मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महाशिलाको बजेट : दलित परिवारका पशुको बीमा, दीर्घ रोगीका घरमै चिकित्सक

असार १३, २०८०

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको बजेट वक्तव्य प्रस्तुत भएको छ।

जसमा चालु खर्चमा राजश्व बाँडफाँड र आन्तरिक आयबाट कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च  ४ करोड ४६ लाख १० हजार, पुँजीगत कार्यक्रम र क्षेत्रगत विकास खर्च तर्फ १८ करोड ३० लाख ३३ हजार, सशर्ततर्फ संघीय सरकारको तोकिएको कार्यक्रममा १७ करोड ८० लाख, प्रदेश सरकारको सशर्त अनुदानमा ५० लाख, प्रदेश सरकार समपूरक बजेटमा ५० लाख र जिल्ला समन्वय समिति पर्वतको १२ लाख रुपैयाँ रहेको छ।

गाउँपालिकाले विगतका वर्षहरूमा सञ्चालन गर्दै आएका धेरै कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। ‘महाशिलाको सरोकारः एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारी रूपमा सञ्चालन २ करोड २६ लाख ३८ हजार ७ सय रुपैयाँ विनियोजन भएको छ।

विदेशमा रहेका र सहरमा रहेका युवाहरूलाई गाउँ फर्की उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँमा उद्यम घरमै रोजगारीः घर फर्क प्यारा प्यारी’ कार्यक्रम अन्तर्गत व्याज अनुदानको लागि आवश्यक रकम विनियोजन गरेको गाउँपालिकाले बताएको छ। ‘घर फर्क प्यारा प्यारी अभियान र बसाई फर्क अभियान’ अन्तर्गत बैङ्क व्याज र खाद्यान्न अनुदान साझेदारीका लागि ५ लाख रुपैयाँ छुट्टाइएको छ।

पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन गर्न, पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न र लिमे पारकोटे पाडा पाडी संरक्षण होस भनेर प्रत्येक सुत्केरी भैँसीका लागि ५ सय रुपैयाँका दरमा ‘भैँसी सुत्केरी कार्यक्रम’ सञ्चालन गर्नको लागि पनि बजेट विनियोजन भएको छ।

यस्तै दलित परिवारको आर्थिक अवस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि ८ लाख रुपैयाँ विनियोजन भएको छ।

गाउँपालिकाका सबै विद्यालयमा अङ्ग्रेजी पाठ्यपुस्तक अनुदान, विद्यालय सुशासन प्रवर्द्धन अभिभावक शिक्षा, होमवर्क डायरी, पढ्दै कमाउँदै अभियान, प्रधानाध्यापकलाई प्रोत्साहन, अध्यक्ष असहाय बालबालिका छात्रवृत्ति कल्याणकारी कोष, आवासीय विद्यालय सञ्चालनका लागि पनि बजेट दिइने भनिएको छ। यस्तै प्राविधिक धारमा स्नातक तह अध्ययनका लागि गाउँपालिकाका ४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक १ लाख रुपैयाँ सहायता दिने  कार्यक्रम पनि गाउँपालिकाले घोषणा गरेको छ।

गर्भवती तथा सुत्केरीलाई अस्पतालसम्म आउजाउ गर्नको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने,  गाउँपालिकालाई ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारको लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउ सहित घरमा भेट्न जाने उद्देश्यले ‘अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रम’ सञ्चालन गर्ने भनिएको छ।

गाउँपालिकाले सुत्केरी अवस्थामा रहेका तथा किरियामा रहेकाहरूलाई लक्षित गरेर ‘कुना देखि कोरा सम्म’ कार्यक्रमका लागि पनि आवश्यक रकम विनियोजन गरेको बताएको छ।

बजेट वक्तव्यमा हरेक दुई महिनामा दीर्घ रोगी र वृद्धहरूलाई घर–घरमै गएर निःशुल्क उपचार गर्ने तथा सुगर र  प्रेसरको निःशुल्क परीक्षणको लागि आवश्यक बजेट विनियोजन गरेको पनि गाउँपालिकाले बताएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive