पर्वत : भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा पर्वतमा सम्पन्न भएका बिभिन्न पाँच ओटा योजनाहरुको अनुगमन गरिएको छ । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९÷०८० का लागि स्वीकृत भई कार्यालयमा प्राप्त भएका योजनाहरुको अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बि.क, उपप्रमुख सोम जि.सी., प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, जिल्ला समन्वय अधिकारी नेत्रप्रसाद पौडेल, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल तथा कर्मचारीहरु, कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरी, पत्रकार लगायतको टोलीले अनुगमन तथा अवलोकन गरेको हो ।
टोलीले कुश्मा नगरपालिका–४ मा रहेको डम्डारे खोलाको बाढी तथा गल्छी नियन्त्रणका लागि गरिएको कामको अवलोकन गरेको छ । कार्यालय र उपभोक्ताको तर्फबाट २२ लाख १० हजार रुपैयाँको लगानीमा ३४ ओटा जाली भरेर खोलाको बेग नियन्त्रण गरेर भूक्षय हुनबाट रोकिएको छ । गुप्तेश्वर गुफा नजिकै बाटोनेरको पहिरो नियन्त्रण गर्न चार तहमा मेसिनरी पर्खाल बनाइएको छ । यो योजनाले धार्मिक महत्वको प्रसिद्ध गुप्तेश्वर गुफा नजिकको जमिनमा भूक्षय हुनबाट जोगाउने प्रयास गरेको छ । चेकड्याम निर्माण गर्नु तथा बाँस, अम्रिसो, नेपियर, भुजेत्रो जातका करिब सात हजार विरुवा रोपेर हरियाली बढाउने काम सम्पन्न भएको कार्यालय प्रमुख पौडेलले बताए ।
अनुगमनमा पुगेको टोलीलाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराउँदै गुप्तेश्वर गुफा संरक्षण समितका अध्यक्ष तुलसी शर्मा पौडेल र डम्डारे खोला पहिरो नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष ईश्वरी प्रसाद आचार्यले गुफा जाने सडकको रेलिङ समेत भत्केको अवस्थामा कार्यालयको तर्फबाट भएको मर्मत र भूक्षय रोक्नका लागि गरिएको कामले महत्वपूर्ण सहयोग मिलेको बताए । मेसिनरी पर्खालले गुप्तेश्वर गुफातर्फको भवनको कटान नियन्त्रण भएको उनको भनाइ छ । गुफा छेउमा रहेका दुई ओटा पुल, मन्दिर क्षेत्रको भवन र शौचालयमा भएको क्षतिमा पनि मर्मत गरिएको छ । संरक्षणका लागि वडाले गरेको पहलप्रति धन्यवाद दिँदै उनीहरुले आगामी दिनमा पनि संरक्षणका लागि धेरै कामहरु गर्नुपर्ने बताए । गुप्तेश्वर गुफाको नाममा आउने बजेटले गुप्तेश्वर गुफा, मन्दिर र सुरुङको संरक्षण गर्नुपर्ने पहिलो आवश्यकता रहेको उनीहरुको भनाई छ ।
कुश्मा नगरपालिका–४ मा नै रहेको कल्बर्टदेखि वरपिपलसम्म गुएखोला संरक्षण तथा नियन्त्रण तथा भल तर्काउने निकास कुलोमा १९ मिटर लामो मेसिनरी पर्खाल र करिब ४९ मिटर लामो पलम वाल निर्माण गरिएको छ । उक्त स्थानमा ग्यावियन जाली भरेर भूसंरक्षण गरिएको छ । उक्त स्थानको भल नियन्त्रणमा आउँदा त्यो भन्दा तल रहेको बस्तीमा हुने सक्ने क्षतीलाई न्यूनिकरण गरेको पाइएको छ । उक्त स्थानमा १५ लाख ६५ हजार भन्दा बढी लगानी भएको छ ।
यस्तै कुश्मा नगरपालिका–७ गोदाम बस्ती पहिरो नियन्त्रण गर्न १६ लाख रुपैयाँको लगानीमा ढुङ्गाको पर्खाल निर्माण, पलम वाल निर्माण र ग्याबीन जाली भर्ने काम भएको छ । सोही ठाउँमा बाँस, अम्रिसो, नेपियर लगायत गरी करिब १२ सय बढी बिरुवाहरु रोपिएको छ । उक्त स्थानमा पूर्वाधार विकास कार्यालय पर्वतले पनि ७० हजार रुपैयाँका पोस्ट निर्माण गरेर सडकलाई सुरक्षित बनाएको छ । उक्त कामले घर, वस्ती सुरक्षित हुनुका साथै दुर्लुङ जाने मोटरबाटोको संरक्षण भई आवतजावतमा सहज भएको कार्यालय प्रमुख पौडेलले बताए । बिभिन्न ठाउँमा सञ्चालित योजनाहरुलाई बायो ईञ्जिनियरिङका माध्यमबाट हरियाली बनाउने अभियानमा आफूहरु रहेको पनि उनको भनाई छ ।
फलेवास नगरपालिकाको वडा नं. ५ र ७ स्थित लमाए खोलामा गरिएको तटबन्धन कार्यक्रमको पनि टोलीले अनुगमन गरेको छ । लमाए खोलामा हुन सक्ने पर्यटन प्रबद्र्धन र कृषि क्षेत्रमा जोड्नका लागि गरिएको प्रयास स्वरुप १८ लाख ६९ हजारको लगानीमा खोलाको दुवै किनारमा तटबन्ध गरिएको छ । दुई सय २५ ओटा ग्याबीन जाली भरेर खोलालाई एकत्रित गरेर भूक्षय हुनबाट रोकिएको छ ।
अनुगमन टोलीले कुश्मा नगरपालिका–९ कटुवाचौपारी फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी स्थित मल्याङ्गदी खोलामा वगुवा खेत तटबन्ध निर्माणको पनि अवलोकन गरेको छ । १७ लाख ७९ हजारको लागतमा एक सय ३५ ओटा जालीमा ढुङ्गा भरेर मल्याङ्गदी खोलाको कटानलाई रोकेर खेत र नजिकै रहेको मन्दिरको संरक्षण गरिएको छ । मल्याङ्गदी खोला वगुवा खेत तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले भूसंरक्षका लागि कार्यालयले गरेको सहयोगप्रति आभार व्यक्त गरे । तटबन्ध निर्माण कार्यमा आफूहरु पनि खटेर काम गरिरहेका भन्दै उनले खेतीयोग्य जमिन र धार्मिक संरचनाको संरक्षणका लागि आफूहरुले गुणस्तरीय काम गरेको बताए ।
योजनाहरुको अवलोकन गर्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक बिष्णुराम बि.क.ले भू तथा जलाधार व्यवस्थापन कार्यालयद्धारा सम्पन्न भएका तथा आगामी आर्थिक वर्षमा पनि सञ्चालन हुने योजनाहरु तोकिए अनुसार नै भएकोले भूसंरक्षणमा सहयोग पुग्ने बताए । निर्धारित मापदण्ड अनुसार काम गर्न सके त्यसको दिगोपन कायम रहँदा राज्यले हरेक वर्ष एकै ठाउँमा लगानी खन्याउनुपर्ने अवस्था नआउने उनको भनाई छ । कार्यालयले अवलोकन गरेर प्राथमिकीकरण गरेर योजना पठाएर काम गर्नुपर्ने भए पनि माथिबाट तोकिएर आएका कार्यक्रमहरुलाई कार्यान्वयन मात्रै गरेर बस्दा भने कहिलेकाहीँ समस्या हुने उनको भनाई थियो ।
अवलोकनमा सहभागी भएका प्रमुख जिल्ला अधिकारी आचार्यले कार्यालय र उपभोक्ता समितिको साझेदारीमा भएका कामहरुले भूसंरक्षणमा योगदान दिने बताए । भूसंरक्षणका लागि निर्माण सामग्रीहरुको प्रयोगको भर पर्नु मात्रै भन्दा पनि पुर्खाहरुले प्रयोग गर्दै आएका प्राकृतिक तरीकाहरु अवलम्बन गर्न उपभोक्ताहरुलाई सुझाए । खन्यू, बडहर, किम्बु, निमारो, टाँकी, अम्रिसो, बाँस लगायतका वृक्षहरु रोपेर भूक्षय रोक्नका लागि महत्वपूर्ण काम गर्न सकिने भएकाले बिरुवा हुर्काउनु र तिनीहरुको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई छ । बायो इञ्जिनियरिङले भूक्षय न्यूनीकरण सहित पहिरो र खोलाको कटान रोकथाम हुने प्रजिअ आचार्यले बताए ।
अवलोकनकर्ताहरुले भूक्षयको सवालमा धेरै ठाउँमा जोखिमहरु देखा परेको बताएका छन् । जलबायु परिवर्तनका कारण आएको वातावरणीय परिवर्तन तथा पूर्वाधार विकासका क्रममा गरिने मानवीय क्रियाकलापहरुले पनि बाढी, पहिरो, नदी कटान लगायतका समस्याहरु बढ्दै गइरहेको उनीहरुको भनाई थियो । भिरालो भूगोल, कमजोर माटो, बढी बर्षा, बेवास्ता गरी निर्माण भएका पूर्वाधार लगायतका कारण भूक्षय हुने गरेको छ ।