मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

वन कार्यालय पर्वतले फर्सेबाट चितुवाको जिउँदै उद्धार गर्‍यो

साउन ४, २०८०

पर्वत : डिभिजन वन कार्यालय पर्वतले जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेबाट एउटा चितुवाको जिउँदै उद्धार गरेको छ।

बुधबार दिउँसो तरकारी खेती गरेको टनेलनजिकै मकै खेतमा कमजोरीका कारण अशक्त जस्तै देखिएको अन्दाजी एकवर्षे चितुवालाई उद्धार गरेर डिभिजन वन कार्यालयमा राखिएको छ।

डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार भोक लागेका कारण अशक्त अवस्थामा पुगेको जस्तो चितुवा देखेपछि स्थानीयले वन कार्यालयमा खबर गरेका थिए।

उद्धारकर्ताहरूले उद्धारको प्रयास गर्दा पनि चितुवा खासै आक्रामक नबनेकाले सहजै उद्धार गर्न सकिएको अधिकृत अधिकारीले बताए।

‘टनेलको छेउमा मकै खेतमा कमजोर अवस्थामा देखिएको थियो। शरीरमा कतै घाउ चोट लागेको देखिएको छैन। शरीरको रौँ र आँखा तथा शारीरिक चाललाई हेर्दा बिरामी भएको जस्तो पनि छैन’, उनले भने, ‘उद्धार गरेर कार्यालयमा राखेपछि आहाराको लागि दिइएको मासु खाएन। उसलाई डर लागेर पनि अहिले नखाएको होला भन्ने लागेको छ।’

चितुवाले आहारा लिन थालेर शारीरिक सक्रियता बढेर आफैंले आहारा खोज्न सक्ने भएपछि मात्रै जङ्गलमा लगेर छाडिनेछ।

पर्वतमा आव ०७९/८० मा ९ वटा मृत चितुवा फेला परेका थिए भने २ वटाको जिउँदै उद्धार गरिएको थियो। जिल्लामा चितुवाको सङ्ख्या बढेको हुन सक्ने तर तिनीहरूले उपयुक्त आहार नपाउँदा बस्तीमा छिर्नेदेखि मृत भेटिने गरेको अनुमान छ। चालु आव ०८०/८१ को सुरुवातमै फेरि चितुवा भेटिएको हो।

कहिले चितुवाको डमरुलाई काखमा समातेर त कहिले चितुवालाई डोर्‍याउँदै हिँडाएर व्यवस्थापन गरिँदा पर्वत जिल्ला चितुवाका कारण बेला बेलामा ‘भाइरल’ बन्ने गरेको छ। वन क्षेत्र विस्तार र चितुवाको लागि उपयुक्त वासस्थान र आहार मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्या बढेको भएको हुनसक्ने अनुमान छ।

गाउँघरमा राति चौपायामाथि चितुवाले गर्ने आक्रमणका घटना धेरै हुनुले पनि चितुवाको सङ्ख्या बढेको हुन सक्ने देखाउँछ तर मृत चितुवा छाउरा नै भएकाले आहाराको समस्या भएको हुन सक्ने पनि अनुमान गरिएको अधिकृत अधिकारीले बताए।

चितुवाका आहाराको लागि घाँसे मैदान आवश्यक हुने भए पनि पहाडी वनमा त्यति धेरै घाँसे मैदान छैनन्। घाँसे मैदानमा आउने हरिण, मृगलगायतका शाकाहारी जनावरको सिकार गरेर आहारा पाउने भएकाले त्यो नहुँदा पनि चितुवालाई आहाराको सङ्कट परेको हुन सक्ने अनुमान छ।

वन जङ्गलबाटै खनिएका सडक, सवारीका आवाज, जलवायु परिवर्तनका कारण उनीहरूको वासस्थानमा असर पर्दा पनि उनीहरू जङ्गलबाट बस्तीतर्फ निस्कन थालेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive