संजय रेग्मी/डिलबहादुर बि.क
पर्वत : लगातार छ वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि सेवन गरेमा त्यसपछि भने सेवन गर्नु नपर्ने भनिन्छ । जबकि पर्वतमा भने १४ औँ चरणमा हात्तीपाइले बिरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । अवस्थाबारे थाहा पाउन हरेक वर्ष नमुना परीक्षण गर्ने गरिन्छ । लिइएकामध्ये एक प्रतिशत भन्दा तलका नमुनामा सङ्क्रमणको पुष्टि भएमा त्यो अवस्थालाई सुरक्षित मानिन्छ ।
तर जिल्लाको गत वर्षको नमुना सर्वेक्षणमा ५.३३ प्रतिशतमा हात्तीपाइलेको सङ्क्रमण रहेको पुष्टि भएको थियो । जब सम्म यो सङ्ख्या घटेर सुरक्षित स्थानमा पुग्दैन तबसम्म हरेक वर्ष हात्तीपाइले रोग बिरुद्धको औषधि खानै पर्ने बाध्यता हुन्छ । नमुनाका रूपमा सुरुवाती अवस्थामा जुन ठाउँलाई आधार मानिएको हुन्छ हरेक वर्ष त्यहीँ ठाउँको नमुना लिनुपर्ने मापदण्ड छ । जबसम्म ती केन्द्रमा सङ्क्रमण एक प्रतिशत भन्दा तल झर्दैन त्यो बेलासम्म पर्वतवासीले औषधि खानुपर्छ ।
यही अभिमयान अन्तर्गत जिल्लाको जलजला गाउँपालिकामा चलिरहेको औषधि खाने अभियानमा मङ्गलवारसम्म करिब ७० प्रतिशत नागरिकले औषधि खाएका छन् । हात्तीपाईले बिरुद्ध औषधि खुवाउने अभियान–२०७९ को छैटौँ ं दिन सम्म ७० प्रतिशत प्रगति भएको गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब डिल्लीराज आचार्यले बताए । जलजला गाउँपालिकामा रहेका नौ वटा वडाका २० हजार नागरिकलाई औषधि खुवाउनुपर्नेमा हालसम्म १४ हजार पाँच सय जनाले खाइसकेका छन् । बाँकी रहेकाहरुलाई पनि फागुन २५ गतेभित्रमा खुवाइसक्ने गरी स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीहरुको परिचालन गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीहरुको पनि उल्लेख्य सहभागिता रहेकाले औषधि खाने अभियान विगतका वर्षहरुका तुलनामा प्रभावकारी रुपमा चलिरहेको पाइएको छ । फागुन ११, १२ र १३ गते बुथ–बुथमा बसेर औषधि खुवाएकोमा त्यसयता भने टोल र घरमा नै पुगेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने काम भइरहेको छ ।
अभियानका क्रममा औषधिको आवश्कताका बारेमा नबुझेकाहरुलाई खानका लागि आनाकानी गरे पनि स्वास्थ्यकर्मीहरुले यसको बाध्यताका बारेमा बुझाएपछि सहज रुपमा नै खुवाउन सकिएको छ । ‘कोही कोहीले यसको महत्व र आवश्यकताका बारेमा नबुझ्दा बिगतमा जस्तै खान आनाकानी गरिरहेको अवस्था पनि छ । तर उहाँहरुलाई स्वास्थ्यकर्मीहरुले यसको आवश्यकताको बारेमा बुझाएर सेवन गर्ने काम भइरहेको छ’, आचार्य भन्छन्, ‘ठ्याक्कै यो समूहले खान मानेन भन्ने त छैन तर फाटफूट रुपमा खान नमानेको अवस्था हो । अपवादको रुपमा मात्रै भेटीएका हुन । १४ दिनसम्म यो अभियान निरन्तर चल्ने छ । पहिलेको भन्दा राम्रो अवस्था रहेको छ । जनप्रतिनिधि र कर्मचारीहरु पनि सक्रिय रहेर आम नागरिकलाई कुरा बुझाएकाले खान नमान्ने समस्या छैन ।’ कर्मचारी तथा जनप्रनिधिहरु पनि अभियानमा जुट्दा उनीहरुले नागरिकहरुले विश्वास गरेको अवस्था जलजलामा देखिएको छ । औषधि र स्वास्थ्यकर्मीहरु पर्याप्त मात्रामा रहेकोले पनि हरेक ठाउँमा परिचालित हुन सकिएकाले अभियान सफलतापूर्वक चलीरहेको स्वास्थ्य शाखाका प्रमुख तथा सिनियर अहेब अधिकृत गोरे नेपाली बताउँछन् ।
धार्मिक आस्थाका कारण जीवनभर औषधि नै सेवन नगरेकाले अब पनि औषधि सेवन नगर्ने, विदेशी निकायले औषधिको परीक्षणका लागि यहाँ अभियान चलाएको, हात्तीपाइलेको औषधिले रिङ्गटा लाग्ने लगायतका बहानामा जिल्लाका कतिपय ठाउँमा औषधि खुवाउन विगतमा समस्या हुँदै आएको थियो ।
अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्नु तथा खान्छु भनेर लिएको औषधि पनि फ्याँक्ने प्रचलनले जिल्लामा परीक्षणका लागि तोकिएका केन्द्रका नागरिकमा सङ्क्रमण कायमै रहँदै आएको छ । औषधि सेवन नगरेकाहरूका कारण जिल्लामा हरेक वर्ष समस्या देखिएपछि गत वर्षको फागुनमा समस्याग्रस्त ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर कडाइका साथ हात्तीपाइले विरुद्धको औषधि खुवाइएको थियो ।
गत फागुनमा सञ्चालन भएको हात्तीपाइले बिरुद्धको औषधि खाने कार्यक्रममा ८८ प्रतिशत नागरिकले औषधी सेवन गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । हाल पर्वतमा करिब २० जना सक्रिय सङ्क्रमितहरूले नियमित औषधी सेवन गरिरहेको तथ्यांक रहे पनि समुदाय स्तरमा तीन सय जनासम्म हात्तीपाइलेका सङ्क्रमितहरू रहेको हुन सक्ने अनुमान छ ।
सङ्क्रमित व्यक्तिको शरीरमा विशेषतः रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने र त्यो समयमा लामखुट्टेले टोकेमा सङ्क्रमण फैलने गर्दछ । जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठुलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोशील अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठुलो हुने, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने र दुख्ने जस्ता लक्षण देखिएमा हात्तीपाइले सङ्क्रमण भएको हुन सक्ने चिकित्सक बताउँछन् ।
चिकित्सक डा. डिबी क्षेत्रीका अनुसार हात्तीपाइलेविरुद्ध खुवाइने औषधिले लुतो, एलर्जी, जुम्रा पर्ने लगायतका समस्याको समेत उपचार गर्ने भएकाले आम नागरिकले ढुक्क भएर औषधि सेवन गर्नुपर्ने बताउँछन् । सार्क राष्ट्रका भारत र नेपालमा हात्तीपाइले समस्या बढी रहेको र त्यसो हुनुको कारण कुप्रचार र अन्धविश्वास रहेको उनको भनाई छ ।