मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

गोरखाको आँपपिपलमा महिलाको पाठेघर र स्तन क्यान्सरको ‘स्क्रिनिङ’

पर्वत : गोरखाको आँपपिपल पालुङटार नगरपालिका–३ मा पर्छ । ग्रामीण क्षेत्रको रहेको आँपपिपलमा रहेको आँपपिपल हस्पिटल र गोरखा अस्पताल जिल्लाका दुई ठुला स्वास्थ्य संस्था हुन् । आँपपिपल हस्पिटलमा गोरखा सहित तनहुँ र लमजुङका बिरामीहरू समेत स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।
ग्रामीण क्षेत्रमा रहेर सेवा प्रदान गर्दै आइरहेको सोही अस्पतालमा पाटन अस्पताल काठमाण्डौँबाट गएको महिलाहरूको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी विशेषज्ञ चिकित्सहरुले ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरेका छन् । सामान्य बिरामी भएको अवस्थामा स्वास्थ्य परीक्षणका लागि जाने भए पनि भित्रभित्रै क्यान्सरको सङ्क्रमणको भइरहेको हुन सक्ने जोखिमका विषयमा धेरै ध्यान पुगेको हुँदैन । त्यसैले पनि ग्रामीण क्षेत्रमा लगेर कार्यक्रम राखेर क्यान्सरको बारेमा चेतना फैलाउने उद्देश्यले ‘क्याम्प’ सञ्चालन गरिएको पाटन अस्पतालमा कार्यरत महिलाको पाठेघर तथा स्तन क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले बताए ।
‘महिलाको पाठेघर र स्तनमा हुने क्यान्सरको बारेमा सचेतना फैलाउनु आवश्यक छ । नेपालमा क्यान्सरका कारण दैनिक करिब ४०÷५० जनाको मृत्यु हुने गरेको र त्यसमा पनि पाठेघरको मुखमा हुने क्यान्सरले दैनिक करिब छ जनाको मृत्यु हुने गरेको छ’, उनले भने, ‘कम्तीमा पनि स्क्रिनिङ गर्न सकियो भने जोखिममा रहेका वा सुरुवाती चरणमा रहेकाहरूको उचित उपचार हुन्छ । क्यान्सरको परिपक्व अवस्था भन्दा सुरुवाती अवस्थामा नै पत्ता लाग्यो निदान सहज हुन्छ । सचेतनाकै लागि भनेर हामीले यो क्याम्प चलाएका हौँ ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, इनोभेटीभ फाउन्डेसन फर हेल्थ एन्ड रिसर्च र एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) को सहयोगमा ‘क्याम्प’ चलाइएको हो । परीक्षणका लागि आएकामध्ये एक सय जनाको पाठेघरको पानीको जाँच (प्याप स्मेयर टेस्ट) र बाँकी रहेकाहरूको भिजुअल इन्सपेक्सन विथ एसिटीक एसिड (भि.आइ.ए) विधिबाट परीक्षण गरिएको थियो । पहिलो चरणको परीक्षणको क्रममा १० जनामा क्यान्सरको सम्भावना देखिएको बताउँदै डा. शाहीले ‘स्क्रिनिङ’ गरिएका सबै ‘रिपोर्ट’ हरुको नतिजा आइपुग्न भने दुई हप्ता लाग्ने बताए ।
परीक्षणका लागि पाटन अस्पतालबाट डा. शाही सहित महिला तथा प्रसूति रोग विशेषज्ञ डा.अल्का यादव सहित १० जना चिकित्सकहरुकको टोलीले परीक्षण गरेको थियो । आँपपिपल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्नी कुमार साह, सञ्चालक समिति सदस्य तथा स्वास्थ्य मन्त्रालयका नीति निर्माण समितिका पूर्व प्रमुख बिशेषज्ञ डा. गुणराज लोहनी लगायतले पनि शिविर व्यवस्थापन सहकार्य गरेका थिए । शिविरमा पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, वडा नं. ३ का अध्यक्ष रबिन्द्र अधिकारी लगायतले पनि उपस्थित भएर शिविर सफल पार्न भूमिका निर्वाह गरेका थिए।


गाउँमै आएर त्यो पनि निःशुल्क रूपमा क्यान्सरको परीक्षण गरिदिँदा आफूहरूलाई खुसी मिलेको स्वास्थ्य परीक्षणको लागि आएकी आँपपिपल भन्ज्याङकी ५० बर्सिया दिलमाया थापा बताउँछिन् । रोग नलागेसम्म परीक्षणको लागि अस्पताल नजाने प्रचलनले अकालमै मृत्यु हुन सक्ने रहेछ भनेर आफूले शिविरमा थाहा पाएको उनको भनाई छ । पालुङटार–४ की शकुन्तला बि.क.ले आर्थिक समस्यामा रहेको समुदायमा यस्ता रोग लागेमा उपचार गर्न नै नसक्ने अवस्था रहँदै आएको बताइन् । दैनिकी नै ज्याला मजदुरीको भरमा कटाउँदै आएको परिवारका महिला सदस्यले क्यान्सरको परीक्षण गरेर त्यसको उपचार खर्च धान्न नसक्दा अल्पायुमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
‘ज्वरो आएको बेलामा अस्पतालमा बसेर राम्रोसँग उपचार पनि गराउन नसक्ने परिवारमा क्यान्सरको परीक्षण र उपचार कसरी गराउनु ? गाउँमा शिविर आएको बेलामा यसरी मौकाले जँचाउन पाइयो, यो पनि खुसीको कुरा हो’, बि.क.भन्छिन्, ‘अरू जस्तो बाहिर देखिएर नआउने रहेछ । भित्रभित्रै लाग्ने रहेछ । क्यान्सर हुन नदिन के के गर्ने ? भन्ने कुरामा सरहरूले सिकाउनुभएको छ । अब सकेसम्म त्यहीँ गर्ने छौँ ।’
पाटन अस्पतालका महिलाको पाठेघर तथा स्तन क्यान्सर विशेषज्ञ डा. शाही एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन (एन.आर.एन.ए) का क्यान्सर नियन्त्रण सम्बन्धी दूत समेत हुन । हालै मात्र अमेरिकामा भएको क्यान्सर सम्बन्धी कार्यक्रममा सहभागी भएर आएका उनले केही दिन अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत भेटेर प्रदेश सरकारले महिलाको पाठेघर र स्तन क्यान्सरको उपचारमा सघाउन तथा त्यस सम्बन्धी विशेष कार्यक्रमहरू ल्याउन अनुरोध गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एच.पी.भी खोप) निःशुल्क रूपमा उपलब्ध गराउने लागिएको बताएका थिए । प्रदेश सरकारले आर्थिक अवस्था कमजोर रहेका तथा निमोनियाबाट ग्रस्त बालबालिका र वृद्धलाई राहत पुग्ने तथा पाठेघरको मुखको क्यान्सरको उपचारमा सहयोग गर्न पाँच करोड रुपैयाँ विनियोजन गरेको उनको भनाई थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive