पर्वत : नेपाल सरकारले विद्यालयको पहुँच बाहिर रहेका विद्यालयहरूलाई शिक्षाको मूल धारमा ल्याउनको लागि नयाँ शैक्षिक सत्र २०८० मा पनि विगतमा जस्तै भर्ना अभियान चलाइरहेको छ। यो अभियानको दौरान सामुदायिक विद्यालयहरूले आफ्नो विद्यालय क्षेत्रभित्र रहेका बालबालिकाहरूलाई खोजी खोजी भर्ना गरिरहेका छन्। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसकी विद्यार्थीहरू निजी विद्यालयमा आकर्षित भएको आरोप पुरानै हो।
यही आरोपलाई चिर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्ने, विद्यार्थी र अभिभावकको चाहना अनुसारको शिक्षण सिकाई हुनुपर्ने लगायतका चुनौती सामुदायिक विद्यालयलाई छ। भर्ना अभियान चलिरहेको बेलामा सामुदायिकले निजी विद्यालयमा अध्ययनरत र निजी विद्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुरुलाई आफ्ना शैक्षिक संस्थामा आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
भर्ना अभियानका क्रममा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय प्रशासन, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिहरूले संयुक्त रूपमा भर्ना गर्ने अभियान पनि सञ्चालन गरिरहेका छन्। विशेषतः ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरू विद्यार्थीविहीन भइरहेको परिवेशमा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको एक विद्यालयमा भने नयाँ शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थीहरूको भिड छ।
करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत रही नेपाल सरकारले नमूना विद्यालयका रूपमा अगाडि बढाइरहेको नारायण माध्यमिक विद्यालयले गत वैशाख छ गते नयाँ भर्ना हुन आएका विद्यार्थीहरूको प्रारम्भिक परीक्षा सञ्चालन गर्यो, जसमा झन्डै डेढ सय जना विद्यार्थीहरूले परीक्षा दिएर भर्ना भए। वैशाख १२ गते सञ्चालन गरेको अर्को परीक्षामा ३० जनाले परीक्षा दिए। जेठ असार सम्म पनि विद्यार्थीहरू भर्ना हुन आउने क्रम चल्ने भएकाले अहिले नै विद्यार्थीको संख्या यकिन नहुने विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले बताए।
‘हरेक वर्ष भर्ना हुन आउने विद्यार्थीहरूको चाप उच्च हुने गरेको छ। हामीसँग विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम भएकाले एउटै कक्षामा धेरै विद्यार्थीहरू राखेर अध्यापन गरिरहनुपरेको छ’, उनले भने, ‘नयाँ भर्ना हुन आएका विद्यार्थीहरू कुन शैक्षिक स्तरमा छन् भन्ने कुरा थाहा पाउनको लागि प्रारम्भिक परीक्षा लिने गरेका छौँ।’ नगरपालिकाभित्रै कतिपय विद्यालयमा विद्यार्थीहरूको संख्या न्यून हुँदा पनि शिक्षकहरू कामविहीन अवस्थामा रहेको बेलामा यो विद्यालयमा भने विद्यार्थीको लर्को लाग्दा समेत अन्यत्र विद्यालयको तुलनामा शिक्षक दरबन्दी कम रहेका पोखरेलको भनाइ छ।
सदरमुकाम कुश्मा बजारमा रहेको नारायण मा.वि.को आसपासमा छ वटा निजी र एउटा सामुदायिक विद्यालय माध्यमिक तहसम्म सञ्चालित छन्। तिनै विद्यालयहरू सहित जिल्लाका ग्रामीण क्षेत्रमा रहेको विद्यालयहरूबाट समेत विद्यार्थीहरू भर्ना हुन आउने गरेका छन्। अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालन हुने, कक्षा ११ र बाह्रमा विज्ञानसहितका विषयको शिक्षण हुनु, एसइई र अन्य परीक्षाहरूमा पनि नतिजा राम्रो आएका कारण पनि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक पोखरेलको भनाइ छ।
विद्यालयमा कक्षा पाँचसम्म एक-एक वटा कक्षाहरू मात्रै रहेको र ती प्रत्येकमा ५०-५५ जना विद्यार्थीहरू बस्दै आएको छन्। कक्षा छ र सातमा दुई-दुई वटा ‘सेक्सन’ हरू रहेको नारायण मा.वि.मा कक्षा आठ, नौ र दसमा तीन-तीन वटा ‘सेक्सन’हरू रहेका छन्। ती प्रत्येक सेक्सनमा ४० देखि ५५-६० जनासम्म विद्यार्थीहरू रहेका छन्। कक्षा आठ, नौ र दसमा तीनमध्ये दुई वटा ‘सेक्सन’ मा अंग्रेजी माध्यमको र एउटा ‘सेक्सन’ मा नेपाली माध्यममा पठनपाठन हुँदै आएको छ।
कुश्मा नगरपालिकाभित्रका विद्यालयहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालय समेत रहेको नारायण मा.वि. धेरै अभिभावक र विद्यार्थीको रोजाइमा परेकोले हरेक वर्ष भर्ना हुनेहरूको संख्या वर्षेनी बढ्दै गइरहेको कुश्मा नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले बताए। नगरपालिकाले मिलान गर्नुपर्ने अवस्थामा रहेका दरबन्दीहरूलाई क्रमिक रूपमा मिलाउँदै लगेको र उक्त विद्यालयमा विद्यार्थीको चापकै कारण नयाँ शैक्षिक सत्रमा तीन जना प्राथमिक तहका शिक्षकहरूलाई दरबन्दी मिलानमार्फत पठाइएको उनको भनाइ छ।
‘हामीले कक्षा ४ देखि ११ सम्मका परीक्षाहरू नगरपालिकाले नै सञ्चालन गर्ने भनेर काम गरिरहेका छौँ। नगर स्तरीय परीक्षा सञ्चालन गर्न नारायण मा.वि.मा विद्यार्थी नै अटाउन कठिन भयो। परीक्षाका लागि खट्ने जनशक्तिको समेत अभाव भयो’, तिवारी भन्छन्, ‘गुणस्तर कायम गर्न सक्ने विद्यालयले कसैलाई प्रतिस्पर्धी सोच्नै पर्दैन। विद्यालयले विद्यार्थी खोज्दै हिँड्नु पर्दैन, विद्यार्थी र अभिभावक आफै विद्यालयमा भर्ना पाउनको लागि लाइन लाग्नुहुन्छ।’
नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने क्रम चलिरहेको बताउँदै विद्यालयका प्रधानाध्यापक पोखरेलले विद्यार्थीको चाप धेरै भएर राख्ने ठाउँ नै नभएको अवस्थामा कतिपय अभिभावकहरूले विद्यालयमा भर्ना हुन नपाएको गुनासो समेत गर्ने गरेको बताए।