बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

११ औँ संस्करणको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पर्वतमा आयोजना हुने

माघ ८, २०८०

पर्वत : लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष पर्वतमा आयोजना गर्न लागिएको छ।

१० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको संस्करण पर्वतको जलजला गाउँपालिका–५ लेखफाँटको लोप्रेमा आयोजना गर्न लागिएको हो। यही माघ १९ र २० गतेका लागि आयोजना गरिएको उत्सव स्थानीय मालिका आधारभूत विद्यालयमा सञ्चालन हुने छ। प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाको आयोजनामा हुन लागेको उत्सवमा जलजला गाउँपालिका पनि आयोजकका रूपमा थपिएको छ।

उत्सवको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै आयोजकमध्येको एक संस्था प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरूको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको बताए। यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलाली जिल्लामा उत्सव आयोजना गरिएको जानकारी दिँदै उनले यस किसिमको उत्सव नेपाल सहित अमेरिका, इटाली र भारतमा पनि आयोजना हुने गरेको बताए।

उत्सव आयोजना गरिनु पूर्व नै जलजलाका विभिन्न विद्यालय र समुदायमा पुगेर लाटोकोसेरो र हुचिलको महत्त्व र अवस्थाको बारेमा जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर लाटोकोसेरोको संरक्षण गर्नुपर्ने विषयमा स्थानीयलाई जानकारी गराइसकिएको छ। उक्त अवधिमा लाटोकोसेरो तथा हुचिलको बारेमा कविता तथा निबन्ध प्रतियोगिता सम्भावित क्षेत्रको अवलोकन लगायतका कामहरू गरिसकिएका छन्।

अब उत्सवको औपचारिक कार्यक्रमको अवधिमा लोपोन्मुख स्थानीय खेलहरू ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एक खुट्टे प्रदर्शनी सहित भजन, पञ्चेबाजा, यानीमाया, पुर्ख्यौली नाच, सालैजो गाउने र बजाउने लगायतका कार्यक्रमहरू राखिएका छन्। वन विज्ञान अध्ययन संस्थान पोखराको पनि विशेष प्रस्तुति रहने कार्यक्रममा चरा तथा प्रकृतिको अवलोकनको साथै लाटोकोसेरो तथा हुचिलको अस्थायी म्यूजियको पनि निर्माण गरिने आयोजकले बताएको छ।

यस्तै, हुचिल संरक्षण सम्बन्धी प्रवचन, नेपालको सबैभन्दा ठुलो लाटोकोसेरोको मुकुट प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने र एक फिट अग्लो रोबोट प्रदर्शनी, लाटोकोसेरोको बारेमा फोटो प्रदर्शनी तथा जानकारी, स्थानीय सामग्रीहरूको प्रदर्शनी तथा बिक्री तथा प्रकृति संरक्षण पुरस्कार वितरण गर्ने काम पनि उत्सवकै अवसरमा हुनेछन्। २५ हजार नगद पुरस्कार रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार यस वर्ष काठमाडौं क्षेत्रपाटीका राजेन्द्र सुवाल, कैलालीको भजनीका हिरुलाल डंगौरा, सिन्धुपाल्चोकको बाह्रबिसेका कुमार पौडेल र बाँकेको कोहलपुरका यामबहादुर रावतलाई दिन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

कौलालीको चरा संरक्षण नेटवर्क तथा पर्वतका आर.के अदीप्त गिरी र समीर रेग्मीलाई प्रकृति संरक्षणमा गरिरहेको प्रयासको मूल्याङ्कन गर्दै स्थानीयको रोजाइमा सम्मान गर्न लागिएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive