पर्वत : कृषि ज्ञान केन्द्र कार्यालय पर्वत र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई सम्पन्न गरेका छन ।
नेपाल पत्रकारर महासंघ जिल्ला शाखा पर्वतको सहजीकरणमा भएको कार्यक्रममा दुवै कार्यलयका प्रमुखहरुले एक वर्षको अवधिमा आफूहरुले गर्न सकेका काम, पूरा गर्न नसकेका काम र सुरुवात नै गर्न नसकिएको कामहरुको बारेमा जानकारी गराएका छन् ।
आफ्नो कार्यालयको प्रगतिको बारेमा जानकारी गराउँदै कृषि ज्ञान केन्द्रकी प्रमुख बरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले संघ सरकारबाट आएकोमध्ये ८३ दशमलव ९१ र प्रदेश सरकारबाट आएकोमध्ये ८७ दशमलव १६ प्रतिशत रकम खर्च भएको जानकारी दिईन् । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा शत प्रतिशत, कृषि विभागमामा ८५ दशमलव ७१ प्रतिशत, कृषि ज्ञान केन्द्रमा ९३ दशमलव ९८ प्रतिशत र कृषि विकास रणनीतिमा शत प्रतिशत प्रगति भएको छ । आलुको बीउमा आत्मनिर्भर बन्न सक्ने अवस्थामा रहेको पर्वत जिल्ला अन्य बाली, फलफूल र तरकारीको बीउ उत्पादनमा पनि सफल बन्दै गइरहेको उनले खुसी व्यक्त गरीन । जिल्लामा चामल आयातको अवस्थालाई हेदाए विगतको तुलनामा ५० प्रतिशतले कमी आएको बताउँदै उनले स्थानीय तहहरुले कुनै एक् बालीलाई प्राथमिकतामा राखेर त्यसको उत्पादनमा केन्द्रित हुनुपर्ने सुझाव दिईन ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले पर्वतमा पशुपालनमा गाईभैँसी पालन, बाख्रा पालन, कुखुरा पालन, बङ्गुर पालन र माछा पालन रहेको बताए । जिल्लावासीहरुका लागि आवश्यक पर्ने दूध र मासु जिल्लामा नै उत्पादन हुने गरेको तर माछाको बारेमा वास्तविक तथ्याङ्क सङ्कलनको काम भइरहेको उनको भनाई थियो ।
आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा २९ हजार २५ ओटा गाइ गोरु पालिएकोमा चालु आर्थिक वर्षमा यो सङ्ख्या नौ सय ९० ले घटेको तथ्याङ्क पेश गरिएको छ । तर जिल्लामा बाख्रा पालक कृषकहरुले व्यवसायलाई बढाएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष दुई हजार भन्दा धेरै बाख्रा पालिएको छ । सुंगुर र बङ्गुरको पालनमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन हजारले गिरावट आएको छ । बङ्गुरमा देखा परेका रोगहरुका कारण सङ्ख्या घटेको र कृषकहरुले जोखिम मोल्न नचाहेको कार्यालय प्रमुख पौडेलले बताए ।
कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले कृषि क्षेत्रमा आएको बजेट बढेको भए पनि आवश्यक प्राबिधिकहरुको दरबन्दी कायम नहुँदा समस्या भइरहेको बताएका छन् । व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा जोडिएका कृषकहरुले प्राबिधिक सहयोग खोजेको भए पनि केही समिति ब्यक्तिहरुले आर्थिक प्रलोभनमा परेर अनुदानमा मात्रै केन्द्रित हुँदा व्यवसायिक कृषकहरुका समस्यामा ओझेलमा परेको उनको भनाई छ । अनुदानका लागि मात्रै फर्म खोल्ने र अनुदान पाएको केही समयमा नै फर्म बन्द गरेका प्रमाणहरु देखिरहेको भन्दै महानिर्देशक रेग्मीले करोडौँको लगानीमा कृषि तथा पशुपालनमा लागिरहेका कृषकहरुलाई ध्यानमा राख्नुपर्ने बताए । अहिले तीनै तहका सरकारहरुले एक अर्कामा समन्वय गर्न नसकिरहेका कारण काहीँ कार्यक्रम खप्टीने त कहीँ कार्यक्रमहरु नै नजाने अवस्था आएको उनको भनाइ छ । संघ र प्रदेश सरकारका कामहरु एक आपसमा जुध्दा अनुदानमुखी कृषकहरुले अनुदानका लागि मात्रै काम गर्ने अवस्था आएको रेग्मीको भनाई छ ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारण गणेश पौडेलले जहाँ खानाको उत्पादन बढी हुन्छ त्यहीँ नै धन हुने बताए । उत्पादन गर्ने व्यक्ति कहिल्यै पनि भोको नरहने भन्दै उनले केही देशहरु आर्थिक रुपमा सम्पन्न हुनुको कारण् पनि कृषि नै भएको बताए । तथ्याङ्कमा हेर्दा पर्वत जिल्लाको २८ हजार हेक्टर जमिन उत्पादनयोग्य देखिएको भए पनि वडा वडामा जग्गा बाँझो रहेको देखिनुले अवस्था दुःखद रहेको उनको भनाई छ ।
कार्यक्रममा सहजीकरण गरेको संस्था पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेल, पर्यटन तथा उद्योग कार्यालय पर्वतकी प्रमुख मुना अधिकारी सहित कार्यक्रममा सहभागी कृषक तथा सरोकारवाला र पत्रकारहरुले पनि जिज्ञासा राखेका थिए । महानिर्देशक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार गणेश गिरीले गरेका थिए ।