मङ्लबार, अशोज १५, २०८१
Tuesday, October 1, 2024

पर्वत ट्राफिकद्धारा नारायण मा.वि. मा सडक सुरक्षा प्रशिक्षण

साउन १८, २०७९
पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा सडक सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यार्थीहरु विद्यालय आउने जाने क्रममा सडकको धेरै प्रयोग गर्ने तथा उनीहरुका माध्यमबाट सडक सुरक्षा सम्बन्धी जानकारीहरु समुदायमा लैजान पनि सजिलो हुने भएकोले विद्यालयका करिब ७० जना विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए।
प्रशिक्षणका क्रममा ट्राफि, ट्राफिक प्रहरी र यसको आवश्यकता, सवारी दुर्घटनाका कारणहरु, ट्राफिक सङ्केत चिन्हहरु तथा सडक रेखाहरु, सवारी नियम तथा सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षीत तरिकाहरु, सवारी नियम उल्ल्घंन र सजाय सम्बन्धी कानुनी ज्ञानका बारेमा जानकारी दिनुका साथै सहभागी विद्यार्थी र ट्राफिक प्रहरीबिच अन्तरक्रिया पनि गरिएको थियो।


प्रशिक्षणमा सहजीकरण गर्दै प्रहरी नायव निरीक्षक निउरेले ट्राफिक नियमहरु उल्लघंन गरेका कारण नै हरेक वर्ष धेरै मानिसहरुको ज्यान दुर्घटनामा परेर जाने गरेको बताए। प्रहरीले चाहेर मात्रै नियमहरुको कार्यान्वयन हुने भएकाले आम नागरिकले नै ट्राफिक प्रहरीको जस्तै भूमिका निर्वाह गर्नु आवश्कता रहेको निउरेको भनाई छ। सिमित सङ्ख्यामा रहेका प्रहरीले सबै भूगोलमा पुगेर ट्राफिक नियम उल्ल्घंन भए वा नभएको बारेमा हेरिरहन नसक्ने अवस्थामा सवारीमा चढ्ने नागरिकदेखि त्यसलाई सञ्चालन गर्ने चालक र व्यवसायीले नै नियमको पालना गर्नुपर्ने उनको भनाई छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले ट्राफिक नियम उल्लघंन तथा सवारी दुर्घटनामा पर्वत जिल्लाको अवस्थाका बारेमा ट्राफिक प्रहरीसँग छलफल गरेका थिए। आफूहरुको पाठ्यक्रममा पनि ट्राफिक नियमहरुको बारेमा अध्ययन गर्नुपर्ने विषयबस्तु रहेको र त्यसमा पनि ट्राफिक प्रहरीले नै विद्यालयमा आएर प्रशिक्षण दिँदा विषयबस्तु बुझाईमा सहज भएको उनीहरुले प्रतिक्रिया दिए।
प्रशिक्षण कार्यक्रममा नारायण माध्यमिक विद्यालयका प्राधानाध्यापक गोविन्दप्रसाद पोखरेल, शिक्षकहरु गोविन्द ढकाल, अमृत अधिकारी, शिशिर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका सहायक हवल्दार प्रकाश तिमिल्सिना लगायतको पनि सहभागिता रहेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लामा दुर्घट्नामा न्यनूनीकरण ल्याउन तथा ट्राफिक नियम उल्लघंन गर्ने व्यवहारलाई नियन्त्रणमा राख्न बिद्यालय, समुदाय, टोल लगायतका ठाउँमा पुगेर बेला बेलामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive