बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

कविता : मेरी आमा

मेरी आमाको अनुहार चाउरी पर्न थालेछ ।
मलाई मेरी आमा बुढी भएको देख्न मन नै छैन ।
सधैँभरी निरोगी र भभर्खरकै भइदिए हुन्थ्यो जस्तो लाग्छ ।
अनि पिर पनि लाग्छ मेरी आमाका पनि मेरा जस्तै कति सपना थिए होलान,
अनि तिनै सपना कति चक्नाचुर भएका होलान,
कति सपना म सङ्ग नै जोडिएका होलान् ।
हिजो मात्र मैले आमालाइ फोन गरेर भनेँ,
म ः आमा तिम्रा आँखा भित्र पसेछन अलिक ख्याल गरन मैले केही गर्न सकेकी छैन्,
धेरै दुःख नगरन
आमा ः तँलाई त त्यस्तो हुँदो रहेछ, मलाइ झन कस्तो हुन्छ होला नि,
ज्वाईँको फोटो फेसबुकमा हाल्छेस, मेरो मुटु फुट्ला झँै हुन्छ । मैले ज्वाइको फोटो देख्नै सक्दिन ।
आमा मेरो कोठामा आउँदा पनि ज्वाईँको फोटो भएको कोठामा पस्दिनथिन,
म ः निशब्द भएँ, अनि एकैछिन है आमा फोन आयो भनेर फोन राखेर रोएँ,
अनि एकैछिनपछि फेरि फोन गरेर अरु कुरा गरेर कुरा टुङ्गो लगाए ।
म कुनै सन्तानलाइ जन्म नै दिएकी छैन र त
कोही रुँदै गर्दा मुटु चिरीन्छ ।
अनि जेठाजु दाई र जेठानी दिदिको छोरा छ ।
एउटा त्यसैलाई हेरेर मेरो संसार मैले बनाउँछु ।
भने आमाले ९महिना सम्म कोखमा राखेर ।
त्यो बेला अहिलेको जस्तो सहज परिस्थिति त कहाँ थियो र ?
खाना मन लागेको नि खान पाइन पाइनन होला !
कति दुःख सहेकी होलिन ?
कहिलेकाहीँ आमाका मन मिल्ने वरपरका अन्टी आमा दिदिहरुसङ्ग कुरा गरेको सुनेको मैले,
म पेटमा आए पछि, केही पेटमा पर्नै नहुने उल्टी हुन्थ्यो रे,
अनि सुत्केरी भइसकेपछि ६/७ दिन सम्म होस समेत आएन रे,
अनि मलाई जन्म ईन्डियाको आसाम भन्ने ठाउँमा दिएकी हुन रे,
आमालाई आमाकी आमाले एक बर्षकी हुँदा नै ईन्डिया लागेकी रे,
अनि आमा उही हुर्के बडेकी ।
नेपाल त म एक बर्षकी हुँदा मलाई खोसेर मेरो कान्छी फुपुको श्रीमान,
कान्छो पुसाजु र बुवाले खोसेर ल्याए पछि मलाइ छोड्न नसकेर पछि लागेर आएकी रे ।
आमाले मेरो पछि लाग्दा कति सपना देखेकी थिइन होला ?
अहिलेसम्म मलाई भनेकै छैनन्,
मैले पनि अहिले सम्म सोधेकी छैन ।
आमा तिमीले मलाई जन्माउँदै गर्दा के–के सपना देखेकी थियौ ?
नेपाल आइसकेपछि बुवाले केही समय पछि आमालाई छोडेर ईन्डिया नै जानू भएछ ।
अनि लामो समय सम्म फर्किनु भएनछ ।
घरमा सासु नहुनु, देउरानी जेठानी भनेको त्यस्तै त हो ।
अझै हाम्री आमाको पालामा कहाँ सजिलो थियो होला र ?
घरमा खानी खर्च सम्म नभएर,
कसैसँग मकैको पिठो मागेर पानीमा घोलेर खुवाएकी रे,
कसैले मकैको पिठो, कसैले चामलको कनिका, कसैले कोदोको पिठो दिएर,
अनि चुत्रो खुवाएर बचाएको भन्छिन् ।
आमाको सारीको कुर्ता सिलाएको मैले बिर्सेको छैन ।
मलाई अझै आजै जस्तो लाग्छ ।
अझै ढुङ्गा बोक्न मलाई उठाएर चामल चौकामा बसलेर चलाएर,
पकाइ भनेर गएकी मेरी आमा अहिले पनि निकै दुख गर्छिन् ।
सबै कुरा त मलाई लेख्न र सम्झिन कति गाह्रो भएको छ ।
मेरी आमालाई त्यो दुख गर्न कति गाह्रो भयो होला ?
अब त, छोरीको पनि बिबाह गरेर घरजम गरेर बसेकी छोरीको निसन्तान
अनि कलिलै (२४ बर्षको) उमेरमा बिधुवा हुँदा एउटी आमालाई कति पिडा भयो होला ।
संसारको सबै दुख भुलाउन सक्छिन रे सन्तानको लागि एउटी आमाले,
मेरी आमालाइ कस्तो भयो होला छोरीको संसार खोसिँदा !
अझै पनि आमाको अगाडि आँसु देखाउँदिन मैले,
तर पनि मेरी आमा भित्र भित्रै सोच्दा सोच्दै बिरामी भैसकेकी छिन् ।
श्रीमान सोझो र श्रीमतीको मर्म नबुझ्नु छोरालाई पनि
कहाँ त्यति सजिलो हुन्छ र आमाको मर्म बुझ्न ?
म छोरी भएर पनि आमालाइ अहिलेसम्म निर्धक्क भएर अङ्गालो हालेकी छैन ।
मलाई किन किन भित्रैबाट पीडा हुन्छ ।
जुन पीडा न त मैले बाहिर देखाउन नै सक्छु नत बाहिर पोख्न नै सक्छु ।
मनभित्र गुम्सिएका पिडाले मनलाई झन धेरै बोझिलो बनाउँदो रहेछ ।
मेरी आमाका केही सपना पूरा गराउनु छ ।
केही रहरहरु पूरा गराउनु छ ।
अन्तिममा सपना किन्नको लागि आमा देखि केही बर्ष टाढा हुनै पर्ने छ ।
अन्तिममा सपना किन्नको लागि आमा देखि केही बर्ष परदेशी हुनै पर्ने छ ।
आमा ढुक्क भएर अहिले सम्म त पर्खी बसेकी छौ ।
म तिम्रा सबै सपना त भन्दिन केही सपना पक्कै पूरा गर्ने छु ।

– शिला पाण्डे

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive