बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

महाशिला : सुत्केरी हुन अस्पताल जाँदा लागेको एम्बुलेन्स खर्च गाउँपालिकाले तिरिदिने

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नै सुत्केरीको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम राखिएको थियो। सोही कार्यक्रमलाई लागू गर्नको लागि गाउँकार्यपालिकाको बैठकले यस सम्बन्धमा गत असार २९ गते विभिन्न निर्णयहरू गरेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार महाशिलाका गर्भवती वा सुत्केरीहरू स्वास्थ्य परीक्षणका लागि प्रायः जाने गरेका स्थानलाई प्राथमिकतामा राखेर सोही अनुसारको भाडा दर कायम गरिएको छ। तर यो निःशुल्क एम्बुलेन्स सेवा भने सबै गर्भवतीको लागि नभइ सुत्केरी हुनेहरूको लागि  लागि हो।

‘ग्रामीण क्षेत्रमा रहेका गरिब, विपन्न तथा आर्थिक समस्यामा रहेकाहरूको जीवनमा सघाउने उद्देश्य हो। मानिस स्वस्थ नै हुन सकेन भने उसको जीवन कसरी राम्रो हुन सक्ला? यही कारण हामीले नागरिकसँग प्रत्यक्ष जोडिने काम गर्नुपर्छ भनेर यो निर्णय गरेका हौँ’, प्रमुख प्रशासकीय अधिकृत पराजुली भन्छन्, ‘महिलाको सुरक्षित मातृत्वको हकको रक्षा गर्नु हामी सबैको कर्तव्य पनि हो। अस्पतालमा आउजाउ गर्नको लागि पैसा खर्च हुन्छ। तर उनीहरूसँग पैसा नहुँदा घरमा नै सुत्केरी हुने सम्भावना रहन्छ। यसले सुत्केरीलाई जोखिममा पार्ने अवस्था रहन्छ।’

सुत्केरी हुँदा लाग्ने खर्चमध्येको एम्बुलेन्स खर्च मात्रै गाउँपालिकाले सहयोग गर्दा पनि आर्थिक समस्यामा रहेकाहरूलाई राहत हुने छ। महाशिला गाउँपालिकाले ‘शून्य होम डेलिभरी’ को अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ। अहिलेसम्मको अवस्थामा ‘शून्य होम डेलिभरी’ नै रहेको र यसलाई निरन्तरता दिनका लागि पनि यो निर्णय सहयोगी हुने पराजुली बताउँछन्। सुत्केरी हुनको लागि काठमाडौंसम्म जानै पर्ने भए पनि त्यो ढुक्कले जान सक्ने वातावरण बनेको उनको भनाइ छ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बराल क्षेत्रीका अनुसार महाशिला गाउँपालिकासँग दुई वटा एम्बुलेन्स छन्। गर्भवतीलाई अस्पताल पठाउनको लागि उपलब्ध भएसम्म तिनै एम्बुलेन्सलाई प्रयोग गरिन्छ। उपलब्ध नभएको अवस्थामा   गर्भवतीको परिवारले ट्याक्सी वा जिप आफैले व्यवस्थापन गरेर पछि स्थानीय तहबाट तोकिएको भाडा भुक्तानी पाउने छन्।

छ वटा वडाहरू रहेको महाशिलाका सबै वडामा ‘बर्थिङ सेन्टर’ सञ्चालनमा रहेकोले बाहिर जानुपर्ने अवस्था भने बिरलै मात्रै आउने गरेको बराल बताउँछन्। ‘विरलै केस बाहेक अहिलेसम्म वडाका बर्थिङ सेन्टरहरूमा नै बच्चाहरू जन्मिरहेका छन्। त्यहाँबाट रिफर भएको अवस्थामा मात्रै बाहिर पठाउने गरिएको छ,’ उनले भने, ‘यो अगाडि सबैको लागि नभए पनि आर्थिक रूपमा निकै समस्यामा रहेकाहरूलाई आकस्मिक कोषबाट सहयोग गर्ने गरिएको थियो।’ स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार महाशिलामा एक वर्षमा करिब ८४/८५ जना बच्चाहरू जन्मिने गरेका छन्।

कार्यपालिकाको बैठकले वडाभित्रका लागि दुई हजार, गाउँपालिकाभित्र तीन हजार, सदरमुकाम कुश्मा बजारका लागि पाँच हजार, स्याङ्जाको वालिङका लागि पाँच हजार, बागलुङका लागि पाँच हजार पाँच सय, पोखराका लागि नौ हजार, पाल्पाका लागि १२ हजार तथा बुटवल र चितवनका लागि समान १५/१५ हजार रुपैयाँ एम्बुलेन्स भाडाका लागि सुत्केरीलाई उपलब्ध गराउने छ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive