पर्वत : आर्थिक वर्ष २०७९÷०८० मा पर्वत जिल्लामा नौ वटा चितुवा मरेका छन्।
डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार यी मध्येका सात वटालाई मृत अवस्थामा उद्धार गरिएको थियो। बाँकी दुई वटालाई जीवितै उद्धार गरिएको भए पनि उद्धार पश्चात् मरेका थिए। एक वर्षकै अवधिमा दुई वटा चितुवालाई जीवितै उद्धार गरेर बचाइएको छ।
२०७९ साउन १२ मा कुश्मा नगरपालिका–३ दुर्लुङमा एउटा, असोज ३ मा मोदी गाउँपालिका–भूकताङ्लेमा, माघ ६ गते पैयुँ गाउँपालिका–४ को टेल्टुङमा एक÷एक वटा चितुवा मृत भेटिएका थिए। यस्तै माघ ७ मा पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–४ मा, फागुन १० मा कुश्मा–४ कै डम्डारे खोलामा भेटिएका चितुवा पनि मरेका छन्। फागुन १९ मा फलेवास नगरपालिका–२ थापाठानामा पोथी चितुवा, चैत २९ मा कुश्मा नगरपालिका–९ कटुवाचौपारीको देउपुजामा पोथी चितुवा, २०८० वैशाख ४ मा कुश्मा नगरपालिका–८ चुवामा चितुवाको बच्चा र २०८० जेठ ३२ मा फलेवास नगरपालिका–२ थापाठानामा चितुवाको बच्चा मृत अवस्थामा फेला परेका थिए।
पैयुँ गाउँपालिकामा मृत अवस्थामा फेला परेको चितुवालाई सव डिभिजन वन कार्यालय त्रिवेणी हुवासको परिसरमा र अन्यलाई डिभिजन वन कार्यालय कुश्माको परिसरमा पुरेर व्यवस्थापन गरिएको अधिकृत अधिकारीले बताए।
यस्तै २०७९ चैतमा सदरमुकाम कुश्मा बजार स्थित भण्डारी टोलमा घरभित्रै पसेको चितुवालाई जीवितै उद्धार गरिएको थियो। पहिले बारीको टनेलभित्र पसेको चितुवा मान्छेको भीड देखेपछि भाग्नलाई बाटो खोज्दा नजिकै रहेको ओमबहादुर रेग्मीको घरको भान्छा कोठामा पसेको थियो। डिभिजन वन कार्यालय पर्वतमा चितुवा नियन्त्रण गर्न सक्ने विशेषज्ञ टोली र आवश्यक उपकरण नभएपछि कास्कीबाट आएको टोलीले चितुवा नियन्त्रणमा लिएर पोखरा लगेको थियो।
त्यसअघि २०७९ सालकै मङ्सिरमा पनि जलजला गाउँपालिकाको वारी बेनीमा जीवितै उद्धार गरिएको एक चितुवालाई रुपन्देहीमा लगेर व्यवस्थापन गरिएको थियो।
कहिले चितुवाको बच्चालाई काखमा समातेर त कहिले चितुवालाई डोर्याउँदै हिँडालेर व्यवस्थापन गरिँदा पर्वत जिल्ला चितुवाका कारण बेला बेलामा ‘भाइरल’ बन्ने गरेको छ। बन क्षेत्रको वृद्धि र चितुवाको लागि उपयुक्त वासस्थान र आहार मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको संख्यामा वृद्धि भएको हुन सक्ने अनुमान छ। गाउँघरमा रातीको समयमा चौपायामाथि चितुवाले गर्ने आक्रमणका घटनाहरू धेरै हुनुले पनि चितुवाको संख्या बढेको हुन सक्ने देखाउँछ। तर धेरै मृत चितुवा बच्चा नै भएकाले आहाराको समस्या भएको हुन सक्ने पनि अनुमान गरिएको अधिकृत अधिकारीले बताए।
‘यति संख्याका चितुवा मृत अवस्थामा भेटिनु भनेको कि त वातावरण नमिलेर आफै मरेको हुनुपर्छ कि त कसैले आक्रमण गरेर मारेको हुनुपर्छ। जति भेटिए तिनीहरूको शरीरमा चोट नभएकाले अरूको आक्रमणमा परेका हुन भन्ने जस्तो देखिएको छैन’, उनले भने, ‘अहिले खाद्य चक्रमा समस्या आइरहेको कारण तिनीहरूको मृत्यु भएको हुन सक्छ। कोही पानी खान जाँदा पोखरीमै डुबेर मरेको पनि भेटियो। बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकोले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन।’
मृत भेटिएका अधिकांश चितुवा बच्चा हुनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय वासस्थानमा नफर्कँदा बच्चाहरू भोकले मरेको हुन सक्ने अधिकारीको भनाइ छ। चितुवाका आहाराको लागि घाँसे मैदान आवश्यक हुने भए पनि पहाडी वनमा त्यति धेरै घाँसे मैदान छैन। घाँसे मैदानमा आउने हरिण, मृग लगायतका शाकाहारी जनावरको सिकार गरेर आहारा पाउने भए पनि त्यो नहुँदा पनि चितुवालाई खाद्य संकट परेको हुन सक्ने उनी बताउँछन्।
वन जङ्गलबाटै खनिएका सडक, सवारीका आवाज, जलवायु परिवर्तनका कारण उनीहरूको वासस्थानमा असर पर्दा पनि उनीहरूको वातावरण बिग्रिएर मृत्युको कारण बनेको हुन सक्ने पनि देखिएको छ।