पर्वत : अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२२ को अवसरमा फलेवास नगरपालिका वडा नं. ४ रुग्दीमा सरोकारवालाहरुको सहभागितामा गुणस्तरीय सिकाइका लागि शैक्षिक रुपान्तरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक शिक्षाको सवलीकरण तथा सुदृढीकरणको क्षेत्रमा क्रियाशील संस्था शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको आयोजना तथा फलेवास नगरपालिका वडा नं. ४ को कार्यालय र सिटिजन लाइफ इन्स्योरेन्सको समन्वयमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा सहभागी सबैजसो सरोकारवालाहरुले मुलुकको खाँचो, आवश्यकता र विश्व बजारमा सजिलै बिक्न सक्ने टिकाउ तथा बिकाउ शिक्षा सुनिश्चित गर्नका लागि सरकार, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायतका सरोकारित निकायहरु थप जिम्मेवार भएर लाग्नुपर्ने कुरामा जोड दिएका छन् । छलफल कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडीले गुणस्तरीय सिकाइका लागि शैक्षिक रुपान्तरणको सन्दर्भ, आवश्यकता, औचित्य र कोरोनाले सिर्जना गरेको शैक्षिक चुनौती एवम् अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्दै समयको मागअनुरुपको शिक्षा नीति जारी गरी लामो समयदेखि कायम रहेको शैक्षिक तदर्थवादको अन्त्य हुनुपर्ने औंल्याए । उनले सार्वजनिक शिक्षामा परिणाममुखी रुपान्तरण ल्याउन सबै सरोकारवालाहरुको चिन्तन, कार्यशैली र ढाँचामा पनि रुपान्तरणसहित सोचान्तरण जरुरी भएको बताए ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया प्रमुख तथा एनसिई नेपालका सहयोगी अभियन्ता दिपेन्द्र लम्सालले विद्यालयहरुले बालबालिकालाई विद्यालय जाउँजाउँ र पढौं पढौं भन्ने वातावरण निर्माण गर्न मात्र सक्ने हो भने नेपालको सार्वजनिक शिक्षाले सकारात्मक आधार तय गरेको पुष्टी हुने विश्वास प्रकट गरेका थिए । लम्सालले निजी विद्यालयका तुलनामा सरकारी विद्यालयमा सक्षम, तालिम प्राप्त र दक्ष जनशक्ति भएकाले सोचेजस्तो परिणाम ल्याउन शिक्षक समुदायलाई थप प्रतिबद्ध भएर लाग्न अनुरोध गरे ।
फलेवास नगरपालिकाका कार्यपालिका सदस्य भगवती पौडेलले स्वदेशमा नै बिक्ने जनशक्ति तयार गर्न हाम्रा विद्यालयहरुमा हावी रहेको पुरानो ढर्रामा बदलाव आउनुपर्ने बताइन् । पौडेलले सार्वजनिक विद्यालयमा आफ्ना छोराछोरी पठाएर मात्र आफ्नो दायित्व पूरा भएको नठानी अभिभावकहरुले घरबाट नै आधारभूत अनुशासन, आनीबानी र नैतिकता सिकाउन तर्फ ध्यानदिनुपर्ने कुरामा जोड दिइन् ।
छलफल कार्यक्रममा वडा नं. ४ का वडा सदस्य बाबुराम पौडेलले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले मात्र चाहने हो भने सामुदायिक विद्यालयहरुलाई जस्तो चाह्यो त्यस्तै बनाउन सकिने उदाहरण आफ्नै वडाभित्रका विद्यालयमा भएकाले कमजोर भनिएका विद्यालयहरुले असल अभ्यास गरेका विद्यलायबाट सिक्न हिच्किचाउन नहुने सुझाव दिए । उनले विद्यालयको केन्द्र भागमा विद्यार्थी रहने हुनाले विद्यार्थीको प्रभावकारी सिकाइमा सबैको ध्यान पुग्नुपर्ने तर्फ सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए ।
स्थानीय शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्र प्रसाद सापकोटाले पेशाप्रति प्रतिबद्ध शिक्षक, लगनशील विद्यार्थी र सचेत अभिभावकका बीचको लय मिल्ने हो भने शिक्षामा रुपान्तरण ल्याउन कठिन नभएको तर्क गरे । उनले सबैले निष्ठा पूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्दा अपेक्षित परिणाम दिन सकिँदो रहेछ भन्ने अनुभव सुनाए ।
छलफल कार्यक्रममा शारदा आधारभूत विद्यालय रुग्दीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण शर्मा सापकोटाले छलफलमा उठेका विषयवस्तुहरुले आफूहरुलाई आफ्नो भूमिकामा जमेर लाग्नका लागि हुट्हुटी जगाएको बताए ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख पुनम शर्मा, स्थानीय अभिभावक, विद्यार्थी, विव्यस सदस्य, शिक्षक अभिभावक संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । शारदा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रमको संचालन शिक्षक शिव प्रसाद शर्माले गर्नुभएको थियो ।