बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

१५ बाट ५० शय्या क्षमताको भवनमा सर्दै पर्वत अस्पतालको सेवा

चैत्र २३, २०७८

चैत २३, २०७८
पर्वत : १५ शय्या क्षमताबाट सेवा दिँदै आएको पर्वत अस्पतालले ५० शय्या क्षमताको भवनबाट सेवा दिने भएको छ ।
अस्पतालमा बन्ने ए, बी, सी, डी र ई ब्लकका भवनमध्ये ए, बी र सी को निर्माण कार्य पूरा भएको तथा यही बेलामा बिरामीहरूको चाप बढेका कारण बिरामीको अवस्थालाई हेरेर तत्काल नै नयाँ भवनमा सेवा सार्ने गरी तयारी भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।
‘पर्वत अस्पतालमा बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्था छ । अस्पतालले प्रदान गर्ने सेवामा नागरिकको विश्वास बढेसँगै हामीलाई शय्याको अभाव भएपछि काम पूरा भएका भवनमा केही सेवालाई सार्ने तयारी गरेका छौँ,’ अध्यक्ष गिरीले भने, ‘अहिले सुरुमा मुख्य भवनमा ओपिडी सेवा सार्ने तथा भर्ना भएर बस्नुपर्ने बिरामीहरूलाई पनि नयाँ भवनमा नै राखेर भर्ना गर्ने तयारी गरिएको छ ।’
अहिलेको ओपिडी सेवा प्रदान भइरहेको भवनसँगै जोडिएको वार्डमा बिरामी भरिएपछि कोभिड–१९ को लागि आइसोलेसनका रूपमा प्रयोग गरिएको पुरानो भण्डारण कक्षमा समेत शय्याहरू राखेर बिरामी भर्ना गरिएको छ। अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने कामलाई प्रभावकारी रूपमा सञ्चालन गरेका कारण यसअघि पोखरा जाने क्रम रोकिएर पर्वत अस्पतालमा नै आउनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । अहिलेको ओपिडीसँग जोडिएको भवनमा सुत्केरी गरिएका तथा अन्य शल्यक्रिया गरिएका बिरामीहरू पूर्ण क्षमतामा राख्दा पनि शय्याको अभावका कारण नयाँ भवनलाई तत्काल नै प्रयोगमा ल्याउन थालिएको अध्यक्ष गिरीले बताए । उनका अनुसार आइसोलेसनका रूपमा प्रयोग गरिएको भवनमा १२ शय्या राखेर सञ्चालन गर्दा समेत शय्या अभाव भएपछि नयाँ बनेको भवनमा शय्या र अन्य सुविधा जडानको काम चलिरहेको छ ।
अस्पतालले भवन प्रयोग गर्नुपर्ने भएपछि निर्माण पूरा भएका ए, बी र सी ब्लक भवनलाई निर्माणको काम गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले हस्तान्तरण पनि गरिसकेको छ । नयाँ बनेको भवनबाट ओपिडी र भर्ना भएका बिरामीहरूलाई राख्ने काम हुने भए पनि अपरेसन थिएटर भने तत्कालै नयाँ भवनमा सर्ने छैन । नयाँ भवनमा अपरेसन थिएटरका लागि तयारी हुँदै गरेको भए पनि त्यो पूरा नहुँदासम्म पुरानै अपरेसन थिएटरबाट सेवा सञ्चालन हुने छन् । अहिलेको अपरेसन थिएटरको दूरी पोस्ट अपरेटिभ वार्ड र प्रयोगशालासँग टाढा हुँदा शल्यक्रिया गरिएका बिरामीहरूलाई धरै डुलाउँदा समस्या हुने भएका कारण शल्यक्रिया कक्ष र शल्यक्रिया गरिएका बिरामीहरूलाई भने तत्कालै नयाँ भवनमा नसारिने छैन ।
‘निर्माणको काम पूरा भएका भवन हस्तान्तरण भइसकेका छन् । नयाँ भवनमा शय्या र वार्ड मिलाउने काम गरिरहेका छौँ ।,’ अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायले भने, ‘नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीहरूको चाप झनै बढ्ने छ । लिफ्टको सुविधा सहित अपाङ्गता तथा बिरामी मैत्री भवन बनेका कारण हरेक प्रकारका बिरामीको लागि उपयुक्त हुने तथा लायन्स र अन्य सङ्घसंस्थाबाट सहयोग स्वरूप आएका शय्याहरू पनि फोल्डीङ रहेका कारण पनि सेवा झनै राम्रो बन्ने छ ।’
ए, बी, सी, डी र ई ब्लकका भवनमध्ये ए, बी र सी को काम पूरा भएको भए पनि डी र ई को काम भने निर्माणकै अवस्थामा रहेको छ । डी र इ ब्लकका भवन बन्दै गरेको ठाउँको जमिन भासिएर भवन नै जोखिममा परेपछि भवनका माथिल्ला तला निर्माणको काम रोकेर भुईँ तलामा नै निर्माण गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive