पर्वत : शैक्षिक क्षेत्रका मुद्धाका बारेमा बहस तथा सवाल उठानको काम गर्दै आएको संस्था शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षामा रुपान्तरणका सवालका बारेमा छलफल भएको छ।
‘सार्वजनिक शिक्षामा रुपान्तरणका सवाल’ विषयमा भएका छलफल कार्यक्रमका वक्ताहरुले शिक्षाले व्यक्तिको चेतना र संस्कार परिवर्तनमा काम गर्न नसकेकोले व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताएका छन्। औपचारिक अध्ययनबाट उच्च तहसम्म पुगिसक्दा पनि व्यक्तिमा तुच्छ व्यवहारहरु कायमै रहनुलाई शिक्षाले रुपान्तरण गर्न नसकेको भन्न सकिने उनीहरुले बताएका छन्।
कार्यक्रममा भनाई राख्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले शिक्षामा क्षेत्रमा भइरहेको भौतिक संरचना निर्माणको कामले मात्रै शैक्षिक गुणस्तर कायम हुन नसक्ने भएकाले सबैले भौतिक निर्माणमा भन्दा शैक्षिक गुणस्तर कायम गर्नेमा ध्यान दिन सक्नु पर्ने बताईन। अहिले कायम रहेको पाको, प्रौढ र बालबालिका गरी तीनै तहको पुस्ताले चाहेमा मात्रै गुणस्तर कायम हुने भएकाले शैक्षिक क्षेत्रको सुधारको लागि सबैको बराबर सहयोग र शक्ति आवश्यक पर्ने उनको भनाई छ। शिक्षालाई व्यवहारिक बनाउनको लागि अबको शिक्षा प्रबिधि र प्रयोगमा आधारित हुनुपर्ने भन्दै उपप्रमुख रिजालले सकेसम्म एक शिक्षक एक ल्यापटप र नसके पनि कम्तीमा सीपवान र प्रयोग गर्न सक्ने शिक्षकलाई ल्यापटप दिएर शैक्षिक क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राखिन।
यस्तै नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले विद्यालहरुमा भौतिक निर्माणको काम पूरा भइसक्दा पनि गुणस्तर कायम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। शिक्षकमा आउनुपर्ने सुधारहरु समेत सुनाएका उनले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै निशुल्क रुपमा दिइएको भए पनि स्टेशनरी सामग्रीहरुको अभावमा धेरै बालबालिकाहरु समस्यामा रहेको उल्लेख गरे। कुश्मा नगरपालिकाले शैक्षिक क्षेत्रको सुधारको लागि सबैको सल्लाह लिएर सुझावकै आधारमा कार्यक्रमहरु सञ्चालन गर्ने उनको प्रतिबद्धता छ।
कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले नागरिकमा नै रुपान्तरण आउन नसकेका कारण शैक्षिक क्षेत्रमा आसा गरिएको रुपान्तरण प्राप्त हुन नसकेको धारणा राखे। नीजि विद्यालयहरुले अङ्ग्रेजी, गणित र विज्ञान विषयमा बढी जोड दिएका कारण नतिजा राम्रो आएको दावी गरेका उनले सामुदायिक विद्यालयले पनि तिनै विषयहरुमा विशेष जोड दिनुपर्ने उल्लेख गरे। नीजि विद्यालयमा कम योग्यता भएका शिक्षकहरुले अध्यापन गर्दा पनि नतिजा राम्रो आएको तर सामुदायिक विद्यालयमा सुबिधै सुबिधा हुँदा पनि विद्यार्थी फेल हुने गरेको उनको तर्क थियो। नागरिकले योजना माग्दा पनि शिक्षाको भन्दा बाटो निर्माण वा अरु कुनैमा मात्रै ध्यान दिने गरेको शर्माको भनाई छ।
कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरीले पनि आफूकहाँ योजना माग्न आउनेहरुमध्ये सबैजसोले टनेल, त्रिपाल, बाटो, कुलो लगायतको माग गरेको भए पनि आफ्नो समुदायमा रहेको विद्यालयको सुधारको लागि कसैले योजना नल्याएको बताए। शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर अवस्थामा पुग्न लाग्दा पनि कक्षागत रुपमा विद्यार्थीले सिकेको हुनुपर्ने भनेर निर्दिष्ट गरिएका कुराहरु नसिकेको आफूले अनुगमनका क्रममा पाएको पुरीको भनाई छ।
छलफलमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै शिक्षाक लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने भनिएको भए पनि कक्षा ११ र १२ का विद्यार्थीहरु आफैले किताब खरीद गर्ने र अन्य शुल्कहरु तिर्ने अवस्थामा रहेको बताए। नेपालको संबिधान सहित अन्य ऐन र नियमहरुमा पनि कुन तहको सरकारले के काम गर्ने? विद्यालयले के गर्ने? भन्ने जिम्मेवारी बाँडफाँड बाँडिएको भए पनि अलमलमा परेको बहानामा शैक्षिक अधिकार र व्यवस्थाहरु व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको पहाडीको भनाई छ। सार्वजनिक शिक्षा सबैको साझा विषय हुनुको साथै सबैको बराबर पहुँच र अधिकारमा हुनुपर्ने भए पनि शिक्षामा क्षेत्रमा भइरहेको नीजिकरणका कारण यो असम्भव बन्दै गएको उनको भनाई छ।
यस्तै कुश्मा नगरपालिका अन्तर्गत शिक्षा शाखाका अधिकृत अर्जुन पौडेलले प्राथमिक तहको नियुक्ति लिएको शिक्षकको भरमा माध्यमिक तहको विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए। शिक्षाको उद्धेश्य व्यवहारमा परिवर्तन ल्याउने भए पनि अहिलेको शिक्षाले कागजी मान्यतालाई चर्को भाउ दिएको तर व्यक्तिमा विकास गर्नुपर्ने चरित्र, मूल्य, संस्कार, भावना लगायतका कुरामा विकास हुन नसकेको भन्दै पौडेलले चिन्ता पनि व्यक्त गरे। शैक्षिक गुणस्तर र रुपान्तरणका लागि राजनीतिमा पनि सक्रिय रहँदै आएका शिक्षकहरुलाई त्यसबाट निरुत्साहित गरिनुपर्ने उनको धारणा छ। विद्यालयहरुले विद्यार्थीमा अनुशासन नै कायम गर्न नसकेमा ती विद्यार्थीहरुबाट उपलब्धिमूलक कामको अपेक्षा गर्न नसकिने पनि अधिकृत पौडेलको भनाई छ। अर्को प्रसङ्गमा उनले सामुदायिक विद्यालयमा कार्यरत प्राधानाध्यापकहरुले प्रा.वि, नि.मा.वि र मा.वि मा क्रमश दुई सय, तीन सय र पाँच सय रुपैयाँ मासिक भत्ता पाउने गरेको र निकै नै कम भएको भन्दै दुःख व्यक्त गरे।
कार्यक्रममा टिप्पणीकारको भूमिकामा रहेका नारायण माध्यमिक विद्यालय कुश्माका पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्माले शिक्षाले व्यक्तिलाई रुपान्तरण गर्न सकेको हुनुपर्ने बताए। रुपान्तरणका लागि शिक्षा र शिक्षाका लागि रुपान्तरण गरेर दुई वटै पाटाबाट शिक्षालाई बुझेर उद्धेश्य प्राप्तीमा सबैको ऐक्यबद्धता आवश्यक उनको भनाई छ। कुनै परीक्षाको नतिजामा लागू पदार्थको बेफाईदाका बारेमा लेखेर उच्च नतिजा प्राप्त गर्ने विद्यार्थी नै भित्री रुपमा लागू पदार्थ सेवनमै रहेको हुन सक्ने जोखिमलाई देखाउँदै शर्माले शिक्षाले संस्कर दिन नसकेमा शिक्षा प्राप्त गरेर मात्रै केही पनि नहुने बताए।
कार्यक्रमका अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत तीन जना बालबालिकाहरुका लागि छात्रावृत्ति स्वरुप १५ हजार रुपैयाँ पनि वितरण गरिएको छ। एनसिई नेपाल पर्वत र जिल्ला अपाङ्ग उत्थान समिति पर्वतले संयुक्त रुपमा बेहेर्ने गरी कुश्मा नगरपालिका–१४ आर्थरकी दृष्टिबिहीन १७ वर्षिया विद्यार्थी सन्तोषी बि.क.लाई पाँच हजार रुपैयाँ दिइएको छ। नेपाल अपाङ्ग उत्थान समिति पर्वतका अध्यक्ष, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्माले छात्रावृत्ति वितरणको अवसरमा बोल्दै अपांगता भएका बालबालिकाको शिक्षाका पक्षमा राज्य तथा सम्बन्धित निकायहरु जिम्मेवार भएर लाग्नुपर्ने खाँचो रहेको बताए।
यस्तै सदरमुकाम कुश्मा बजारमा रहेको बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बिनिता नेपाली र साजन माझीलाई पनि जनही पाँच हजार रुपैयाँका दरले छात्रावृत्ति दिइएको छ। उनीहरुलाई विगतदेखि नै एनसिईले विभिन्न सहयोग गर्दै आएको छ भने कक्षा १२ सम्मको अध्ययनमा सघाउने घोषणा यस अगाडि नै गरिसकेको छ।
एनसिई नेपाल पर्वतका संयोजक यज्ञप्रसाद शर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भीमबहादुर नेपालीले गरेका थिए।
कार्यक्रममा यज्ञप्रसाद शर्माले नै स्वागत मन्तब्य राखेका थिए। त्यस अवसरमा उनले देशका ४२ भन्दा बढी जिल्लामा स्थापना भइसकेको संस्थाले चार सय भन्दा बढी नागरिक स्तरका संस्थाहरुको साथमा रहेर शैक्षिक क्षेत्रमा सक्रिया रहेको जानकारी दिए। सार्वजनिक शिक्षाको क्षेत्रमा बहस गर्दै आइरहेको संस्थाले पर्वत जिल्लामा पनि सार्वजनिक शिक्षामा गर्न सकिने परिवर्तनको बारेमा सरोकारवाला निकाय र स्थानीय तहहरुसँग पटक पटक कार्यक्रमहरुको आयोजना गरिएको बताए।
यसैबीच, शनिवार नै एनसिई नेपाल पर्वतको सातौँ साधारण सभा तथा चौथो जिल्ला अधिबेसन पनि सम्पन्न भएको छ। गत एक वर्षको अवधिमा संस्थाले विभिन्न स्थानहरुमा गरेका शैक्षिक कार्यक्रमहरुको बारेमा उल्लेख गरिएका प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएका छन्।
अधिबेसनले अगामी कार्यकालका लागि पनि आरम्भ नेपालको प्रतिनिधित्व गर्ने यज्ञप्रसाद शर्माकै संयोजकत्वमा नयाँ कार्यसमिति निर्माण गरेको छ। यस्तै उपसंयोजकमा सोडेक नेपालकी कविता बि.क., सचिवमा सिड नेपालका आशिष पौडेल, कोषाध्यक्षमा सिड नेपालकी कमला लामिछाने तथा सदस्यहरुमा एनडिडिओका भीमबहादुर नेपाली, निवृत्त शिक्षक समाजका एकनारायण चालिसे, रेडियो कुशुमका सञ्चालकबाट फूलराज शर्मा, गैर सरकारी संस्था महासंघ नेपाल पर्वतका तर्फबाट रमेशप्रसाद रिजाल, नेपाल अपाङ्ग उत्थान समितिको तर्फबाट जगन्नाथ शर्मा र इन्प्रेड नेपालको तर्फबाट गोविन्द लामिछाने चयन भएका छन्।