पर्वत : पर्वत अस्पतालको ३३ औँ स्थापना दिवसका अवसर पारेर नसर्ने रोगको निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको छ।
स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको अस्पतालले पाँचौँ दिनमा नसर्ने रोगहरूको परीक्षण गर्नका लागि शिविर सञ्चालन गरेको हो। सर्ने रोगका विषयमा मानिसहरू सचेत भएको पाइएको भए पनि नसर्ने रोगका विषयमा सतर्कता कम हुँदा नसर्ने रोगले ज्यान नै लिइरहेको अवस्था रहेकाले नसर्ने रोगप्रति सतर्कता पैदा गर्नका लागि नसर्ने रोगको शिविर राखिएको हो।
अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिणी अधिकारीका अनुसार शिविरमा प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल सहित करिब एक सय जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूलाई अवस्था हेरेर औषधि चलाउनेदेखि रोगको शङ्कास्पद अवस्थामा रहेकाहरूलाई परामर्श सहित तोकिएको समयमा स्वास्थ्य परीक्षणका लागि आउन भनिएको छ। प्रदेश सरकारले पनि नसर्ने रोगलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई अगाडि बढाइरहेकोले अस्पतालले पनि यो कार्यक्रमको आयोजना गरेको हो।
‘प्रदेश स्वास्थ्य मन्त्रालयले नसर्ने रोगलाई प्राथमिकतामा राखेको छ। नसर्ने रोगका लागि भनेर वार्षिक रूपमा बजेट विनियोजन गरेर नै विभिन्न क्रियाकलापहरू हुँदै आएका छन्’, डा. अधिकारी भन्छिन्, ‘सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अस्पतालमा नै शिविर राखिएको यो सुरुवाती कार्यक्रम हो। नसर्ने रोगप्रति नागरिकको सतर्कता बढाउन हामी जिल्लाका स्थानीय तहहरूमा पनि पुगेर शिविर राख्ने योजनामा छौँ।’ मानिसहरू सर्ने रोगप्रति बढी सचेत भएको भए पनि नसर्ने रोगप्रति कम वास्ता गर्दा थाहा नपाएकै अवस्थामा रोगको सङ्क्रमणले व्यक्तिलाई कमजोर पार्ने उनको भनाई छ।
शिविरका संयोजक डा. हेमन्त बास्तोलाले पहिले–पहिले सर्ने रोगबाट धेरैको मृत्यु हुने गरेका कारण अहिले पनि मानिसहरू सर्ने रोगसँगै बढी डराउने गरेको बताए। सर्ने रोग छिट्टै फैलिँदा त्यसको बारेमा बढी चर्चा हुने र नागरिकले पनि त्यसबाट जोगिनका लागि विभिन्न मापदण्ड पालना गर्ने गरेका छन्। तर नसर्ने रोगका कारण बर्सेनि सयौँ जनाको मृत्यु भइरहेको अवस्थामा पनि आफ्नो आनीबानीमा हेलचक्र्याइँ हुने गरेकाले समस्या भइरहेको उनको भनाई छ।
‘पहिले सर्ने रोगका कारण धेरै जनाको मृत्यु हुने गरेको थियो। सबैको सचेतना र बेलैमा हुने उपचारका कारण सर्ने रोगबाट धेरै मानिसहरू सुरक्षित हुन थालेका छन्। नागरिक बिरामी नभएसम्म स्वास्थ्य परीक्षण नगर्ने बानी बसेकाले नसर्ने रोगले भित्रभित्रै गालिरहेको हुन्छ’, डा. बास्तोला भन्छन्, ‘रोग अन्तिम अवस्थामा पुगेपछि मात्रै उपचार गर्न आउने गरेको देखिन्छ। अन्तिम अवस्थामा पुगेपछि गरिने उपचारले निको हुन कठिन हुने अवस्था पनि आउँछ। यसका लागि समय समयमा आफ्नो स्वास्थ्य परीक्षण गर्ने, चिकित्सकले दिएका सल्लाहको पूर्ण रूपमा पालना गर्ने गर्नुपर्छ।’
मानिसहरूको जीवनयापनको शैलीकै कारण नसर्ने रोग मृत्युको कारण बनिरहेको चिकित्सकहरू बताउँछन्। आरामदायी जीवन बिताउने सोखका कारण शारीरिक परिश्रम नगर्ने, खेतबारी बाँझा राखेर बजारको खाना खाने, छोटो दूरीमा पनि यातायातकै साधनहरूको प्रयोग गर्ने, पोषणयुक्त खाना छाडेर ‘जङ्क फुड’ को अधिक प्रयोग गर्ने, धूम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थको सेवन लगायतका कारण नसर्ने रोगले व्यक्तिलाई बिरामी बनाइरहेको अवस्था छ।
शिविर सहित अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीहरूमध्ये धेरैमा मधुमेह, उच्च रक्तचाप, पक्ष घात, मष्तिस्क घात, क्यान्सर, मुटु सम्बन्धी रोग, हाड जोर्नीका समस्या लगायतका रोगहरू धेरैमा देखिने गरेको अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्याय बताउँछन्। अस्पतालमा आएपछि समस्या देखिएकाहरूलाई उचित परामर्श, औषधि चलाउने तथा ठुलै समस्या देखिएकाहरूलाई ठुला अस्पतालहरूमा ‘रेफर’ गर्ने गरिएको उनको भनाई छ। पहिलेको तुलनामा मानिसमा स्वास्थ्यप्रतिको धारणा र चेतनाको स्तर वृद्धि भएको पाइए पनि बिरामी नभएसम्म अस्पताल नजाने बानीले अकालमै मृत्यु हुने अवस्था आउने उनको भनाई छ।
बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024