बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

मध्यमोदी जलविद्युत्‌को काम अन्तिम चरणमा

चैत्र २९, २०७८

पर्वत : मोदी खोलामा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा आइपुगेको छ। पावर हाउस निर्माण, पेनस्टक पाइप जडानको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

 

 

करिब तीन अर्ब रूपैयाँको लगानीमा निर्माण भइरहेको आयोजना निर्माणको काम २०७१ सालको मंसिरमा सुरु गरिएको थियो। निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि लक्ष्यभन्दा चार वर्षपछाडि धकेलिएको हो।

आयोजना प्रमुख प्रताप खरेलका अनुसार पावर हाउसदेखि मोदी–लेखनाथ सबस्टेसनसम्म विद्युत् लैजान चाहिने आठमध्ये पाँचवटा टावर निर्माण गरिसकिएको छ। बाँकी तीनवटा टावर सामुदायिक वनमा पर्ने भएकाले रुख कटान गरी टावर निर्माणका लागि गरिएको प्रस्ताव वन मन्त्रालयबाट विभाग हुँदै संसदमा पुगेकाले त्यहाँबाट निर्णय हुँनसाथ काम सुरु गर्ने उनको भनाइ छ।

ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ। तीनवटा टावर निर्माणबाहेक अन्य काम सकिएका कारण झन्डै ९५ प्रतिशत काम पूरा भएको भन्न सकिने आयोजना प्रमुख खरेलले बताए। बाहिरको काम अन्तर्गत टावर निर्माणको काम बाँकी रहे पनि भित्री कामअन्तर्गत सुरुङ निर्माण तथा त्यसमा गर्नुपर्ने कंक्रिटिङको काम पूरा भइसकेको छ।

यस्तै, पावर हाउस निर्माण र पेनस्टक (पानी पठाउने) पाइप जडानको काम पनि अन्तिम चरणमा पुगेकाले करिब तीन महिनाभित्रमा आयोजनाले उत्पादन दिन सक्ने आयोजनाका जनसम्पर्क अधिकारी देवीप्रसाद पौडेलले बताए।

‘हिउँदमा मोदी खोलामा बग्ने पानीको बहाव घटेका कारण पनि निर्माणमा सजिलो भएको छ। पानी कम हुँदा उपकरणहरू जोड्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘आयोजनामा अहिले पनि झन्डै ९५ जना कामदारले एकै पटकमा काम गरिरहेका छन्। यही रफ्तारमा काम हुने हो भने असारसम्ममा उत्पादन सकिन्छ जस्तो लाग्छ।’

दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजना निर्माण चौधरी ग्रुपले गरेको हो। २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए। तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको थियो। २०७२ सालमा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिरोको पनि उस्तै सामना गर्नुपरेको थियो। तर‚ पछिल्लो आठ महिनायता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको छ।

जनसम्पर्क अधिकारी पौडेलका अनुसार मुआब्जा, सडकले ओगट्ने क्षेत्र, सुरुङ निर्माण जस्ता कामहरूमा प्रभावित क्षेत्रका बासिन्दाहरूले पटक पटक अवरोध र आन्दोलन गर्दै आएका थिए। मोदी गाउँपालिकाका भूक, मख, कल्लेनी, ओख्ले, ठाना, सिमखेत लगायतका ठाउँहरू आयोजनाका प्रभावित क्षेत्र हुन्। स्थानीय बासिन्दाका मागको सम्बोधन गर्दै प्रभावित क्षेत्रमा आयोजनाले विद्यालय, खानेपानी, सामुदायिक भवनलगायतका पूर्वाधारका लागि पनि सहयोग गरेको छ। यस्तै, मोदी गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा २५ लाख र मोदी गाउँपालिका–६ तिलाहारको वडा कार्यालय भवन निर्माणमा १५ लाख रुपैयाँ आयोजनाले नै दिएको छ। यीबाहेक प्रभावित क्षेत्रका पूर्वाधार निर्माण तथा मानवीय विकासमा समेत आयोजनाले निरन्तर सहयोग गरेका कारण मानवीय अवरोध मत्थर हुँदै आएको हो।

पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बिरेठाँटीमा रहेको छ। त्यो चमा निर्माण गरिएको २३ सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइने छ। निर्माण सुरु गर्ने बेलामा १५.१ मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ। यससँगै सुरुमा अनुमान गरिएको जस्तो दुई अर्ब ८० लाखमा आयोजनाको काम पूरा नहुने भएको छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive