असार ३०, २०७९
पर्वत : शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको आयोजनामा जिल्लाका ३५ जना शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण तालिम प्रदान गरिएको छ।
अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक बिषयका शिक्षकहरुमध्ये एउटा स्थानीय तहबाट पाँच जनाका दरले सात ओटा स्थानीय तहका ३५ जनालाई जिल्ला प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको ईकाइ प्रमुख रामेश्वर लामिछानेले बताए। विषयगत रुपमा जिल्ला स्तरीय प्रशिक्षक बनाउने गरि दिइएको प्रशिक्षणपछि ती शिक्षकहरुले अब स्थानीय तहमा पुगेर दुई ओटासम्म समूह निर्माण गरेर पाठ्यक्रम प्रबोधिकरण प्रशिक्षण चलाउनुपर्ने छ।
त्यसका लागि जिल्लाभरका प्राथमिक तहका शिक्षकहरुलाई १२ समूहमा विभाजन गरेर प्रशिक्षण दिने तयारी छ। निम्न माध्यमिक तहमा कार्यरत शिक्षकहरुको लागि पैयूँ गाउँपालिका र कुश्मा नगरपालिका तोकिएको छ भने माध्यमिक तहमा कार्यरत शिक्षकहरुको लागि कुश्मा र फलेवास नगरपालिका तोकिएको छ।
बुधबारदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम बिहीबार सकिएको हो। सो अवसरमा बोल्दै कुश्मा नगरपालिकाको शिक्षा शाखा प्रमख बिष्णुप्रसाद तिवारीले अहिले पाठ्यक्रम परिवर्तन गरिएका कक्षा ४, ७ र ९ का विषयबस्तुमा भएका संशोधनको बारेमा प्रशिक्षकहरुले स्थानीय तहमा प्रभावकारी तरिकाले प्रशिक्षण दिन सुझाव दिए। पाठ्यक्रम नै शिक्षाको मेरुदण्ड भएकाले पाठ्यक्रममा अस्पष्टता भएमा सिकाई उपलब्धिमा नै असर पर्ने तथा राज्यले लिएको लक्ष्य नै पूरा नहुने बताए। पर्वतका सात ओटै स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको प्रशिक्षणमा पाठ्यक्रममा रहेका अस्पष्टता, पाठ्यक्रममा भएको संशोधन, विषयत रुपमा देखा परेका समस्या लागायतको बारेमा पनि छलफल गरिएको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले बताए।
इकाई प्रमुख लामिछानेले तालिममा सिकेका कुराहरुलाई कक्षाकोठा तथा साथी समूहकोबिचमा प्रभावकारी तरिकाले प्रयोग नगरिँदा सोचेको जस्तो उपलब्धिहरु प्राप्त हुन नसकेको बताए। जिल्ला प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका ३५ जना शिक्षकहरुलाई सम्बन्धित स्थानीय तहको शिक्षा शाखाले पनि आवश्यक समन्वय गर्ने भएकाले प्रशिक्षणलाई प्रभावकारी बनाउन अनुरोध गरे। कार्यक्रममा प्रशिक्षकको तर्फबाट जीवनाथ शर्मा र डिल्ली प्रसाद शर्मा तथा सहभागीको तर्फबाट कुमार उपाध्याय र दुर्गी क्षेत्रीले बोलेका थिए। समापन कार्यक्रमको सञ्चालन कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदीले गरेका थिए। पाठ्यक्रम विकास केन्द्रले छलफलका लागि उपलब्ध गराएका बिषयबस्तुमा आधिारित रहेर छलफल गरिएको अधिकृत सुवेदीको भनाई छ।