शनि, असार ७, २०८२
Sat, June 21, 2025

फलफूल र कृषि उत्पादन बढाउन कृषकलाई एक करोड ३० लाखका कार्यक्रम

कार्तिक २४, २०७९

पर्वत : कृषकहरूलाई व्यावसायिक बनाउन तथा उनीहरूको कृषि कर्ममा सघाउने गरी कृषि ज्ञान केन्द्र पर्वतले एक करोड ३० लाख भन्दा बढीको लगानी हुने भएको छ।
कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार विभिन्न नौ वटा कार्यक्रमका लागि एक करोड ३० लाख ४७ हजार रुपैयाँका योजनाहरू निर्धारण गरिएका छन्। आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रमहरू अन्तर्गत ती कार्यक्रमहरूमा सहभागी हुनका लागि जिल्लाका कृषि फर्म, कृषक समूह, सहकारी, कृषक लगायतलाई आवेदनका लागि अनुरोध गरिएको छ।
खुला जमिनमा प्राङगारिक प्रवर्धन कार्यक्रमको लागि १२ लाख रुपैयाँ उपलब्ध गराउने र त्यसका लागी एकल फर्मको लागि पाँच रोपनी तथा समूह वा सहकारीको लागि क्लस्टरमा कम्तीमा ६० रोपनी क्षेत्रफलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने भनिएको छ। संरक्षित संरचनामा प्राङ्गारिक उत्पादन प्रवर्द्धनका लागि १८ लाख रुपैयाँ लगानी हुँदै छ। त्यसका लागि न्यूनतम दुई सय वर्ग मिटरको क्षेत्रफल भएको हुनुपर्ने सर्त राखिएको छ।
समूह वा सहकारीमार्फत कृषि उपजको बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत उपजको सङ्कलन, प्याकेजीङ, ग्रेडिङ र भण्डार केन्द्र निर्माणको लागि दुई लाख ३५ हजार रुपैयाँ, कृषि उपजको प्याकेजिङ तथा लोगो छपाई र प्रमाणीकरणका लागि तीन लाख रुपैयाँ दिइने कृषि ज्ञान केन्द्रले बताएको छ। व्यावसायिक रूपमा प्राङगारिक खेती गर्दै आएका फर्म, समूह वा सहकारीलाई यो कार्यक्रमको प्राथमिकतामा राखिएको छ। मकै बीउ स्रोत केन्द्र स्थापना तथा स्थापना भएका स्रोत केन्द्रको सुदृढीकरणमा सघाउनको लागि १५ लाखको कार्यक्रम लागु हुने छ। मकैको बीउ उत्पादन गर्दै आएका फर्म वा समूह यसको प्राथमिकतामा पर्ने छन्। यस्तै सुन्तलाजात फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ कृषकहरूलाई उपलब्ध गराइँदै छ। उक्त रकम लिनको लागि समुन्द्री सतहबाट एक हजार मिटर भन्दा माथिको भूभागमा कम्तीमा दुई रोपनी क्षेत्रफल भएको हुनुपर्ने, कम्तीमा पनि एउटा जाली घर निर्माण हुनुपर्ने र वार्षिक १२ हजार बिरुवा उत्पादन गर्नुपर्ने सर्त राखिएको छ।
कार्यक्रमहरूमा सहभागी हुनको लागि अघिल्ला दुई आर्थिक वर्षमा कुनै पनि सरकारी निकायबाट उस्तै प्रकृतिको अनुदान प्राप्त नगरेको हुनुपर्ने भनिएको छ। लागत साझेदारी गर्दा कृषि फर्मको लागि ५० प्रतिशत र समूह वा सहकारीका लागि ८५ प्रतिशत हुने कृषि प्रसार अधिकृत विश्वास काफ्लेले बताए।
अलैँची, मकै, तरकारी, तेलहन र बीउ कार्यक्रमको लागि लागत साझेदारीमा ८४ लाख आठ हजार रुपैयाँ लगानी हुने छ। यसका लागि तीन वटा फरक फरक कार्यक्रमहरू निर्धारण गरिएका छन्। व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्तर्गत अलैँची, मकै र तरकारी उत्पादनमा प्रति कार्यक्रम १३ लाख आठ हजार रुपैयाँ लगानी हुने छ। लागत साझेदारी गर्दा परियोजना कार्यान्वयन म्यानुअल, २०७८ अनुसार ५० देखि ८५ प्रतिशतसम्म हुने छ। अलैँचीका लागि मोदी गाउँपालिकाको वडा नं. १, ४ र ५, मकैका लागि पैयुँ गाउँपालिकाका सात वटै वडाहरू तथा तरकारीका लागि बिहादी गाउँपालिकाको वडा नं. १, २, ४ र ५ लाई छनोट गरिएको छ। यस्तै तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत तेलहन बाली उत्पादनको लागि २५ लाख रुपैयाँ लगानी हुने छ। तेलहन बाली लगाइने जिल्लाका सबै क्षेत्र सहभागी हुने यो कार्यक्रममा फर्मका लागि ५० र समूह वा सहकारीको लागि ८५ प्रतिशत लागत साझेदारी कृषि ज्ञान केन्द्रले गर्ने छ। तेलहन बाली लगाउने कृषकले कम्तीमा पनि ३० रोपनी क्लस्टर क्षेत्रफलमा बाली लगाउनुपर्ने सर्त राखिएको छ।
उन्नत बीउ तथा स्रोत बीउ उत्पादकको लागि पूर्वाधार तथा प्रशोधन विकास सहयोग कार्यक्रममा १९ लाख रुपैयाँ छुट्टाइएको छ। जसमा स्रोत बीउको लागि १० लाख तथा उन्नत बीउको लागि नौ लाख रुपैयाँ तोकिएको छ। यो कार्यक्रममा पनि फर्मको लागि ५० र समूह वा सहकारीको लागि ८५ प्रतिशत लागत साझेदारी हुने कृषि ज्ञान केन्द्रले बताएको छ।
यी कार्यक्रमहरूले जिल्लामा बीउ उत्पादन गर्नेदेखि कृषकहरूलाई व्यावसायिक बनाउनेसम्मको लक्ष्य पूरा गर्न सहयोग गर्ने कार्यालय प्रमुख थापा बताउँछिन्। विगतमा कुनै पनि निकायबाट यस्तै सुविधा लिइसकेका कृषकहरू भएमा उनीहरूका लागि दोहोरिने गरी कार्यक्रम नदिएर नयाँलाई प्राथमिकतामा राखिएको उनको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive