बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

सिकाई कार्यक्रम लागू भएका विद्यालयमा जीवनपद्धती केन्द्रको अनुगमन

पर्वत : कोही पनि व्यक्ति आफू अध्ययनरत कक्षा कोठामा प्रवेश गर्दा साथ नम्र व्यवहारमा नमस्कार गर्छन पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको त्रिभुवन आधारभूत विद्यालय र कुश्मा नगरपालिका–१३ खौलामा रहेको खौलालाँकुरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले।
विद्यालको कक्षा–१ को सिकाई क्रियाकलाप हुने कक्षाकोठाको भित्तामा ‘स्मार्ट टेलिभजन’ राखिएको छ। ‘इन्टरनेट’ जडित उक्त टेलिभिजनमा शिक्षकले जो ‘सर्च’ गर्छन त्यही विषयबस्तु पर्दामा आउँछ अनि बालबालिकाहरु त्यसैमा रमाउँदै सिकिरहेका हुन्छन्। त्रिभुवन आधारभूतमा हेर्दा देख्न्थ्यिो की विद्यादय जाने उमेर नै नभएका साना बाबु नानीहरु पनि दाई दिदीहरुको साथमा लागेर टेलिभिजन हेर्नका लागि मात्रै भए पनि विद्यालयमा आएका छन्।


पोखरामा रहेको स्वाबलम्बन जीवनपद्धति केन्द्र र बिश्व शिक्षाको संयुक्त साझेदारीमा सञ्चालित नेपालमा उपलब्ध शैक्षिक स्रोतहरुको विस्तार (लर्न) परियोजना लागू भएपछि बिद्यार्थीहरुको परम्परागत शैलीमा परिवर्तन आएको पाइएको छ। मङ्गलवार जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङ, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अधिकृत टंकप्रसाद ढकाल, सामाजिक विकास कार्यालय कास्कीका कार्यालय प्रमुख इन्द्र बहादुर थापा, सामाजिक विकास मन्त्रालयकी अधिकृत शरद गुरुङ, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, प्रशासनिक कर्मचारी सञ्जु पौडेल, जीवनपद्धती केन्द्रका टुकप्रसाद शर्मा, उमेश शिवाकोटी, तिलक अधिकारी लगायतले ती विद्यालयहरुमा अनुगमन तथा संयुक्त छलफल गरेका छन्।


जीवनपद्धती केन्द्रले कुश्मा नगरपालिकाका १६ वटा विद्यालयहरुमा आफुनो परियोजना लागू गरेको छ। ती विद्यालयहरुका कक्षा एकदेखि तीनसम्मका बालबालिकाहरुलाई रचनात्मक तरिकाले शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउनको लागि १÷१ थान स्मार्ट टेलिभिजन सहित बिभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको छ। परियाृजनामा समेटिएका प्रत्येक विद्यालयका २÷२ जना शिक्षकहरुलाई तालिम दिएर समावेशी र रचनात्मक शिक्षणका लागि तयार पारेर विद्यालयमा पठाइएको छ। मङ्गलवार तिनै सिकाई क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, तालिममा सिकेका कुराहरुको कक्षाकोठामा प्रयोग लगायतका विषयमा अनुगमन गरिएको हो।


विद्यालयहरुको अनुगमनका क्रममा बोल्दै स्वाबलम्बन जीवनपद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शसक्तीकरण र समावेशीकरणका लागि आफूहरुले गण्डकी प्रदेशका स्याङजा, पर्वत र बागलुङका ५१ वटा विद्यालयहरुमा यही कार्यक्रम लागू गरिएको बताए। छनोट भएका विद्यालयहरुमा कम र उच्च प्रविधिका शैक्षिक सामग्रीहरु उपलब्ध गराएर सिकाईमा सहजीकरण् गरिएको उनको भनाई छ। ‘सिकाईको परम्परागत शैलीमा परिवर्तन आएको देखियो। प्रबिधिमा जोडिएर गरेको शिक्षण दीर्घकालिन हुन्छ। बिज्ञान र प्रविधिले समय र मानिसलाई माथि उठाइरहेको बेलामा हामी त्यो भन्दा तल रहन खोज्यौँ भने सिकाईमा कठिनाई आउँछ,’ उनले भने, ‘परियोजना लागू भएका पर्वतका विद्यालयहरुले केन्द्रको मर्म अनुसार सिकाई क्रियाकलापहरु लागू गरेको देख्दा खुसी लाग्यो। विद्यार्थीहरुमा आएको उत्साह र विद्यालयले केन्द्रको मर्म अनुसार गरेको कामले विद्यार्थीहरुको सिकाईमा सहज भएको छ।’


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अधिकृत टंकप्रसाद ढकालले समयको माग अनुसार शिक्षालाई परिवर्तन गर्न सकेमा मात्र शैक्षिक क्षेत्रमा आसातित परिवर्तन आउने बताए। शहरदेखि गाउँसम्मका सबै नागरिकहरु गुणस्तरीय शिक्षाका लागि भौतारिइरहेको अवस्थामा जहाँ गुणस्तरीय शिक्षा पाइन्छ बिद्यार्थीहरु त्यहीँ नै धेरै हुने उनको भनाई छ। ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा कार्यरत शिक्षकहरु शिक्षक सेवा आयोगका परीक्षाहरु उत्तीर्ण गरेर आएकाले सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षकहरु अब्बल रहेको बताउँदै ढकालले यसमा समुदायले विश्वास गर्नुपर्ने उल्लेख गरे।


कार्यक्रमहरुमा बिद्यालयका शिक्षक तथा अभिभावकहरुले कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी समक्ष कुश्मा नगरपालिकाले गर्नुपर्ने विभिन्न कामहरुको बारेमा आसा व्यक्त गरेका थिए। धेरै विद्यार्थी भएको ठाउँमा शिक्षक कम हुनु तथा बिद्यार्थी नै नभएको विद्यालयमा शिक्षक दरबन्दी रहेकोदेखि विद्यालय आफै ऋणमा रहेर पनि गरिरहेको भौतिक तथा शैक्षिक गुणस्तरको बारेमा उनीहरुले कुरा राखे। त्यसबारेमा आफ्नो भनाई राख्दै सुवेदीले नगरपालिकाभित्रका विद्यालयहरुले विभिन्न समस्याहरु भोगिरहेको बताउँदै नगरपालिका ती समस्याहरुको क्रमिक समाधानमा रहेको बताए। शिक्षकहरुको दरबन्दी मिलानदेखि भौतिक पूर्वाधार, पुस्तकालय निर्माण, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला लगायतको विकासको लागि क्रमिक व्यवस्थापनमा आफूहरु रहेको उनको भनाई छ।


अन्तरक्रिया कार्यक्रममा ठूलीपोखरीका वडाध्यक्ष झलकप्रसाद रिमाल, खौलाका वडाध्यक्ष तेजप्रसाद शर्मा, सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्य, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालयका सरोकारवाला व्यक्ति र अभिभावकहरुको पनि उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै खौलालाँकुरी माध्यमिक विद्यालयकी प्रधानाध्यापक मिना भण्डारीले स्वाबलम्बन जीवनपद्धति केन्द्रको सहयोगले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण बल मिलेको बताउँदै परियोजना कार्यान्वयन गर्ने कक्षाहरुको सङ्ख्या बढाउँदै लैजान अनुरोध गरिन्। त्यसैको सिको गर्दै आफ्नो विद्यालयका हरेक कक्षाकोठामा प्रोजेक्टर, इन्टरनेट, सिसि क्यामेरा, बुक कर्नर सहितको व्यवस्थापनमा आफूहरु खटीएको उनको भनाई छ। त्रिभूवन आधारभूत विद्यालयका शिक्षक दामोदर पौडेलले पनि परियाजनाले प्रदान गरेको शिक्षण तालिम र शैक्षिक सामग्रीले सिकाई क्रियाकलापमा गुणस्तर कायम गर्न सहज भएको बताए। त्रिभुवन आधारभूत विद्यालयमा भएको कार्यक्रमको सञ्चालन शिक्षक दामोदर पौडेलले गरेका थिए भने खौलालाँकुरी माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सञ्चालन पुण्य प्रसाद शर्माले गरेका थिए।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive