बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

जलाधार व्यवस्थापन कार्यालयमार्फत डाले घाँसका ८० हजार बढी बिरुवा रोपिँदै

पर्वत : डाले घाँसका बिरुवा हुर्काएर पशु पालक कृषकहरूलाई व्यावसायिक बनाउन तथा बिरुवाका माध्यमबाट भूसंरक्षण गर्न पर्वत, म्याग्दी, स्याङ्जा र बागलुङमा ८० हजार भन्दा बढी बिरुवाहरू रोप्न थालिएको छ।

गण्डकी प्रदेश अन्तर्गत प्रदेशका पाँच जिल्ला हेर्ने गरी पर्वतमा रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयले मातहतका जिल्लाका नर्सरीमा तयार पारेका ती बिरुवाहरू वितरणको काम बुधवारदेखि सुरु भएको छ। कार्यालय प्रमुख वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलका अनुसार राय खन्यू, निमारो, किम्बु, नेपियर, बडहर, टाँकी, अमला लगायतका बिरुवाहरू कृषकहरूलाई उपलब्ध गराइँदै छ।

पर्वतमा ३० हजार, म्याग्दीमा २० हजार, स्याङ्जामा २० हजार र बागलुङमा १० हजार बिरुवा वितरण गर्न लागिएको हो। पर्वतमा वितरण गर्न लागिएकामध्ये १५ हजार राय खन्यूका, १० हजार निमारोका र पाँच हजार किम्बुका बिरुवा रहेका छन्। बागलुङको नर्सरीमा तयार पारिएका बिरुवाहरू बागलुङ नगरपालिकाको सहकार्यमा तयार पारिएको र नगरपालिकाले दुई वर्षदेखि सहकार्य गर्दै आइरहेको कार्यालय प्रमुख पौडेलले बताए।

‘डाले घाँस वितरण गरेपछि कृषकले पाल्नुभएका पशुलाई आहाराको काम त हुने नै भयो, त्यो बाहेक पहिरो नियन्त्रणका लागि पनि यो एउटा विकल्प हो। खाली रहेको जग्गामा यस्ता घाँसहरू लगाउँदा बिरुवाको जरोले माटो समात्दा पहिरो जान पाउँदैन’, उनले भने, ‘हामीले फलफूलका बिरुवाका बारेमा कुरा गर्दा कृषकहरूले नै पशुपालनमा दुःख हुने भएकाले डाले घाँसका बिरुवाको माग गर्नुभयो।’ साढे दश लाख रुपैयाँको लगानीमा बिरुवा तयार पारेर कृषकहरूलाई बिरुवा लैजान आह्वान गरिएको पौडेलले बताए।

कृषकहरूलाई बिरुवा वितरण गर्ने अभियानको सुरुवात गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले कृषकलाई व्यावसायिक बनाउन, माटोको संरक्षण गर्न र वातावरणलाई स्वस्थ राख्न यो कार्यक्रम उपयोगी रहेको बताए।

बिरुवा लिन आएका कृषकहरूलाई बिरुवा वितरण गर्दै उनले बिरुवालाई माया मानेर हुर्काउने र जोगाउने गर्न सकेमा व्यक्तिले आर्थिक आम्दानी र लामो आयु प्राप्त गर्ने उनको भनाई थियो। पछिल्लो समयमा बाँदर आतङ्कको कारण देखाउँदै घर आसपासमा रहेका बिरुवाहरू फडानी गर्दा वातावरणमा असर बढेको भन्दै उनले बिरुवा जोगिए मात्रै मानवीय जीवनको रक्षा हुने बताए।

‘खाली रहेका भिराला जमिनमा अम्रिसो लगाएर आम्दानी गर्न सकिन्छ, उता जमिन पनि बलियो। बाँझो रहेका गरामा कागती लगाए बाँदरले पनि नखाने यता आर्थिक आम्दानी। बिरुवा महत्त्व बुझ्न सके यिनै बिरुवाले हामीलाई गास, बास र कपास दिएका छन्’, उनले भने, ‘विशेषतः यी डाले घाँसहरूले कृषकसँग बढी महत्त्व राख्छन्। घाँस र परालको अभावमा किन्नका लागि कता कता भौँतारिएको देखिन्छ। यसरी निःशुल्क रूपमा पाएका बिरुवा लगेर लगाए हिउँदमा पनि चौपायाले हरियो खान पाउँछन्।’

पशु पालक कृषकहरूले फलफूलका बिरुवा भन्दा पशुलाई खुवाउन मिल्ने बिरुवाको माग बढी गर्ने भएकाले डाले घाँसका बिरुवाहरू तयार पारिएको हो। यस वर्ष सबैभन्दा बढी मिहिनेत राय खन्यूका बिरुवा तयार पार्न गरिएको थियो। नर्सरीमा तेस्रो पटक रोपिएको बीउबाट बिरुवा उम्रिएको भन्दै उनले पर्वतको नर्सरीमा आवश्यक उपयुक्त माटो नभएका कारण पनि समस्या भएको बताए। नर्सरीमा बिरुवा उमार्नको लागि जंगलको कुहिएको माटो आवश्यक पर्नेमा कार्यालय आसपासको क्षेत्रमा त्यस्तो माटो नपाउँदा बागलुङबाट माटो ल्याएर बिरुवा तयार पारिएको हो।

जिल्लामा रहेका डिभिजन वन कार्यालयहरूले पनि हरेक वर्ष फलफूल तथा डाले घाँसका बिरुवाहरू वितरण गर्दै आइरहेका छन्। वन कार्यालयले फलफूलका बिरुवा पनि बाँड्ने गरेकोले भू तथा जलाधार व्यवस्थापन कार्यालयले एउटै विधा  नजुध्ने गरी डाले घाँसका बिरुवामा जोड दिँदै आइरहेको छ। कार्यालयले अघिल्लो वर्ष पनि ८० हजार भन्दा बढी बिरुवाहरू वितरण गरेको थियो। तर आगामी वर्ष भने यो सङ्ख्यामा केही कमी आउन सक्ने कार्यालय प्रमुख पौडेलले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive