पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षण सिकाईमा गुणस्तर कायम गर्न सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पिपलटारीमा रहेका पूर्णेश्वर भूतूपूर्व विद्यार्थी समाज, थुममा रहेको जनक भूतपूर्व विद्यार्थी समाज, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एन.सी.ई) पर्वतको संयुक्त आयोजना तथा वडा कार्यालयको समन्वयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सामुदायिक विद्यालयका सरोकारवालाहरूको सहभागितामा ‘सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा विद्यालयसँग सम्बन्धित पक्षहरुमा रहेका समस्या र तिनीहरुको समाधानको उपायको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रम उद्घाटन हुनु पूर्व सहभागीहरूलाई ‘मेटा कार्ड’ वितरण गरेर सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न नसक्नुको कुनै एक कारण लेख्न भनियो । सहभागीहरूले ‘मेटा कार्ड’ मा सामुदायिक विद्यालयमा आफूले देखेका समस्याहरू लेखेर ‘समस्याको पोको’ लेखिएको झोलामा खसाले। ‘समस्याको पोको’ मा जम्मा भएका समस्याहरूको समाधान खोजेर सामुदायिक वडा नं. १० मा रहेका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र २०८० मा नयाँ जोसका साथ गुणस्तरीय शिक्षा प्रदान गर्न उत्साह दिनको लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
‘समस्याको पोको’ मा पारिएको गाँठो ‘समाधान’ लेखिएको कैँची काटियो अनि सरोकारवालाहरूबाट प्राप्त भएका शैक्षिक सवालहरूको बारेमा कार्यक्रममा छलफल भयो । झन्डै ४० भन्दा बढी समस्याहरुहरु अन्तर्गत विद्यालयमा प्रधानाध्यापक गर्ने प्रशासन कमजोर हुनु, शिक्षक तथा कर्मचारीहरूले प्र.अ.को आदेश नमान्नु, नयाँ प्रविधिहरूको प्रयोग नगरिनु, विद्यार्थीको क्षमता र रुचि अनुसारको शिक्षण नहुनु, अङ्ग्रेजी माध्यमलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरिनु, विद्यालयहरूमा रहेका भौतिक समस्या, कम सन्तान जन्माउने क्रमले विद्यालयमा विद्यार्थी कम हुँदै जानु, मासिक रूपमा शुल्क बुझाउँदा मात्रै अभिभावकहरूले सन्तानको पढाइमा ध्यान दिनु, लगायतका समस्याहरू भेटिएका छन् ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रामचन्द्र सुवेदीले सङ्कलन गरिएका समस्याहरूको उपयुक्त समाधान निकालेर आउँदो शैक्षिक सत्रबाट वडा कार्यालय, अभिभावक र विद्यालयले कार्यान्वयन गर्ने गरी समिति निर्माण गर्ने वडा कार्यालयको योजना रहेको बताए । एक÷दिन भित्रमा नै समिति बनाएर सङ्कलित समस्याहरू बुझाएपछि समितिले तयार पार्ने खाकामा छलफल गरेर सामुदायिक विद्यालयको शिक्षणमा गुणस्तर कायम गर्ने आफूहरूले लाग्ने उनको भनाई छ ।
‘स्रोत साधन नभएका कुरा आइरहेका छन् । तर यी सबै कुरा पूरा गर्नको लागि विद्यालयका कार्यरत जनशक्तिको दृढ इच्छाशक्ति चाहिन्छ । विद्यालयमा रहेका कम्प्युटर नै प्रयोगमा आउन सकेका छैनन् भन्ने अवस्थालाई पनि आफैले स्वमूल्याङ्कन गर्नुपर्छ’, उनले भने, ‘विद्यालय, अभिभावक र विद्यार्थीहरूबाट आएका योजनाका लागि वडा कार्यालय सकारात्मक छ । गुणस्तरका लागि विद्यालयहरू तयार हुनुहोस् वडाकातर्फबाट गर्न सकिने कुनै काम बाँकी रहने छैन ।’ स्थानीयवासी तथा पूर्व गा.वि.स अध्यक्ष शान्त पौडेल र मेघनाथ सुवेदीले पदीय दायित्व लिएका सबैले आफ्नो ठाउँबाट दायित्व पूरा गर्दा मात्रै पनि शिक्षामा गुणस्तर आउन सहज हुने बताए । उनीहरुले वडामा रहेका विद्यालयमा कुनै पनि राजनीतिक हस्तक्षेप रहन नहुने भन्दै गुणस्तर आउन नदिने गरी कसैले बाधा दिएमा उनीहरुको भण्डाफोर गर्न आँट्नुपर्ने उनीहरुको सुझाव छ ।
गृह जिल्ला आएको मौका पारेर कार्यक्रममा सहभागी भएका सर्वोच्च अदालतका उपसचिव उदवीर नेपालीले शिक्षा क्षेत्रमा रहेको प्रशासनिक, नैतिक र भौतिक लगानीका कारण समस्या आएको हुन सक्ने आफूले देखेको बताए । राज्यबाट आफूले सुविधा लिए बराबरको श्रम सबैले इमानदारीपूर्वक गरिदिने हो भने धेरै समस्याको समाधान हुने उनको भनाई थियो । अर्कोतर्फ राज्यको ध्यान भौतिक विकासमा मात्रै केन्द्रित हुँदा दीर्घकालीन रूपमा नतिजा दिने शिक्षा क्षेत्रमा असर परेको नेपालीले बताए । आफ्ना सन्तानले अध्ययन गर्ने विद्यालयको गुणस्तरमा ध्यान नदिएर कालोपत्रे सडक मात्रै खोजेर बस्नु अभिभावको दोष भएको उनको ठहर छ ।
कुश्मा नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले नेपालीहरु ‘बानी पिडित’ रहेको भन्दै सबैले आफ्नो बानीमा परिवर्तन गरेर सकरात्मक परिवर्तनका लागि तयार हुनुपर्ने सुझाए । विद्यार्थी सङ्ख्या कम भएको भनेर चिन्ता बढ्दै गएको बारेमा बोल्दै उनले विद्यार्थी कति छन भन्नेमा ध्यान दिनुमा भन्दा पनि विद्यालयमा रहेका पाँच जना मात्रै बालबालिकाहरुले के सिके ? भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाई छ । विद्यालयले गुणस्तर कायम गर्न सके विद्यार्थीहरु आफै विद्यालय खोज्दै आउने भएकाले विद्यार्थीको खोजीमा लाग्नुभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
अन्तरक्रियामा कार्यपत्र प्रसतुत गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतका संयोजक यज्ञप्रसाद शर्माले एउटै घरबाट सामुदायिक र निजी विद्यालयमा जाने बालबालिकाहरुमाथि घरका सदस्यहरुबाटै फरक व्यवहार हुनु दुःखद रहेको बताए । नेपालमा राजनीतिक परिवर्तनका रुपमा धेरै प्रकारका ‘….. तन्त्र’ हरु आए पनि शिक्षा क्षेत्र भने २०२८ सालकै शिक्षा ऐनबाट परिचालित हुनुले देशको शैक्षिक अवस्था प्रष्ट हुने उनको भनाई छ । राज्यले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेटले नै राज्यले शिक्षालाई कति प्राथमिकतामा राखेको छ भन्ने कुरा देखिएको पनि शर्माको भनाई छ । तर ढिलै भए पनि साना–साना कुराहरुबाट परिवर्तनको सुरुवात गर्न सकेमा सामुदायिक विद्यालयमा आसा गरिएको जस्तै गुणस्तर आउने उनले दाबी गरे ।
विगतदेखि नै शैक्षिक रूपमा अब्बल मान्ने गरिएको पिपलटारीका विद्यालयहरू छोडेर अभिभावकहरूले निजी विद्यालय रोज्नु, शैक्षिक गुणस्तर नभएका कारण स्थानीय विद्यालयमा बालबालिकाहरू लैजान नसकेको भनी अभिभावकहरूबाट कुरा आउनु तथा विद्यालयहरूले विभिन्न समस्या बताएका कारण सरोकारवालाहरूको सर्वपक्षीय भेला गरेर अन्तरक्रिया गरिएको पूर्णेश्वर मा.वि.को भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेलले बताए ।
अन्तरक्रियामा ‘मर्ज’ हुने तयारीमा रहेको अवस्थाबाट माथि उठेर जिल्लाकै उदाहरणीय विद्यालय बनेको फलेवास नगरपालिकाका गहते अम्बोट आधारभूत विद्यालयले पाएको सफलताका कारणहरूको बारेमा विद्यालय प्रधानाध्यापक ओमकार पौडेल र शिक्षक अभिभावक सङ्घका अध्यक्ष बाबुराम पौडेलले जानकारी गराएका थिए । खातामा चार हजार र २४ जना विद्यार्थी मात्रै भएको विद्यालयले समुदायसँगको सहकार्यमा अहिले करिब डेढ सय जना विद्यार्थी र खातामा २० लाख बनाउन सक्नुले समुदाय विद्यालयको सम्बन्धले मात्रै शिक्षामा गुणस्तर आउने उनीहरूको सुझाव छ ।
कार्यक्रममा निवर्तमान वडाध्यक्ष सुजन बि.क (अमर), जनक मा.वि. भूतपूर्व विद्यार्थी समाजका सचिव गणेश पौडेल, जनक मा.वि.का प्रधानाध्यापक टेकनाथ अधिकारी, सिद्धेश्वर प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर नेपाली, राजनीतिक दलबाट रामचन्द्र सुवेदी, शिक्षक भिमराज सापकोटा लगायतले पनि आफ्ना तर्कहरु राखेका थिए । कार्यक्रमको सञ्चालन पूर्णेश्वर मा.वि. भूतपूर्व विद्यार्थी समाजका सचिव तथा सोही विद्यालयका शिक्षक सन्तोष पौडेलले गरेका थिए ।
मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024