मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

श्रीमतीको स्मृतिमा रामबहादुरले पर्वत अस्पतालमा गरे आर्थिक सहयोग

असार २६, २०७९
पर्वत : आफ्नी श्रीमतीको मृत्यु भएको तिथि पारेर पर्वतका एक व्यक्तिले पर्वत अस्पतालमा आर्थिक सहयोग गरेका छन् ।
जिल्लाको मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल कुश्मा नगरपालिका–६ मा बस्दै आएको राम बहादुर थापाले आफ्नी श्रीमती शान्ता कुमारी थापाको मृत्यु भएको तेस्रो पुण्य तिथिको अवसर पारेर थप १० हजार रुपैयाँ सहयोग गरेका हुन् । यस अगाडि पनि उनले अस्पतालको अक्षयकोषमा २१ हजार १११ रुपैयाँ सहयोग गरेकोमा अहिलेको थप सहयोग सहित कुल ३१ हजार १११ रुपैयाँ सहयोग गरेका हुन् ।
उच्च रक्तचापको पीडा भोग्दै आएकी शान्ताको मिर्गौलासमेत फेल भएपछि उपचारकै क्रममा ३ वर्ष अघि असार २६ मा उपचारको क्रममा छाउनी अस्पताल काठमाडौँमा मृत्यु भएको थियो । काठमाडौँमा शान्ताको डायलिसिस चलिरहेका बेलामा उनले गृह जिल्ला पर्वतको पर्वत अस्पतालमा मिर्गौलाको डायलिसिस सुरु गर्न लागिएको कुरा समाचारबाट थाहा पाए। श्रीमतीको मिर्गौलाको डायलिसिस पर्वत अस्पतालमा नै गराउन पाउनेमा खुसी भए ।
२०७७ साउन २५ मा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्वत अस्पतालमा निःशुल्क डायलिसिस सेवाको उद्घाटन गरे । तर शान्ताको असारमा नै मृत्यु भयो । आफ्नी श्रीमतीको डायलिसिस जिल्लामा नै गराउन नपाए पनि जिल्लाका अरू बिरामीले भने जिल्लामा नै सेवा पाउन सकुन्, डायलिसिसकै लागि पोखरा र काठमाडौँ जान बाध्य भएकाहरूले सुलभ र सहज सेवा पाउन सकुन् भनेर नै थोरै भए पनि सहयोग गरेको थापाले बताए ।
‘जति उपचार गर्दा पनि शान्तालाई कम भएन, काठमाडौँमा प्राण गयो । सामान्य आर्थिक अवस्थाको मान्छेलाई डायलिसिसका लागि बाहिर लाँदा घरबासै हिँड्ने अवस्था छ । तर जिल्लाको अस्पतालले निःशुल्क डायलिसिस गराइरहेको छ । यो हामी सबैका लागि कति खुसीको कुरा हो’, रामबहादुरले भने, ‘श्रीमती मिर्गौलाकै कारण गुमाउनुपरेपछि उनकै सम्झनामा थोरै भए पनि रकम सहयोग गरेको हुँ । यहाँका बिरामीले डायलिसिस पाउँदा स्वर्गमा उनको मन हलुङ्गो होस् ।’
रामबहादुरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीलाई भेटेर सहयोग रकम बुझाएका हुन् । रकम लिँदै अध्यक्ष गिरीले पर्वत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेका कारण अब पहिलेको भन्दा झनै सहज तरिकाले व्यवस्थित रूपमा उपचारको सेवा दिइरहेको बताए । अस्पतालमा रहेको डायलिसिस सेवा सञ्चालनको लागि आवश्यक जनशक्ति नहुँदा पनि कायम रहेका कर्मचारीहरूले धेरै समय दिएर भए पनि सेवा दिइएको उनको भनाई छ । पर्वत अस्पतालमा एक वर्षको अवधिमा करिब ३० जना सेवाग्राहीले डायलिसिसको सेवा निरन्तर रूपमा लिँदै आएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive