शनि, असार ७, २०८२
Sat, June 21, 2025

दोबिल्लाको मोटरेवल पुलको भ्वाङ टाल्न आएन बजेट

असार २४, २०७९

पर्वत : जिल्लाको दक्षिणी क्षेत्रलाई मध्यपहाडी लोकमार्ग र सदरमुकाम कुश्मा बजारसँग जोड्ने गरी कुश्मा नगरपालिका–८ दोबिल्ला स्थित मोदी खोलामा रहेको मोटरेवल पुल हो।

जिल्लाका सातमध्ये मोदी र काली पारी रहेका चार स्थानीय तहलाई मोदी–काली वारिका तीन वटासँग सिधा जोड्ने काम यही पुलको हो। एक दशकअघि पुल त बन्यो तर त्यसको मर्मत सम्भार कसले गर्ने भन्ने अन्योल छ।

जिल्लाको दक्षिणमा रहेका साबिकका ३४ ओटा गाविसमा आउजाउ गर्ने सवारीको चाप धान्ने गरेको पुलमा जडान गरिएका पाता टुट्ने र भाँचिने गरेका छन्। दैनिक सयौँ सवारीको चाप धानिरहेको पुलले मर्मत सम्भार नपाउँदा धेरै पटक सवारीसाधन पुलको खाडलमा फस्ने गरेका छन्।

जिल्लामा सबैभन्दा बढी भार बहन गरिरहेको पुलको लागि कुनै तहका सरकारले पनि बजेट भने तोक्न सकेनन्। एक दिन मात्रै पनि पुलबाट सवारी आउजाउ गर्न नपाउने हो भने दक्षिणी क्षेत्रका धेरै क्षेत्र ठप्प बन्नेबारेमा अवगत हुँदा हुँदै पनि स्थानीय, प्रदेश र संघीय सरकारको रोजाइमा पुल पर्न सकेन। सामान बोकेर गुडिरहेका ट्रकदेखि सरकारी कार्यालयका गाडी समेत पुलमा अड्किएका छन्।

जोखिम मोलेरै भए पनि सवारीहरू गुडिरहेको देख्दा पनि प्रदेश सरकारले पुलका बजेट विनियोजन गरे। सामान्य टुक्रे योजनामा समेत पैसा दिन लागेको प्रदेशले दैनिक सयौँ जनाको ज्यान जोखिममा परिरहेको देख्दा पनि बजेट विनियोजन नगर्दा सोही पुलबाट यात्रा गर्नेहरू आक्रोशित छन्।

‘यो पुलमा जिल्लाका हाकिमका गाडी पनि फसेका छन्। उनीहरूले त निकाले गए तर तर बजेट कसैले ल्याउन सकेनन्। पुलमा गाडीको टायर नै पुरै छिर्छ, अहिले जसोतसो अड्याएर काम चलाइएको छ,’ स्थानीय व्यवसायी समेत रहेका चित्रसागर श्रेष्ठले भने, ‘१० वर्ष अगाडि बनेको पुलमा कसैले लगानी गर्दैन। यसको आयु हरेक दिन सकिँदै जान थालेको छ। यस्तो अवस्थाको पुलमा पनि प्रदेश सरकारले बजेट दिएन।’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल गत पुसमा काँग्रेस पर्वतका नेता तथा समाज सुधारका अभियन्ता स्व.डिल्लीराम लामिछानेको छैटौँ स्मृति सभाको सन्दर्भ पारेर ‘डिल्लीराम लामिछाने स्मृति भवन’ निर्माणको शिलान्यास कार्यक्रममा सहभागी हुन त्यही पुल तरेर पुगेका थिए। मुख्यमन्त्रीसहित उनका अगाडिपछाडि गुडेका गाडी पुलमा नफसेका कारण मुख्यमन्त्रीले पुलको अवस्थाको बारेमा थाहा नपाएको हुन सक्ने स्थानीयवासी बताउँछन्।

तर मुख्यमन्त्री पोखरेललाई भेटेर पुलको लागि आवश्यक बजेटबारेमा कुराकानी गर्दा उनले तत्कालै सम्बन्धित  निकायमा फोन गरेर पुलको लागि बजेट व्यवस्थापन गर्न भनेका थिए। मुख्यमन्त्रीले पुलको मर्मतमा खुबै चासो देखाएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा बटुलेको भए पनि पुलले बजेट नपाउँदा उनको आलोचना भइरहेको छ।

पूर्वाधार विकास कार्यालय पर्वतले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘आर्थिक वर्ष २०७९\८० को गण्डकी प्रदेश, पर्वत जिल्लाको बजेटमा दोबिल्लाको मोदी खोलाको पुल मर्मत गर्न बजेट विनियोजोन नभएको देखेर अचम्म लाग्यो। माथिल्लो निकायबाट कार्यालयलाई तुरुन्त काम गर्नुपर्छ भन्ने किन नगरेको पनि भन्ने तर बजेट नदिने। विपद् व्यवस्थापन समितिले पुलमा दुर्घटना भएमा कार्यालय प्रमुख जिम्मेवारी हुने निर्णय गर्ने। बजेट माग्यो नदिने। यसरी जिल्लामा बसेर कसरी कार्य गर्न सक्नु?’

२०० मिटर लम्बाइको पुलको भारवहन क्षमता १५ टन मात्रै भए पनि ठुला सवारी साधन निस्फिक्री गुड्ने गरेका छन्। डोजर, लोडर बालुवा, गिटी बोकेका टिपर लगायतका बढी भारवहन क्षमता भएका सवारी साधन यहीँबाट तार्ने गर्दा पुल झनै जोखिमपूर्ण बन्दै गएको छ। अहिले पुलमा राखिएका धातुका पाता कसेका नट बोल्टहरु खुस्किएका छन्, धातुका पाताहरू उक्किएका छन्, नट बोल्ट र पातामा नै खिया लागेको छ।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive