जागिर नभएको, नियमित रूपमा चार पटक गर्भ जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने नियम राखिएको छ । यसो गर्नाले आर्थिक अवस्था कमजोर भएका आमाहरूको पोषणको अवस्थामा सुधार गर्न सकिने, सुत्केरीको क्रममा आमा र बच्चाको ज्यान जोखिममा नपर्ने लगायतका फाइदा हुने भएकाले मापदण्ड पूरा गरेका आमाहरूलाई मात्रै भत्ता दिने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री बताउँछन् ।
‘२५ सय रुपैयाँ पाउनको लागि २० वर्ष उमेर पार गरेको, नियमित रूपमा चार पटकसम्म गर्भको जाँच गरेको, सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माएर जन्म प्रमाणपत्र लिएको र कुनै प्रकारको सरकारी सेवामा नरहेको व्यक्ति भएमा भत्ता दिइन्छ,’ उनले भने, ‘यसो गर्दा भत्ताका लागि २० वर्षपछि आमा विवाह गर्ने र आमा बन्ने, सरकारी सेवामा नरहेकालाई भत्ता दिँदा आर्थिक समस्यामा रहेकाले रकम पाउने, नियमित गर्भ परीक्षण गरेको हुनुपर्नाले आमा र बच्चाको डेलिभरी टाइम जोखिमलाई कम गर्दा मातृ–शिशु मृत्युदरमा कमी आउने हुन्छ ।’ ‘दुई सन्तान ईश्वरका वरदान’ भन्ने भनाइलाई आधार मानेर दुई भन्दा बढी सन्तान जन्माएको अवस्थामा भने यो कार्यक्रमले आमाहरूलाई सम्बोधन नगर्ने प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ ।
यो कार्यक्रमको सुरुवात भएको दुई वर्षको अवधिमा गाउँपालिकाभित्रका आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन केही सहज भएको गाउँपालिकाकी उपाध्यक्ष सेती महत बताउँछिन् । अघिल्लो आर्थिक वर्षमा ७० जना आमाहरूलाई २५ सयका दरले एक लाख ७५ हजार रुपैयाँ बाँडिएको बताउँदै उनले चालु आर्थिक वर्षको हालसम्म एक सय २१ जनालाई तीन लाख रुपैयाँ बाँडिएको जानकारी दिइन । गाउँपालिकाले राखेका सर्तहरू पूरा गर्नेहरूको क्रम बढेका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष यो भत्ता पाउनेहरूको सङ्ख्या पनि बढेको उपाध्यक्ष महतको भनाई छ ।
‘अघिल्लो आर्थिक वर्षमा ७० जनालाई भत्ता दिइएकोमा चालु आर्थिक वर्षको माघसम्म एक सय २१ पुगेका छन् । कार्यक्रम लागू भएको पहिलो वर्षमा हामीले तोकेका मापदण्ड पूरा नगर्दा आमा बनेर पनि भत्ता नपाएकाहरू थिए,’ उनले भनिन, ‘अहिले बिस्तारै हामीले राखेका मापदण्डहरू पूरा गरेर आउनेहरूको क्रम बढेसँगै भत्ता पाउनेहरूको सङ्ख्या पनि बढ्दै गएको हो । यसले यहाँका आमाहरूको स्वास्थ्यमा सुधार आएको हामीले महसुस गरेका छौँ ।’ उपाध्यक्ष महतका अनुसार आठ ओटा वडाहरू रहेको मोदी गाउँपालिकाका पाँच ओटा वडाहरूमा बर्थिङ सेन्टर स्थापना गरिएका कारण पनि गाउँमा नै बच्चा जन्माउन सहज भएको छ । गाउँमा बर्थिङ सेन्टर नहुँदा आर्थिक अवस्था बलियो भएकाहरू बजारका अस्पतालमा गएर बच्चा जन्माउने गरेको भए पनि आर्थिक अवस्था कमजोर भएकाहरूले घरमा नै बच्चा जन्माउने गरेका थिए । जसले आमा र बच्चाको मृत्यु जोखिम बढाएको थियो । तर गाउँमा नै बर्थिङ सेन्टर बनेपछि भने त्यो अवस्थाको अन्त्य भएको उपाध्यक्ष महत बताउँछिन् ।
गाउँपालिकाको कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघसम्म भुकका छ जना, देउपुरका १२ जना, देउरालीका १४ जना, क्याङका १६ जना, बाजुङका २१ जना, तिलहारका १६ जना, राम्जाका २० जना र चित्रेका १६ जना आमाहरूलाई भत्ता उपलब्ध गराइसकिएको छ ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive