मङ्लबार, चैत्र ११, २०८१
Tuesday, March 25, 2025

समाजसेवी हमालले मर्मत गरिदिए धान खेतको सिँचाई कुलो

पर्वत : धान र तरकारी उत्पादनमा अब्बल मानिन्छ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा रहेको खेत । झण्डै दुई हजार मुरी भन्दा बढी धान उत्पादन हुने गरेको फर्सेको खेतका लागि लस्तीबाट लगिएको सिँचाई कुलो केही दिन अगाडि भएको वर्षाका कारण आएको बाढी र पहिरोले अवरुद्ध बन्यो । मुहानमा आएको पहिरोका कारण पानीको आपूर्ति बन्द हुँदा ठुलो क्षेत्रफलमा लगाइएको धान बाली जोखिममा परेको थियो ।
मुहान र कुलोमा भएको क्षतिका कारण सिँचाई अभावले धान खेती नै बिग्रिने भएपछि सामाजिक सेवा, व्यवसाय सहित नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय रहँदै आएका युवा नेता विप्लवजंग हमालले कुलो मर्मत गरिदिएर खेतमा सिँचाईलाई निरन्तरता दिएका छन् । लस्ती फर्से सिँचाई उपभोक्ता समितिमार्फत सञ्चालनमा रहेको कुलोमा ठुलो पहिरो आएका कारण मानवीय जनशक्तिले मर्मतको काम गर्न सक्ने अवस्था नभएपछि समाजसेवी हमालले आफ्नै एक्स्काभेटरको सहयोगमा धान खेतीमा सिँचाईलाई निरन्तरता दिएका हुन् ।
स्थानीय समाजसेवी तथा पूर्व गाविस उपाध्यक्ष हरेमबहादुर खत्रीले सिँचाईको अभावमा धान खेती नै नष्ट हुने अवस्था आएपछि हमाललाई सहयोगको लागि अनुरोध गरिएको बताए । ‘हामीले स्थानीय तहमा पनि भनेका थियौँ, तर कुलोमा पानी नआउँदा धान खेती नै सुक्ने अवस्थामा पुगेपछि हामीले उहाँलाई सहयोगका लागि अनुरोध गरेका हौँ,’ उनले भने, ‘कुलोको कारण त्यति धेरै क्षेत्रफलमा लगाइएको धान नष्ट हुने अवस्था देखेपछि उहाँले आफ्नै कम्पनीको एक्स्काभेटर लगेर एक दिनभर लगाएर कुलो मर्मत गरिदिनुभयो ।’
कृषकहरूले मर्मतको आँट गरेको भए पनि मसिनको सहयोगबिना मर्मत असम्भव रहेको ठुलो पहिरोमा मसिनको सहयातले सिँचाई कुलो पुनः सञ्चालनमा आएको छ । कुलो सुचारु भएसँगै अहिले लगाइएको धान र अब लगाइने तरकारी खेतीमा हुन सक्ने क्षतिको जोखिम टरेको उपभोक्ता समितिका अध्यक्ष खड्कबहादुर के.सी.ले बताए ।
ठुलो क्षेत्रफलमा लगाइएको धान बाली नै सिँचाई अभावमा जोखिममा परेपछि स्थानीय कृषकहरूको अनुरोध अनुसार आफूले पहिरो पन्छाएर कुलोमा पानी सुचारु गराइएको समाजसेवी हमाल बताउँछन् । धान खेती पछि गरिने तरकारी खेती म्याग्दी, बागलुङ, कुश्मा र मुस्ताङसम्म निर्यात हुने र त्यसैबाट दैनिकी चलाउने कृषकहरू लस्तीमा रहेकाले आफूले मसिन पठाएर पहिरो पन्छाएको उनको भनाई छ ।
‘सिँचाई हुन नपाएको भए त्यति धेरै क्षेत्रफलमा लगाएको धान बालीमा क्षति हुने थियो, त्यो त हुन दिनु भएन । यहाँका कृषकहरू कृषि कर्मबाट नै दैनिकी चलाउँदै आएको अवस्थामा सिँचाई नै बन्द भए पछि त गर्न सक्नुहुन्थ्यो होला?,’ हमालले भने, ‘समस्यामा रहेका कृषकहरूको समस्या समाधानका लागि मेरो सहयोगले काम हुन्छ भने किन नगर्नु? खेतीयोग्य जमिनलाई पानी विहीन बनाउन हुँदैन ।’
आगामी मङ्सिर चारमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सङ्घ वा प्रदेशमा सम्भावित उम्मेदवारका रूपमा पनि चर्चामा रहेका हमालले कोभिड–१९ महामारीको बेलामा देशका विभिन्न स्थानमा गरेको सक्रिय सहयोग स्वरूप सम्मान पनि पाएका थिए । अघिल्लो पटक प्रदेश ‘क’ को बलियो दाबेदारको उनलाई हेरिएको भए पनि अन्तिममा नवराज गुरुङले टिकट पाएका थिए ।
पछिल्लो समय देश भरी नै राजनीतिमा युवाको प्रवेश बढिरहेको अवस्था छ । पर्वतवासीले पनि हरेक राजनीतिक दलबाट युवाले नृतत्व गरिदिए हुन्थ्यो भन्ने अपेक्षा गरेका छन् । हमाललाई सम्भावित उम्मेदवारको रूपमा युवाहरूले हेरेको भए पनि हमालले भने यसबारेमा आफ्नो भनाई सार्वजनिक गरेका छैनन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive