पर्वत : जिल्लाको फलेवास नगरपालिकामा आधारभूत तहका बिद्यार्थीहरुको लागि अङ्ग्रेजी विधामा आधारित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
फलेवास नगरपालिकाको आयोजना, अङ्ग्रेजी विषय समिति फलेवास नगरपालिकाको व्यवस्थापन तथा नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) पर्वत शाखाको समन्वयमा फलेवास नगरपालिका स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो।
फलेवास नगरपालिका–५ खानी गाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा राखिएको प्रतियोगितामा कुल २१ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। जसबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा क्रमशः अन्नपूर्ण माध्यमिक विद्यालय कार्कीनेटा, भवानी विद्यापीठ माध्यमिक विद्यालय, जनजागृत आधारभूत विद्यालय थापाठाना र पर्वत ग्रीनपिस बोर्डिङ स्कुल आएका छन्। उनीहरूलाई पुरस्कार स्वरूप क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
अङ्ग्रेजी विषय समिति फलेवासका संयोजक राजु प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा तिवारी, शिक्षा अधिकृत कृष्ण प्रसाद आचार्य, सामाजिक विकास समितिका संयोजक नारायण लामिछाने, नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) गण्डकी प्रदेशका सदस्य सचिव देव शर्मा, नेपाल शिक्षक सङ्घ फलेवास नगरपालिकाका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, नेपाल शिक्षक सङ्गठन फलेवास नगरपालिकाका अध्यक्ष दीपक रेग्मी, एन्टो फलेवासका अध्यक्ष विजयराज पौडेल, प्याब्सन फलेवासका अध्यक्ष नेत्र बराल लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य जित बहादुर थापाले राखेका थिए भने अर्जुन रेग्मी, कृष्णप्रसाद आचार्य, लक्ष्मीनारायण शर्मा, धना न्यौपाने, लालप्रसाद शर्माले शुभकामना मन्त्ब्य व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सामुदायिक विद्यालयको अवस्थामा थप सुधार ल्याउनको लागि अभिभावकहरूले विद्यालयका गतिविधिमा नियाल्ने र आफू पनि सहभागी हुनुपर्ने उनको भनाई छ। उपप्रमुख शोभा क्षेत्रीले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जानुको कारण गुणस्तर नभएर भन्दा पनि सहरमा बसाइसराइ गर्ने क्रम र न्यून जनसङ्ख्या वृद्धिका कारण समेत भएको बताइन्।
अङ्ग्रेजी विषय समिति फलेवासका संयोजक राजु प्रसाद भुसालले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गुणस्तरको लागि विभिन्न प्रयास गरिरहेको बताउँदै शैक्षिक गुणस्तर कायम गर्नको लागि कुनै एक पक्षको प्रयासले मात्रै नहुने बताए। पारिवारिक अवस्था, सामाजिक क्रियाकलाप, विद्यालयको शैक्षिक वातावरण र देशको शिक्षा तिनीले पनि यसमा प्रभाव पार्ने भएकाले शिक्षालाई बलियो बनाउनको लागि बलियो शैक्षिक नीति चाहिने उनको भनाइ छ।