बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

पाठशाला चलाएर कृषकलाई टमाटर खेतीमा प्रोत्साहन

असार ८, २०७९
पर्वत : जिल्लाको फलेवास नगरपालिका –१० कुर्घाकी गङ्गादेवी चपाई टमाटर खेती गर्न मन लागेको धेरै भयो। तर त्यसका लागि आवश्यक प्राविधिक ज्ञान नभएका कारण उनले व्यावसायिक रूपमा टमाटर खेती गर्न सकिनन्। अब भने गङ्गादेवीले शत्रुजीवको व्यवस्थापनदेखि मित्रुजीवको संरक्षण, विषादीको प्रयोग, स्वस्थ बाली उत्पादन लगायतका बारेमा ज्ञान पाएर टमाटर खेती गर्दै छिन्।
उनी जस्तै कुर्घाका अन्य धेरै कृषकहरूले पनि प्लास्टिक घरमा टमाटर उत्पादन गर्ने व्यावसायिक कृषक बन्ने सोचमा छन्। मानवीय स्वास्थ्यलाई समेत ख्याल गरेर सकेसम्म विषादीको प्रयोग बिना नै टमाटर उत्पादन गरेर आत्मनिर्भर बन्ने योजनामा रहेको कृषकहरूको भनाई छ। उनीहरूलाई व्यावसायिक कृषक बनाउने प्रोत्साहन भने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले सञ्चालन गरेको पाठशालाले दिएको हो। कृषकहरूलाई व्यावसायिक उत्पादनमा जोडेर स्वस्थ बाली उत्पादन गर्न सिकाउने उद्देश्यले केन्द्रले १६ हप्तासम्म पाठशाला नै राखेर प्रशिक्षण चलायो। एकीकृत शत्रु जीव व्यवस्थापन (आइ.पी.एम) पाठशालामा सहभागी भएका गाउँका करिब ३० जना कृषकहरूलाई टमाटर खेतीमा व्यावसायिक रूपमा लागेर आर्थिक रूपमा बलियो बनाउनको लागि आफूहरूले प्रयास गरेको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा बताउँछिन्।
‘किराका कारण करिब १० प्रतिशत बाली नष्ट भएको हुन्छ त्यसले कृषकहरूलाई घाटा हुन्छ। आइ.पी.एम तालिममा विषादीको अति कम प्रयोगबाटै शत्रुजीको व्यवस्थापन गर्न सिकाइएको छ। १६ हप्तामा धेरै कुरा उहाँहरूले सिक्नुभयो,’ उनले भनिन्, ‘पाठशालामा सिकाई तथा अनुभवहरूलाई आदानप्रदान गर्ने, स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण, विषादीको कम प्रयोग, पर्यावरण सन्तुलन लगायतका बारेमा प्रशिक्षण दिइएको छ।’
फलेवास नगरपालिकाकी उपप्रमुख तथा कृषक शोभा क्षेत्रीले गाउँका कृषकहरू सुन्तला खेती, मह उत्पादन, कागती खेती, तरकारी खेती, बाख्रा पालन लगायतका कृषि कार्यमा लागेको भए पनि टमाटर  खेतीमा भने नरहेको बताउँछिन्। तर पाठशालामा टमाटर खेतीको उत्पादन, खानामा टमाटरको प्रयोग, नगद कारोबार र बजारको माग लगायतको बारेमा जानकारी गराइएपछि पाठशालामा पुगेका धेरैले प्लास्टिक टनेलमा खेती गर्ने सोच बनाएको उनको भनाई छ। ‘हामीहरूले अरू तरकारी त उत्पादन गरेर बजारमा पठाउने गरेका छौँ, तर व्यावसायिक रूपमा टमाटर खेती गरिएको थिएन। यो पाठशालामा टमाटरले आर्थिक रूपमा कसरी बलियो बनाउँछ भन्ने कुरा सिकिएको छ,’ उनले भनिन्, ‘अब यहाँका धेरै कृषकहरूले टनेलमा टमाटर फलाउनुहुनेछ। यी बाहेकका अन्य उत्पादन र व्यवसायका लागि पनि सहकारीमार्फत उहाँहरूलाई अगाडि बढाइयो भने बजार व्यवस्थापनको समस्या पनि रहने छैन।’
कुर्घालाई कृषि उत्पादनका हिसाबले नमुना गाउँको रूपमा लिने गरिन्छ। उर्वर भूमि रहेकाले रोपिएका अधिकांश बालीको उत्पादन राम्रो हुने भएकाले कृषकहरू कृषि उपजबाट नै आत्मनिर्भर बनिरहेका छन्। मौसममा प्रति किलो टमाटरको मूल्य ६० रुपैयाँसम्ममा आउने भए पनि प्लास्टिक घरमा बेमौसमी रूपमा उत्पादन गर्दा १२० रुपैयाँसम्म पर्ने गरेको छ। गाउँबाट दूध, मह, तरकारी लगायतका उत्पादनहरु पोखरा निर्यात गर्दै आएका कुर्घाबासीहरुले अब टमाटरबाट पनि राम्रो आम्दानी लिन सक्ने छन्।
जिल्लाका अन्यत्र ठाउँमा पनि टमाटर खेती हुने गरेको भए पनि कुर्घामा लगाइने टमाटरमा सकेसम्म विषादीको प्रयोग नै नगर्ने भएका कारण पनि मानवीय स्वास्थ्यको लागि राम्रो हुने कृषि प्राविधिकहरूको भनाई छ। रोग र किराको व्यवस्थापनको लागि कृषक स्तरबाट जथाभाबी रूपमा विषादीको प्रयोग बढेकोले त्यसको न्यूनीकरणको लागि मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र र कुर्घामा रहेको हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा पाठशाला सञ्चालन भएको कृषि प्राविधिक कामना न्यौपाने बताउँछिन्।
‘कृषकहरूले परम्परागत रूपमा गर्दै आएको खेती प्रणाली र कृषि प्राबिधिकद्धारा सिफारिस गरिएका उन्नत तथा आधुनिक प्रविधिका खेती प्रणालीबिच लागतमा, व्यवस्थापकीय पाटोमा, उत्पादनमा र आर्थिक लाभमा भएको भिन्नताको बारेमा पनि उहाँहरूलाई सिकाइएको छ,’ उनले भनिन्, ‘कृषकहरूबिचकै अनुभव साटासाट गर्दै स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण, वातावरणीय सन्तुलनका बारेमा जनचेतना प्रसारण लगायतका कुरामा पनि पाठशालामा जानकारी दिइएको छ।’
बाली संरक्षणका विभिन्न उपायमध्ये इन्टीग्रेटेड पेस्ट म्यानेजमेन्ट (आई.पी.एम) लाई महत्त्वपूर्ण विधिको रूपमा लिने गरिन्छ। यस विधिमा बाली बिरुवाका शत्रुहरूलाई आर्थिक रूपले न्यायोचित पर्यावरणीय दृष्टिकोणले दिगो तथा सामाजिक रूपले स्वीकार्य तवरबाट व्यवस्थापन गरिने कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीले बताए। कुनै बेला दक्षिण एसियामा उल्लेख्य मानिएको नेपालको कृषि उत्पादन अहिले विश्वकै न्यून अवस्थामा पुगेको छ। दिगो विकासको लागि वातावरण एवं समानुकुल प्रविधि, रासायनिक मल र विषादीको समुचित प्रयोग तथा सही विकल्पको खाँचो नै विद्यमान न्यूनतम उत्पादकत्व र वातावरण प्रदूषण यसको कारणको रूपमा लिन सकिने रेग्मीको भनाई छ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive